कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि ‘ठूला माछा’माथि अख्तियारको कडा निगरानी सुरू भएको विश्लेषण गरिएको थियो ।
केही दिनमै पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि ठूलो रकमको भ्रष्टाचार मुद्दा दायर भएपछि अझै ‘ठूला माछा’ अख्तियारको नरमा परेको प्रष्ट भयो ।
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको अकुत सम्पत्तिसम्बन्धी अभियोगमा मुद्दा दायर भएको हो भने, पूर्व प्रधानमन्त्री नेपालविरुद्ध ‘पतञ्जली जग्गा खरिद-बिक्री प्रकरण’मा १८ करोड ५८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार अभियोग लागेको छ ।
मसुरियामा आयोजित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारण सभामा बोल्दै सोडारीले आफूले न्यायालयबाट न्याय पाउने अपेक्षा व्यक्त गरेका छन् । ‘म कत्ति विचलित भएको छैन । मुद्दा न्यायालयमा गएको छ । उचित न्याय पाइनेमा विश्वास छ’, उनले भने ।
सोडारीले आफूविरुद्ध मुद्दा तीन वर्षअघिदेखि योजनाबद्ध रूपमा ल्याउन खोजिएको आरोप लगाउँदै अहिलेको सरकारलाई ‘निरङ्कुश र दमनकारी’ भने । उनले अख्तियार प्रमुखकै मुद्दा सर्वोच्चमा रहेको सन्दर्भ उठाउँदै, यो आरोप ‘प्रतिशोधपूर्ण’ भएको दाबी गरे ।
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दायर मुद्दालाई नेकपा एकीकृत समाजवादीले राजनीतिक प्रतिशोधको निरन्तरता भन्दै आपत्ति जनाएको छ ।
बिहीबार आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको बैठकले यो कदम पार्टी र नेताहरूको चरित्र हत्या गर्न गरिएको पूर्वाग्रही प्रयास भएको ठहर गरेको छ । प्रवक्ता प्रकाश ज्वालाले कानुनी तथा राजनीतिक रूपमा यसको प्रतिवाद गरिने र अदालतबाट क्लिन चिट लिने विश्वास व्यक्त गरे ।
सोडारी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर
पूर्व मुख्यमन्त्री सोडारीमाथि मुद्दा दर्ता हुनुअघि नै उनकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेकी छन् । उनले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षकको जागिर लिएको ठहर गर्दै विशेष अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।
गीता सोडारीले भारतको ‘बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्ली’बाट १० कक्षा पास गरेको प्रमाणपत्र पेस गरेकी थिइन्, जुन अख्तियार अनुसन्धानपछि नक्कली प्रमाणित भएको थियो। यस विषयमा २०७९ असोज ६ गते मुद्दा दायर गरिएको थियो ।
मुख्यमन्त्रीसम्मको यात्रा ,अहिले निलम्बन
नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष रहेकै बेला २०७४ सालको निर्वाचनमा सोडारी प्रदेश सभामा निर्वाचित भएका थिए । सामाजिक विकास मन्त्री हुँदा पदीय आचरणविपरित काम गरेको भन्दै उनलाई नेकपा एमालेले साधारण सदस्य नरहनेगरि कारबाही गर्यो । मन्त्रीबाट पनि बर्खास्त भए ।
नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीको नेतृत्व गरेका सोडारीले प्रदेशसभामा एमालेका २५ सदस्यमध्ये १३ जनालाई आफ्नो पक्षमा उभ्याएका थिए ।
अघिल्लो पटक १३ जनाको नेतृत्व गरेका सोडारीले कैलाली क्षेत्र नम्बर ४ को १बाट दोस्रो पटक निर्वाचित हुँदा आफूसहित चार जनाको नेतृत्व गरिरहेका थिए । एमालेबाट १३ जनालाई नेकपा एकीकृत समाजवादीमा सनाखत गराएपछि उनी भौतिक पूर्वाधार विकास मन्त्री भए । ४ जनाको नेतृत्व गर्दा उनी मुख्यमन्त्री बने ।
सामाजिक विकास मन्त्री हुँदा र भौतिक पूर्वाधार विकास मन्त्री हुँदा अकुत सम्पत्ति आर्जेको आरोप लागेको हो । अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै उनी निलम्बनमा परेको सूचना प्रदेश सभामा पुगिसकेको छ । शुक्रवारको प्रदेश सभा बैठकमा उक्त सूचना सभामुखले प्रदेश सभामा जानकारी गराउने छन् ।

Leave a Reply