एमालेमाथि भइरहेको डरलाग्दो हमला ओलीजीले यताउता बोल्दिनाले भएको होइन: ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीविरुद्ध डरलाग्दो ढङ्गले हमला भइरहेको बताएका छन् ।

पार्टी निकट ओखलढुङ्गा लिखु-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिको कारणले भने एमालेविरुद्ध प्रहार नभएको दाबी गरे ।

उनले भने, ‘कोहीकोहीले ओलीजीले यताउता बोल्दिनुहुन्छ, त्यसैले विरोधी बढे भन्छन्, अनि हाम्रा कतिपय भलादमी साथीहरूलाई हो जस्तो लाग्छ । उहाँले त्यस्तो बोलेको कटाक्ष गरेको, बिम्ब लगाएर बोलेको कारणले होइन । म पूरा जिम्मेवारीका साथ भन्न सक्छु ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस र माओवादीले छिमेकीसँग राष्ट्रियताको पक्षमा एमालेले जस्तो दृढताको साथ अडान लिन नसक्ने दाबी गरे ।

उनले भने, ‘एमाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी हो, जुन शक्तिका मतियारहरूले नेपाललाई कमजोर बनाउन चाहन्छन्, तिनीहरूले एमालेमाथि हमला गर्दैछन् । छिमेकीसँग मुख चलाउन पनि हुँदैन, घुँडा टेक्न त हुँदै हुँदैन । आफ्नो राष्ट्रिय हितमा छिमेकीसँग आँखामा आँखा जुधाएर काम गर्नुपर्छ भनेर कुरा उठाउने शक्ति एमाले नै हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *