वाईसीएलको नेतृत्व सर्वसम्मत छान्ने खुमलटारको प्रयास, इन्चार्ज र अध्यक्षलाई रिपोर्ट बुझाउन निर्देशन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को सम्मेलनबारे पार्टी पदाधिकारी बैठकमा छलफल भएको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा वाईसीएलको सम्मेलनबारे छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

उनले भने, ‘सम्मेलनबारे अध्यक्षले विस्तृत रिपोर्ट प्रस्तुत गर्नुभयो । त्यो रिपोर्टको आधारमा विगतका सबै अनुभव र शिक्षाको आधारलाई समेटेर सहमतिको प्रयत्न गरिराख्नुभएको छ । नेतृत्व सहमतिमा नै चयन भन्ने प्रयास छ ।’

वाइसीएलका अध्यक्ष र इन्चार्जलाई पनि सबैतिर छलफल गरेर एउटा रिपोर्ट तयार गरेर पेश गर्न निर्देशन दिएको बताए ।

उनले भने, ‘नाममा केन्द्रित भएर छलफल चलेन । समग्रमा नेतृत्व योग्य क्षमतावान् व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा भएको छ । पार्टीले सहजीकरण गरेर सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्नेमा विश्वस्त छौँ ।’

वाईसीएलको अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही र नवराज ऐर आकांक्षी छन् । सहमति जुटाउन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, अध्यक्ष सुबोध शेर्पालीलगायतका वाईसीएलका नेताहरू अध्यक्ष प्रचण्डसँग निरन्तर संवादमा छन् ।

आकाङ्क्षीहरूले अडान नछाडेपछि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *