हेटौंडामा २० करोड बढीको लागतमा खानेपानी योजना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको सहलगानीको हेटौंडामा २० करोड रुपैयाँ भन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ ।

उपमहानगरपालिकाको ९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना अन्तर्गत ठूलो लगानीको काम हुने भएको हो । शुक्रबार हेटाै‌ंडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्षबीच त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ ।

हेटौंडा उपमहानगरपालिका खानेपानी बोर्डले तयार पारेको ८२ करोडको वातावरणीय प्रभाव मुल्याङकन अन्तर्गत रहेर संघीय सरकारले हेटौंडा उपमहानगरपालिका लक्षित गर्दै खोलेको ठेक्कामा अनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपैयाँमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ ।

उपमहानगरपालिका कार्यालयमा भएको सम्झौता पत्रमा नगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी योजना प्रमुख पुर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्ट र निर्माण पक्ष जयमाता सुप्रीम जेभीका कृष्णहरी चौलागाईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपमहानगरको ३० र संघीय योजनाको ७० प्रतिशत लगानी रहने छ ।

२० करोड ५६ लाखको लगानीमा हेटौंडा–९ को बेदखोल्सिमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरीने छ भने हेटौंडा–१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ । योजना अनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानिलाई ३ करोड रुपियाँ खर्चेर यहि योजनामा समाबेस गर्ने बताइएको छ ।

योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाँडै खानेपानीको व्यवस्थापन मिलाउने काममा लाग्न निर्माण पक्षलाई सुझाव दिइन् । योजना निर्माण हुने क्षेत्र मध्य दुई वटा वडा १४ र १५ पछि उपमहानगरापालिकामा समाबेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुविधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न निर्देशन दिइन् । उनले भनिन्– ‘तोकिएको समयमा कामलाई सम्पन्न गर्ने गरी लाग्न जरुरी छ ।’

सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, योजनाका इन्जिनियर प्रदिप यादब, लेखा अधिकृत कपिल अर्याल, प्रबिधिक अजित चौलागाई, बोर्डका लेखा प्रमुख सञ्जय न्यौंपाने लगाएको अन्य प्रतिनिधीको उपस्थिती थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *