काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले मुलुकमा राजनीतिक परिवर्तन ल्याउन एक भएर लडेका दलहरुबीच पछिल्लो समय ससाना विषयले दूरी बढाउँदै लगेको बताएका छन् ।
रासससँगको अन्तर्वार्तामा उनले संविधान निर्माणसँगै दलहरूका बीचमा समीक्षा हुनुपर्ने भए पनि नभएको बताए ।
उनले भनेका छन्, ‘संविधान निर्माणअघि नै हामीले त्यो ‘बटमलाइन’ बनाउनुपर्थ्यो । हामी त्यहीदेखि नै चुक्दै आयौँ ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेको किराँतीले नेपाली राजनीतिमा पछिल्लो १८ वर्षमा तीन वटा घुम्तीमा चुकेको उल्लेख गरेका छन् ।
पहिलो, दलहरू मिलेरमात्रै निरङ्कुश राजतन्त्रलाई परास्त गरेका हामीले संविधान निर्माणपश्चात् गणतन्त्रलाई जवानी बनाइञ्जेलसम्मका लागि सहकार्यमै आर्थिक विकास गरौँ । आर्थिक विकासको एजेन्डा तथा शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो बटमलाइन यो हो भनेर १० देखि १५ वर्ष सहकार्य गर्छौं भनेर प्रतिबद्धता जनाउनुपर्थ्यो । हामी त्यतातर्फ नगएर सरकार ढाल्ने र बनाउनेतिर मात्रै गयौँ ।
दोस्रो, शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने दुई पक्ष माओवादी र कांग्रेस थियो । अरू नमिले पनि यी दुई पार्टीले देशको आर्थिक विकासको जग १० वर्षमा बनाउने गरी वाचा गर्नुपर्नेथ्यो । त्यहाँ पनि चुकियो ।
तेस्रो, देशका ठूला कम्युनिष्ट पार्टी माओवादी र एमाले एक भयौँ । एउटा गतिमा नपुग्दै फुट्यौँ । फुट्नु हाम्रो गल्ती भयो । यसबाट राजनीतिक अस्थिरता भयो । अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो । उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दैछन् । यतिमै राजवादीले स्थान लिनसक्ने अवस्था देखिँदैन, तर यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ ।

Leave a Reply