काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएकाबारे तथ्य अध्ययन गरेर मात्रै पार्टीले धारणा तय गर्ने बताएका छन् ।
अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मुद्दा दायर गरेपछि यो विषयमा पार्टीमा छलफल गरेर धारणा तय गर्ने बताए ।
उनले भने, ‘मुद्दा दर्ता भएको हामीले पनि थाहा पायौँ, यसमा अब आधार के हुन् ? तथ्य के हुन् ? केही थाहा छैन । पार्टीभित्र पनि छलफल भएको छैन । पार्टीले तुरुन्त बैठक बसेर छलफल गर्नुपर्ने आवश्यकता देखेको छु । पार्टीभित्र छलफल गरिसकेपछि मात्रै हाम्रो औपचारिक प्रतिक्रिया आउँछ ।’
यो मुद्दा दर्ता हुनुमा राजनीतिक प्रतिशोध देख्नुहुन्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘प्रतिशोध नै छ भनेपनि त्यसरी टिप्पणी गर्ने बेला होइन, पूर्वप्रधानमन्त्रीमाथि लागेको मुद्दा हो । त्यसैले घटनाक्रमलाई राम्रोसँग बुझेर मात्रै बोल्नु उपयुक्त हुन्छ ।’
उनले मुद्दा दर्ता भएपछि अध्यक्ष नेपाल गौरबाट काठमाडौं फर्किँदै गरेको भन्दै आइसकेपछि पार्टीमा छलफल हुने बताए ।

Leave a Reply