नगर प्रहरी प्रमुख जोशी भन्छन्ः मेयरज्यूबाट सकारात्मक सन्देश आएको छ, म सबैको साझा हो

काठमाडौं । काठमाडौं महानगरको नगर प्रहरी बलमा ३२ वर्षदेखि कार्यरत एसपी (नगर प्रहरी उपरिक्षक) विष्णुप्रसाद जोशीले दोस्रोपटक संगठनको कमाण्ड पाएका छन् । यसअघि उनी २०७४ सालमा पनि नगर प्रहरी प्रमुख बनेका थिए ।

यसपाली उनी नगर प्रहरी प्रमुख बन्नुको सन्दर्भ र पृष्ठभूमि भने फरक छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बित गरेपश्चात जोशीलाई रोजेका हुन् । पहिल्यै एकचोटि कमाण्ड सम्हालिसकेका हुँदा उनको लागि यो नयाँ जिम्मेवारी होइन, तर चुनौतिहरु पहिले भन्दा फरक छन् ।

अहिले महानगरभित्रको एकता र आपसी समन्वय खल्बलिएको अवस्था छ । नगर प्रमुख बालेन्द्र साहको उपप्रमुख सुनीता डंगोल र प्रशासकीय अधिकृत गुरागाईंसँग राम्रो सम्वन्ध छैन । यस्तोमा नगर प्रहरी प्रमुखले तीनैजनालाई सन्तुलनमा राखेर कार्यसम्पादन गर्नुपर्ने पहिलो चुनौति हो । साथसाथै, नगरप्रहरी भन्नेवित्तिकै भुईंमान्छेहरुमाथि ज्यादति गर्ने खराब छवि बनिरहेको छ । यसलाई पनि चिर्नुपर्ने छ ।

नयाँ नगर प्रहरी प्रमुखसँग हामीले यिनै विषयको सेरोफेरोमा गरेको कुराकानीः

काठमाडाैं नगर प्रहरीमा अहिले तीन जना एसपी हुनुहुन्छ, अरु दुईजनालाई उछिन्दै तपाईं प्रमुख कसरी हुनुभयो ?

मैले वरिष्ठताको आधारमा मैले जिम्मेवारी पाएको हो । मैले यसअघि पनि एकपटक नगर प्रहरी प्रमुख भएर संगठन हाँकिसकेको छु । मेरो अनुभव र योग्यताकै आधारमा जिम्मेवारी दिइएको होला । म आफैंले कुनै लालसा राखेर पाएको होइन । सायद समयको आवश्यकताले मलाई ल्याएको हो ।

यसअघि राजु पाण्डेले तपाईंलाई कसरी ओभरटेक गर्नुभएको थियो त ?

त्यो मैले जान्ने कुरा भएन । नेतृत्वले चयन गर्ने कुरा हो । आफ्नै विषयमा के भन्नु र । पुनःमूल्यांकन भयो भन्ने बुझ्छु म ।

तपाईंले ३२ वर्षदेखि नगरप्रहरीमा रहेर काम गर्दा धेरैजना मेयरहरु हेरिसक्नुभयो । यसअघिका मेयर र अहिलेको मेयरबीच के फरकपना पाउनुभएको छ ?

हामीलाई हेर्ने दृष्टिकोण सबैको राम्रै छ । नगर प्रहरीलाई अलिकति स्तरोन्नति गर्नुपर्छ र स्रोत–साधनसम्पन्न बनाउनुपर्छ भन्ने सोच अघिल्लो कार्यकालमा पनि थियो । यो कार्यकालमा पनि छ । अन्य नीतिगत विषयहरु प्रवक्ता मार्फत सोध्नुपर्ला । हामीलाई चैं जहिले पनि प्रमुखबाट ‘मोटिभेसन’ भएको छ ।

अहिले नगर प्रहरी प्रमुख भइसकेपछि मेयर बालेनले तपाईंलाई बधाइ दिनुभयो कि भएन ?

उहाँको मलाई सकारात्मक सन्देश छ । अरु कुरातिर के जानु ।

सकारात्मक सन्देश भन्नाले कस्तो ?

राम्रोसँग काम गर्नुहोला भन्ने कुरा छ ।

तपाईंभन्दा अघिका नगरप्रमुख प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा आउन अवरोध गरेको आरोपमा कारवाहीमा पर्नुभएको छ । त्यस दिनको घटनामा तपाईंको सहभागिता थियो कि थिएन ?

सहभागिता भन्ने कुरा भन्दा पनि आ–आफ्नो ड्यूटी परिपालन गर्ने हो । त्यो नेतृत्वले बुझ्ने कुरा हो । नेतृत्वले के गर्नुभयो, उहाँको विषयमा मैले बोलिनँ ।

अहिले महानगरमा मेयर र प्रशासकीय अधिकृतबीच नै खटपट छ । अब तपाईंले मेयरको आदेश मान्ने कि प्रशासकीय अधिकृतको भन्ने जटिलता देखियो नि ?

त्यस्तो जटिलता छ भन्ने लाग्दैन । कानूनले जे भन्छ त्यही गर्ने हो । कानून बमोजिमका सबैको आदेश पालन गर्ने हो । प्रमुखज्यूको आफ्नो भूमिका छ । प्रशासकीयज्यूको आफ्नो भूमिका छ । त्यस्तो समस्या हुँदैन । कानून बमोजिम हुने कुरामा सबैको आदेशपालना गर्नेछु ।

कतिपय अवस्थामा मेयर र प्रशासकीय अधिकृतबाट फरक–फरक आदेश आयो भने त अप्ठेरो पर्ला नि ?

म अहिले त्यतातिर जान चाहन्न । मुख्य कुरा कानूनको परिपालन गर्न कटिवद्ध छु । उहाँ (मेयर) हाम्रो श्रद्धेय प्रमुख हो । उहाँलाई अनादर गर्ने कुरा आउँदैन । श्रद्धेय प्रमुखज्यूसँग मेरो व्यवस्था विभागमा काम गर्दादेखि नै राम्रै थियो । उहाँले मलाई राम्रै माया गर्नुहुन्थ्यो । अहिले पनि गर्नुहुन्छ । सबैले गर्नु हुन्छ । सबैको म साझा हो ।

अब तपाईंको नेतृत्वमा नगर प्रहरी कसरी अगाडि बढ्छ ? पहिलेभन्दा के फरक हुन्छ ?

अहिले चलिरहेका कुनै पनि विषयबाट हामी ब्याक हट्दैनौं। एकरति पनि ब्याक हुँदैनौं कुनै पनि इस्यूमा । सबै कुरा ‘स्मुथली’ जान्छ । समान ढंगले सबै कुराहरु जान्छन् । मेयर, उपमेयर सबैको भावना र निर्देशन बमोजिम अगाडि बढ्न म कटिवद्ध छु ।

नगरप्रहरी कतिपय स्थितिमा आलोचित पनि बन्ने गरेको छ । खासगरि फुटपाथका साना व्यवसायीहरु लखट्ने, टहरा भत्काउने आदि काममा नगरप्रहरीले मानवीयता नदेखाएको आरोप लाग्ने गर्छ । यसलाई कसरी लिनुहुन्छ ?

यो प्रत्यक्ष जनताको विभिन्न सेवाहरुसँग जोडिएको विषय भयो । हो, हामीले सम्पादन गर्ने कार्यहरु त्यति प्रिय मानिँदैनन् । तर हामीले शहरी सुव्यवस्थाका लागि गर्ने हो । कानूनको पालना गर्ने हो । यसमा कसैको कुनै व्यक्तिगत स्वार्थ हुने कुरा भएन । हामीले कानूनको पालना गर्ने सिलसिलामा कतिपय अवस्थामा कठोरता देखिन पनि सक्छ । बाटो र सार्वजनिक जग्गामा परेका घर–टहराहरु भत्काउनुपर्ने हुन्छ । यसलाई मानवीय संवेदनासँग जोडेर हेरिन्छ । तर त्यो वास्तवमा उचित होइन । अतिक्रमण गरेर बनाइएका संरचना हटाउनु नगरप्रहरीको जिम्मेवारी हो भन्ने कुराहरु बुझ्न खोजिँदैन । त्यो एउटा चुनौतिको विषय छ ।

अर्को चाहिँ फुटपाथमा व्यापार–व्यवसाय गर्नेहरुलाई पनि हामीले हटाउनै पर्छ । यसो गर्दा उनीहरुको भौतिक सम्पत्ति जफत गर्ने गरिन्छ । व्यक्तिको निजी सम्पत्ति लगे भन्ने मान्छेलाई लाग्छ । यो पनि कानूनको परिपालनसँग नै जोडिएको छ । त्यसरी हेर्नु ठीक होला ।

सानासाना व्यवसायीलाई नगरप्रहरीले ज्यादति गरेको, साइकलसमेत खोसेको भिडिओहरु सामाजिक सञ्जालमा आइरहन्छन् । यस्तो प्रवित्तिमा सुधार गर्न चाहनुहुन्न ?

यो कुरालाई हामी चिरफार गर्न खोज्दैछौं । जुन किसिमको परिचय दिन खोजिएको छ, त्यो वास्तवमा होइन । शहरी सुव्यवस्था कायम गर्ने सिलसिलामा कतिपय अप्रिय दृष्य देखिन्छन् । त्यसको कारणमा जानुपर्छ ।

साइकलको कुरा गनुृभो । पैदलयात्रु र सवारी साधनको आवागमन हुने ठाउँमा नै अतिक्रमण गरेर व्यापार गर्न थालेपछि हामीले कारवाही गर्नु पर्ने हुन्छ । कारवाहीको सिलसिलामा कसैले मैले गल्ति गरेँ, मेरो सामान लैजानुस भनेर स्वीकार्छ भने कसैले नदिएर तानातान गरेको अवस्था हुन्छ । आम नागरिकहरुबाट कतिपयले ‘अलिकति कडा रवैया देखाउनु आवश्यक छ’ भन्ने कुराहरु पनि आएका छन् । कतिपयबाट यसलाई आलोचना गरिएको पनि देखेको छु ।

जफत गरिएको सामान महानगरले के गर्छ ?

२०७४ सालमा एउटा निर्णय भएको थियो हाम्रो कार्यपालिका र नगरसभाबाट । जरीवाना धेरै वर्ष गरियो, तर त्यसले सडकपेटीमा आउने क्रम नघटेको भएर जफततिर जानुपर्छ भन्ने निर्णय भएको थियो । त्यसै अनुसार अहिले चाहिँ जफत गरेर ल्याउने र त्यसलाई लिलामी प्रक्रियामा लैजाने गरिएको छ ।

खानेकुराहरु फिर्ता दिन्छौं । त्योसित जोडिएका भौतिक सामान जफत हुन्छ । फलफुल फिर्ता हुन्छ, भने साइकल जफत हुन्छ । जफत गरिएका सामानहरु समय समयमा लिलामी गरिन्छ । लिलामीबाट आएको रकम सरकारी राजश्वमा जाने हो । लिलामी प्रक्रियामा नेपाल सरकारका विभिन्न निकाय हुन्छन्, हामी एक्लै हुँदैनौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *