नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका अपरिहार्य छ । लोकतन्त्र प्राप्तिका आन्दोलन र विद्यार्थी आन्दोलनहरू समकालिक मात्र नभइ एकअर्काका बलियो परिपूरकका रूपमा रहेका छन् । नेपालमा प्रजातन्त्रको बीजारोपण, सिञ्चन र संरक्षण संवर्द्धनमा विद्यार्थी आन्दोलन निर्णायक शक्तिका रूपमा देखिँदै आएको तथ्य इतिहासले बारम्बार पुष्टि गरेको छ ।
गंगालाल श्रेष्ठले १९९७ सालमा राणा शासनको विरोधमा पर्चा छरेकोदेखि, २००४ सालको ‘जयतु संस्कृतम्’ आन्दोलनले विद्यार्थी संगठनको संस्थागत जग बसाल्न निर्णायक भूमिका निर्वाह गरेको गौरवशाली इतिहास हामीसामु छ । त्यसैगरी, २०३६ सालमा तत्कालीन राजालाई पञ्चायतका विषयमा जनमत संग्रह गर्नका लागि बाध्य बनाउन विद्यार्थी आन्दोलन नै कारक तत्त्व बनेको थियो । वास्तवमा राजनीतिक आन्दोलनमा विद्यार्थीहरू केवल सहायक होइन, नेतृत्वदायी शक्तिका रूपमा उभिएका थिए ।
२०४६ को पहिलो जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनलाई सफल बनाउनका लागि विद्यार्थी संगठनहरूको अथक परिश्रम रहेको थियो । निरंकुश शासकलाई झुकाउनका लागि विद्यार्थी आन्दोलनको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन ।
दोस्रो जनआन्दोलनको बलमा भएको व्यवस्था परिवर्तनपछि २०७२ सालमा देशले नयाँ संविधान पायो । यससँगै देशको राजनीतिक गति र संरचनामा परिवर्तन आयो । त्यस परिवर्तनसँगै विद्यार्थी आन्दोलनले पनि नयाँ मोड लिने अपेक्षा गरिएको थियो । तर, लामो राजनीतिक संक्रमणको अवशेष बाँकी रहेका कारण उक्त अपेक्षा तत्काल पूरा हुन सकेन ।
आज नेपालको विद्यार्थी आन्दोलन एउटा त्यस्तो मोडमा उभिएको छ जहाँ विरासतहरूको सकारात्मक समीक्षा गर्दै नवीन सोच, दृष्टिकोण र एजेन्डासहित पुनर्जागरणको बाटो रोज्ने पक्षमा तमाम परिवर्तनगामी विद्यार्थीहरू गोलबद्ध हुनुपर्ने अवस्था छ । त्यस्तो पुनर्जागरणका लागि विद्यार्थी आन्दोलनको शैली र उद्देश्यमा व्यापक रूपान्तरणको प्रयास आवश्यक छ ।
वास्तविक प्रतिनिधित्वको सवाल
सन् २०२१ को जनगणनाअनुसार, नेपालको कुल जनसंख्यामध्ये ५६ प्रतिशत १ देखि २९ वर्ष उमेर समूहभित्र पर्ने देखिन्छ । त्यसकारण स्वाभाविक रूपमा युवाको प्रतिनिधित्व गर्ने नेतृत्व पनि त्यही उमेर समूहबाट हुनु वाञ्छनीय देखिन्छ । विद्यार्थी राजनीति र आन्दोलनको नेतृत्व कक्षाकोठासँग प्रत्यक्ष जोडिएको, पूर्णकालिक विद्यार्थीबाट हुनु समयसापेक्ष हुन्छ किनकि विद्यार्थी जीवनको अनुभव, आवश्यकता र चुनौतीहरूलाई सबैभन्दा नजिकबाट बुझ्ने उसले नै हो ।
मानव पूँजी निर्माणको कारखाना
हरेक क्षेत्रमा अब्बल मानव पूँजी निर्माण हुन नसक्नु नेपालको विद्यमान चुनौती हो । अन्य क्षेत्रमा जस्तै राजनीतिमा समेत अब्बल मानव पूँजीलाई स्थापित गर्नु जरुरी छ र त्यसको सजिलो माध्यम विद्यार्थी संगठन नै हो । त्यसकारण अब विद्यार्थी संगठनहरूले देशको सबैभन्दा पढेलेखेको, विचारशील र सम्भावनायुक्त वर्गलाई नेतृत्वका लागि तयार पार्ने भूमिकामा आफूलाई केन्द्रित गर्नुपर्छ ।
वास्तवमा विद्यार्थी आन्दोलनको भावी दिशा ‘एकेडेमिक लिडर बिल्डिङ’ मा केन्द्रित हुनुपर्छ । त्यसले मात्र विचार, नीतिगत दृष्टिकोण, संवाद कौशल र संगठन क्षमता भएको नेतृत्व उत्पादन गर्न सक्छ । आन्दोलन भनेको केवल विरोध होइन, यो त नेतृत्व उत्पादनको प्रयोगशाला पनि हो । विद्यार्थी संगठनहरूले नेतृत्व विकासमा ध्यान दिनुपर्छ । त्यसो गर्दा जिम्मेवार, दूरदर्शी र जनताप्रति उत्तरदायी नेतृत्व विकास गर्न सकिन्छ ।
शैक्षिक सुधारमा केन्द्रित विद्यार्थी शक्ति
नेपालमा शिक्षाको गुणस्तर अझै पनि धेरै चुनौतीपूर्ण अवस्थामा छ । विश्वविद्यालयहरूमा भ्रष्टाचार, अनियमितता र अव्यवस्था व्याप्त छ । त्यसकारण विद्यार्थी आन्दोलनले आफ्नो ध्यान शैक्षिक सुधारतर्फ केन्द्रित गर्नुपर्छ । विद्यार्थीका लागि सुलभ शुल्कको व्यवस्था, अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको गुणस्तरीय शिक्षाको प्रवर्द्धन, नियमित र बाधारहित पठनपाठनको सुनिश्चितता, अनुसन्धान एवं व्यावहारिक शिक्षापद्धतिमा जोड लगायतका विषयलाई विद्यार्थी संगठनहरूले जोडतोडका साथ उठाउन आवश्यक छ ।
२१ औं शताब्दी प्रविधिको युग हो । यस युगमा सान्दर्भिक रहिरनका लागि डिजिटल दक्षता, स्टार्टअप सुरु गर्न सक्ने क्षमता, अनुसन्धान, प्रविधि विकास आदिमा विद्यार्थीको संलग्नता अत्यन्त महत्वपूर्ण छ । विद्यार्थी संगठनहरूले विश्वविद्यालयहरूसँग ई–लाइब्रेरी, डिजिटल कक्षा, नवप्रवर्तन केन्द्र, प्राविधिक शिक्षा विस्तार जस्ता विषयमा माग राख्नुपर्छ । यसका लागि विद्यार्थीहरू आफू पनि प्रविधिको उपयोग गर्न र नवप्रवर्तन गर्नका लागि उद्यत हुनु जरुरी छ ।
विद्यालय शिक्षालाई व्यवहारिक बनाउँदै शत प्रतिशत साक्षरताको उद्देश्यका साथ ‘स्किल्स एण्ड इन्डस्ट्री ड्रिभन’ भोकेसनल शिक्षा र अनुसन्धानमा आधारित विश्वविद्यालय शिक्षा अहिलेको आवश्यकता हो । विश्वविद्यालयहरूबाट देशलाई काम लाग्ने शोध अनुसन्धानहरू गरी दरिला स्रोतसामग्री प्रकाशन गर्नका लागि विद्यार्थी संगठनहरूले आफ्नो ऊर्जा लगाउनुपर्छ ।
शान्तिपूर्ण र शिक्षाकेन्द्रित आन्दोलन
वर्तमान अवस्थामा विद्यार्थी आन्दोलनहरू हिंसात्मक र तोडफोडमा प्रवृत्त हुने गरेको देखिन्छ । क्याम्पस भवनहरू तोडफोड गर्ने, प्राध्यापकहरूलाई कुटपिट गर्ने जस्ता अराजक क्रियाकलापले जनमानसमा विद्यार्थी आन्दोलनको छवि धमिलो बनाएको छ ।
अबको विद्यार्थी आन्दोलन शान्तिपूर्ण, विवेकपूर्ण, पूर्णरूपमा शिक्षाकेन्द्रित र जनउत्तरदायी हुनुपर्छ । विद्यार्थी आन्दोलनको पुनर्जागरण भनेको आन्दोलनलाई जिम्मेवार बनाउनु हो ।
यो आन्दोलन समस्या समाधानको उपाय हो, अराजकता होइन । शान्तिपूर्ण ढंगमा शैक्षिक क्षेत्रमा पठनपाठन हुने सुनिश्चितता सहितको शान्तिक्षेत्रको अवधारणालाई व्यावहारिक कार्यान्वयन गर्नुपर्छ । प्राज्ञिक स्वतन्त्रतालाई केन्द्रमा राख्दै अनुसन्धानमा आधारित प्राज्ञिक उन्नयनको थलोका रूपमा विश्वविद्यालयलाई स्थापित गर्नु विद्यार्थी संगठनहरूको दायित्व हो ।
एकेडेमिया र नीतिबीचको खाडलको सवाल
विद्यमान शैक्षिक उन्नयनको सवालमा विश्वविद्यालय (एकेडेमिया) र नीति (पलिसी) बीचमा ठूलो खाडल रहेको कुरा कसैबाट लुकेको छैन । यसकारण विद्यार्थी संगठनले अब यस असंगतिलाई चिर्नका लागि ठोस पैरवी गर्नुपर्ने भएको छ ।
उदाहरणका लागि, विश्वविद्यालयका कक्षाकोठामा हुने बहस र रिसर्चहरू देशको हित र आवश्यकता अनुकूल बनाउने सवालमा काम गर्नुपर्ने हुनु जरुरी छ । यसका अलावा, सरकारलाई चाहिने नीतिगत मार्गनिर्देशन (पोलिसी गाइडलाइन) समेत विश्वविद्यालयभित्रका विभाग र अनुसन्धान केन्द्रहरूमा छलफलको विषय बन्नुपर्छ ।
जस्तो, नेपालमा पूर्वाधार परियोजनाको विषयमा व्यापक वादविवाद हुँदा यहाँका विश्वविद्यालयहरूले त्यसका विषयमा विशद प्राज्ञिक बहस गरी एउटा गहकिलो सामग्री प्रकाशित गर्न सक्थे, तर त्यसो गरेको देखिएन । विश्वविद्यालयहरूमा देशले अपनाउनुपर्ने नीतिमाथि बहस एवम् अनुसन्धान गरिरहँदा तिनमा विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्ने दायित्वलाई विद्यार्थी संगठनहरूले अंगीकार गर्नुपर्छ ।
आर्थिक तथा सामाजिक मुद्दाको केन्द्रीयता
नेपालका अधिकांश विद्यार्थीहरू आर्थिक रूपले कमजोर पृष्ठभूमिबाट आएका हुन्छन् । उनीहरूका लागि छात्रवृत्ति, सामुदायिक शिक्षा, आवासीय सुविधा र रोजगारमुखी तालिमहरू अत्यन्त जरुरी छन् । विद्यार्थी आन्दोलनले शिक्षा र रोजगारीलाई जोडेर सामाजिक न्यायका पक्षमा आवाज उठाउनुपर्छ । विद्यार्थी आन्दोलन अब केवल राजनीति होइन, सामाजिक परिवर्तनको कडी समेत बन्नुपर्छ । विश्वविद्यालय र क्याम्पसहरूले पनि विद्यार्थी नेताहरूलाई सकारात्मक मार्गदर्शन दिनुपर्छ, नत्र आन्दोलन केवल नारा र प्रदर्शनमा सीमित हुनेछ ।
वैश्विक दृष्टिकोणसहितको आन्दोलन
आजको विश्व भूमण्डलीकृत भइसकेको छ । नेपालको विद्यार्थी आन्दोलनले पनि अन्तर्राष्ट्रिय विद्यार्थी आन्दोलनहरूबाट पाठ सिक्नुपर्छ । अन्तर्राष्ट्रिय रूपमा विद्यार्थी आन्दोलनले जलवायु परिवर्तन, मानवअधिकार, लैङ्गिक समानता, प्राविधिक शिक्षा, डिजिटल अधिकारजस्ता विश्वव्यापी मुद्दालाई आत्मसात गरेको छ ।
नेपाली विद्यार्थी संगठनहरूले पनि विश्वभरका विद्यार्थीहरूसँग सहकार्य गर्नुपर्ने बेला आएको छ । विभिन्न खाले भूराजनीतिक जटिलताहरु श्रृजना भइरहेका छन् यस्तो अवस्थामा विद्यार्थी नेतृत्वले वैश्विक दृष्टिकोणसँग मिल्ने नेपालको विदेश नीतिका प्राथमिकता समेत छलफल र आफूलाई अभ्यस्त गराउन अपरिहार्य रहेको छ ।
ब्रेन ड्रेनको समस्या समाधानमा भूमिका
नेपालमा समस्याका रूपमा रहेको प्रतिभा पलायन (ब्रेन ड्रेन) न्यूनीकरणका लागि विद्यार्थी संगठनहरूले अहम् भूमिका खेल्न सक्छन् । उनीहरूले नेपालमै गुणस्तरीय शिक्षा, रोजगारीको अवसर, अनुसन्धान र नवप्रवर्तनको वातावरण बनाउनका लागि सरकारमाथि दबाब सिर्जना गर्नुपर्छ ।
प्रतिभाशाली युवाहरूलाई स्वदेशमै राख्न अनुकूल वातावरण बनाउन जागरूकता अभियान, नीतिगत सल्लाह र दीर्घकालीन योजना अघि सार्न विद्यार्थी संगठनहरूले अग्रसरता लिनुपर्छ । विदेशमा रहेका नेपाली विद्यार्थीहरूसँग सहकार्य गर्दै ‘रिटर्न होम’ (स्वदेश फर्क) अभियान सञ्चालन गर्न सकिन्छ । नेतृत्वदायी भूमिकामा रही विद्यार्थी संगठनहरूले स्वदेशमै विकासको सम्भावना देखाउँदै युवाहरूलाई प्रेरित गर्न सक्नुपर्छ ।
आत्मसमीक्षा र मार्गदर्शन
वास्तवमा अहिले विद्यार्थी आन्दोलनको गहिरो आत्मसमीक्षा आवश्यक छ । विगतमा भएका आन्दोलनहरूमा के सही काम भए, के गलत भए, पहिलेका कमीकमजोरीलाई कसरी सुधार्न सकिन्छ ? यस्ता प्रश्नहरूमाथि विद्यार्थी समुदायले खुला बहस गर्नुपर्ने बेला आएको छ ।
विद्यार्थी संगठनहरूले रगतपसिना बगाएर ल्याएको लोकतन्त्रका विरुद्ध अहिले आवाजहरू उठिरहेको सन्दर्भमा लोकतन्त्र एवं गणतन्त्रका उपलब्धिहरूको रक्षाका लागि विद्यार्थी संगठनहरू अग्रसर मात्र नभई समाजको ठूलो तप्कालाई लोकतन्त्रको पक्षमा गोलबद्ध पनि गराउनु जरुरी छ ।
विद्यार्थी आन्दोलन नेपालको राजनीतिक र सामाजिक परिवर्तनको प्रमुख उत्प्रेरक हो । तर, त्यो अहिले थाकेको र दिशाहीन बनेको आभास भइरहेको छ । त्यसलाई पुनर्ताजगी गरी क्रियाशील बनाउनु अहिलेको आवश्यकता हो ।
शैक्षिक विकास, नैतिक मूल्यमान्यता, उन्नत विचार, दक्ष नेतृत्व विकास, पूर्ण समावेशिता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी अबको विद्यार्थी आन्दोलनले राष्ट्र निर्माणमा थप सकारात्मक योगदान पुर्याउनुपर्छ । अबको विद्यार्थी आन्दोलनलाई समयानुकूल, दूरदर्शी र व्यावहारिक बनाउने काम हाम्रो पुस्ताको ऐतिहासिक जिम्मेवारी हो ।
(बिष्ट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिशास्त्रका एम फिल-पिएचडीका विद्यार्थी हुन् ।)

Leave a Reply