बुटवल उपमहानगरले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने

रुपन्देही । बुटवलमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाउ कार्यक्रमअन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।

एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राहरुले प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०–२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी पढाउ कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रुपमा अगाडि बढ्ने छ ।

छात्राहरुलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मद्दत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

हामीकहाँ दक्ष जनशक्ति अभाव छ र सीप सिक्न चाहनेहरुको संख्या धेरै छ, अहिलेका लागि हामीले ४० जना छोरीहरुलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी बीटीआइसँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेका छौं, उनले भने, ‘यसलाई नियमित रुपमा अगाडि बढाउने र थप क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ । उपप्रमुख सावित्रादेवी अर्यालले छात्राहरुको जनशक्ति उत्पादनमा जोड दिने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *