आरिफको तारिफयोग्य ब्याटिङ, नेपालको गर्विलो जित

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै हिजो नेदरल्यान्ड्समाथि ५ विकेटको जित दर्ता गरेको छ । कागजीरुपमा आफूभन्दा बलियो टिमविरुद्ध नेपाल बलिङ र ब्याटिङ दुवैमा हाबी भयो ।

शृङ्खलाको पहिलो म्याचमा आयोजक स्कटल्यान्डलाई अन्तिम बलमा हराएको नेपालले नेदरल्यान्ड्विरुद्ध भने तुलनात्मकरुपमा सहज जित निकाले हो । अघिल्लो म्याचमा नेपालको बलिङ केही फितलो बनेको थियो भने दोस्रोमा बलरहरूले निकै सुधार गरे । साथै, ब्याटरहरुले पनि नेदरल्यान्ड्सलाई कुनै मौका दिएनन् ।

दुई खेलमा नेपालका दुई ब्याटरले म्याचविनिङ प्रदर्शन गरेका छन् । स्कटल्यान्डविरुद्ध करण केसीले नवौँ नम्बरमा आएर नेपाललाई कठिन स्थितिबाट उकास्दै अविस्मरणीय जित दिलाएका थिए । नेदरल्यान्ड्सविरुद्ध नेपालले नयाँ ‘हिरो’ भेट्यो आरिफ शेखका रूपमा । उनले संवेदनशील अवस्थाबाट नेपाललाई सम्हाल्दै जितको नजिक पुर्‍याएका थिए ।

नेपाली क्रिकेटमा आरिफ शेख नयाँ नाम होइन । अहिलेको नेपाली राष्ट्रिय टिममा उनी सिनियर खेलाडीहरूमध्ये पर्छन्, यद्यपि उनी प्राय ‘लो’ प्रोफाइलमै रहे । प्रदर्शनमा स्थिरता भए पनि ब्याटिङ शैली आक्रामक नहुँदा उनले ‘म्याच विनर’ को छवि बनाउन सकिरहेका थिएनन् । अधिकांश म्याचमा उनले अर्को ब्याट्सम्यानलाई साथ दिएर साझेदारी बिल्ड अप गर्थे । एउटा इन्डबाट विकेट जोगाउने प्रयास गर्थे । हिजो भने उनी आफैँले टिमलाई अगाडि बढाए र आफूलाई ‘म्याच विनर’ साबित गरे ।

आरिफले आफ्नो ब्याटिङमा फरकपनको आभास लिग २ को अघिल्लो श्रृंखलामा स्कटल्यान्डविरुद्धको खेलमा गराएका हुन् । उक्त लो स्कोरिङ म्याचमा उनले आक्रामक अन्दाजमा ब्याटिङ गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए । १५५ रनको मामूली लक्ष्य पछ्याएको नेपालले ६४ रनमा चार विकेट गुमाएको थियो । तर, आरिफले काउन्टर अट्याक गर्दै सहजरुपमा लक्ष्यभेदन गरिदिए । उक्त म्याचमा उनले ४२ बलमा अर्धसतक बनाएका आरिफ म्यान अफ दि म्याचसमेत बनेका थिए ।

हिजाेकाे म्याचमा अर्का अनुभवी ब्याटर दीपेन्द्र सिंह ऐरीसँग आरिफको पार्टनरसिपले नेपाललाई जित दिलाएको हो । नेपालले १५.४ ओभरमा ६८ रन बनाउँदा तेस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएपछि क्रिजमा आएका थिए आरिफ । स्लो पीच र हावा लागिरहेको अवस्थामा अग्रपंतिका ब्याटरहरुले खुलेर खेल्न सकेका थिएनन् । नेपाललाई विकेट जोगाउनुपर्ने र रनरेट पनि मेन्टेन गर्नुपर्ने दोहोरो प्रेसर थियो । आरिफले परिस्थितिको डिमान्ड अनुसार प्रदर्शन गरे ।

कप्तान रोहितकुमार पौडेल र आरिफबीच ५५ रनको महत्त्वपूर्ण साझेदारी भयो । लक्ष्य धेरै ठूलो नभएकाले उनीहरूले चौका–छक्काभन्दा पनि स्ट्राइक रोटेटमा जोड दिए । तर, ३०.३ ओभरमा रोहित दुर्भाग्यपूर्ण रूपमा रनआउट भएपछि नेपाललाई झट्का लाग्यो । रोहित यस्तो परिस्थिति टिमलाई सम्हाल्न सक्ने ब्याटर थिए । कप्तान आउट भएपछि क्रिजमा आए खराब फर्मबाट गुज्रिरहेका उपकप्तान दीपेन्द्र ।

पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रियमा गतिलो प्रदर्शन गर्न नसक्दा दीपेन्द्र क्रिकेट समर्थकहरूको निशानमा परिरहेका छन् । स्कटल्यान्डविरुद्धको म्याचमा उनले निकै बिर्सनलायक ब्याटिङ गरेका थिए, जसले गर्दा हिजो उनलाई प्रदर्शन गरेर देखाउनै पर्ने चुनौती थियो । र, दीपेन्द्रले आलोचकहरूलाई ब्याटबाट जवाफ दिए । उनले बनाएको अविजित ३८ रन आकारमा ठूलो होइन, तर नेपाललाई खेल जिताउन निकै महत्त्वपूर्ण थियो । यदि उनले चाँडै विकेट गुमाएको भए खेल पल्टिन पनि सक्थ्यो ।

आरिफ र दीपेन्द्रबीच निकै उत्कृष्ट साझेदारी भयो । सामान्य स्थितिमा भए उनीहरूको पार्टनरसीपमा दीपेन्द्र हाबी हुन्थे, र आरिफले सहयोगी भूमिका निभाउँथे । तर, हिजो चाहिँ आरिफले बढी स्कोरिङ गरे भने दीपेन्द्र सहयोगी बने । दीपेन्द्रले सुरुमा थुप्रै डट बलहरू खेलेका थिए, र त्यसको क्षतिपूर्ति गर्दै आरिफले बाउन्ड्री निकाले । उनीहरूले ९२ बलमा ८९ रनको साझेदारी गरेपछि नेदरल्यान्ड्सको हातबाट खेल फुत्कियो ।

आरिफ अन्तिमसम्म टिक्न भने सकेनन् । टिकेको भए उनको इनिङ अझै अविस्मरणीय बन्ने थियो । उनी ४५.५ ओभरमा नेपालले २१२ रन जोड्दा आउट भए । उनी पेभिलियन फर्किँदा जितको औपचारिकता मात्रै बाँकी थियो । नेपालले २५ बलमा १४ रन मात्रै जोड्नुपर्ने स्थितिमा गुल्शन झा क्रिजमा आएर काम तमाम गरे । ४८ औँ ओभरको पहिलो बलमा छक्का हान्दै जित निश्चित गरे ।

हिजोको खेलमा नेपालका बलरहरूको प्रदर्शन पनि तारिफयोग्य रह्यो । फास्ट बलर र स्पिनर दुवैले उत्कृष्ट बलिङ गरे, जसले गर्दा नेदरल्यान्ड्सले नेपालमाथि हाबी भएर खेल्न सकेन । फास्ट बलर रिजन ढकालको स्थानमा स्पिनर ललित राजवंशीलाई ल्याउने निर्णय सही साबित भयो । उनले उत्कृष्ट बलिङ गर्दै दुई महत्त्वपूर्ण विकेट लिए । यद्यपि, ललितलाई ढिला बलिङमा उतार्नु कप्तानको त्रुटि थियो । उनले आफ्नो १० ओभरको कोटा पूरा गर्न पाएनन् । पार्ट टाइम बलर आरिफलाई सात ओभर बलिङ गराउनुको साटो ललितलाई पूरा ओभर बल दिनुपर्थ्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रह्यो ।

नेपालले नेदरल्यान्ड्सलाई २०० रनभित्रै अलआउट गर्ने अवसर थियो । ३८.३ ओभरमा १६६ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो नेदरल्यान्ड्सले । तर आठौँ नम्बरमा आएको किल क्लेनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याए । उनले ५५ बलमा सर्वाधिक ४८ रन हाने । यस्तै कप्तान स्कट एड्वर्ड्सल ४६ रनको योगदान दिएका थिए ।

रोचक चाहिँ के भने आक्रामक ब्याटिङका लागि चिनिने नेदरल्यान्ड्सका ब्याटरहरुले खेलभरि एउटा पनि छक्का हान्न सकेनन् । नेपालले आफ्नो इनिङमा ३ छक्का प्रहार गरेको थियो, जसमा दुईवटा आरिफले र एउटा (अन्तिम बलमा) गुल्शनले हानेका हुन् ।

नेदरल्यान्ड्विरुद्धको यो जितले विश्वकप लिग २ शृङ्खलामा नेपालको आत्मविश्वास ह्वात्तै बढाएको छ । हुन त नेपाल अझै पनि अंकतालिकामा पछाडिबाट दोस्रो नै छ, तर नेपालले अरुको तुलनामा कम म्याच खेलेको हुँदा कमब्याकका लागि अवसर प्रशस्त बाँकी छ । यो शृङ्खलामा प्रत्येक टिमले ३६ वटा म्याच खेल्न पाउँछन् । नेपालले अहिलेसम्म १४ वटा म्याच मात्रै खेलेको छ, जसमा हिजोको नतिजासहित ४ जित हासिल भयो । नेदरल्यान्ड्स र स्कटल्यान्डलाई हराएको नेपाललाई कुनै पनि टिमले कम आँक्न सक्ने अवस्था छैन । अब नेपालको लक्ष्य भनेको टप ४ मा पर्नु हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *