काठमाडौं । भावी संगठन प्रमुखसम्म हुने हैसियत निर्धारण गर्ने कारण पेचिलो बनेको सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा अन्ततः वरियता लत्त्याउँदै सिफारिस भएको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले गणेशबहादुर ठाडा मगरको बढुवा सिफारिस अनुमोदन गर्दैछ ।
नेपाल प्रहरीका ११ जना एसएसपीले जेठ १६ गते डीआईजी दर्जामा नियुक्ति बढुवा पाए, त्यही दिन दर्ज्यानी चिह्न पनि लगाए । उक्त बढुवामा वरियता विवाद भन्दा पनि दागीहरूले दाम बुझाएर संगठनको भावी नेतृत्वका दाबेदारलाई रोक्न सफल भएको आरोप छ ।
नेपाल प्रहरीको ११२ टोली डीआईजीको दाबेदार थियो । यो टोलीमा विश्व अधिकारी,भूपेन्द्र खत्री,सानुराम भट्टराईलगायत थिए । २०५६ असार ३ गते निरीक्षक दर्जाको नियुक्ति पत्र प्राप्त गरी आधारभूत तालिमप्राप्त उक्त टोलीलाई राष्ट्रिय अनुसन्धान विभागबाट समायोजित र २०५८ सालमा तालिम गरेको टोलीका ९ जनाले उछिने । ११२ टोली हेरेको हेर्यै भयो ।
अहिले नेपाल प्रहरीको ११२ र ११४ टोलीका अधिकृतलाई एसएसपी बनाउने चटारो शुरु भएको छ । रिक्त दरबन्दी ११ हुँदा आकांक्षी तेब्बर छन् । त्यसपछि उति नै संख्यामा एसपी रिक्त हुन्छ, डीएसपी पनि । सँगै आउने असार–साउन महिनामा विभिन्न दर्जाका प्रहरी कर्मचारीको ठूलो लटमा सरुवा ‘चल्ने’ महिना हो ।
अहिले प्रहरी आईजीका डायरीका पाना तिनै बढुवा र सरुवाका सिफारिसले भरिएका छन् । दिनैपिच्छे एउटा डायरी भरिँदै छ । तर, आईजीले बोक्ने डायरीका पाना जतिसुकै भरिए पनि अन्तिममा बिचौलिया हाबी हुँदा डीआईजी बढुवा प्रभावित भएको ११२ टोलीका एक एसएसपीले बताए ।
‘पहिला आईजी सा’ब आफैँले ढुक्क भएर बस भन्नुभयो, पछि मैले सकिनँ भनेर पन्छिनुभयो’, एक बढुवा दाबेदार एसएसपीले भने ।
यसरी सशस्त्रमा ठाडामगरदेखि प्रहरीमा डीआईजी बढुवासम्मको ‘बिचौलिया खेती’ को अन्तर्कथा करिब उस्तै उस्तै देखिन्छ ।
सशस्त्रको सल्बलाहट
सशस्त्र प्रहरीमा वैशाख २ गते तत्कालीन एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गए । त्यो ठाउँ रिक्त भयो । वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरी आवेदन माग गर्यो । ८ जना डीआईजीले आवेदन फारम भरे । फारम बुझाएका डीआईजी कमल गिरी, शम्भु सुवेदी, कूलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीपकुमार पाल थिए । यी सबैलाई उछिनेर ठाडामगर एआईजीमा सिफारिस भए ।
सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली सिसम–१ बाट डीआईजीद्वय सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले पनि एआईजी बढुवाको फारम भरेका थिए । अब उनीहरू नेतृत्वमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
बढुवा समितिको सचिवालयले वैशाख १४ गते सात दिनको म्याद दिएर आवेदन भर्न आह्वान गरेको थियो । आवेदन भर्ने मिति करिब २२ दिनसम्म आलाटाल गरिँदा ठूलो आर्थिक चलखेल भएको र त्यहीँबाट बिचौलियाको सल्बलाहट चलेको एक पीडित डीआईजी बताउँछन् ।
ठाडामगर कनेक्सन
गणेशबहादुर ठाडामगरको एआईजीमा सिफारिस र नियुक्ति समाचारका दृष्टिले एउटा मामुली विषय हो । ३ एआईजीको व्यवस्था रहेको सशस्त्रमा एउटा खालि ठाउँमा उनी गए, २ बाट ३ भए । अझ एक मात्र रिक्त उच्च पदमा मगर समुदायका अफिसर बढुवा भए । यसरी हेर्दा सुन्दर देखियो । तर, चेन अफ कमाण्डमा आधारित हुने फौजी संगठनमा उनी वरियता मिचेर बढुवा हुँदैछन् । यो विषय गम्भीर हो । यद्यपि यो दोष उनले बोक्नुपर्दैन, बनाउनेहरू नै जानुन् ।
सबैभन्दा गम्भीर मामिला त के हो भने, सशस्त्र प्रहरीमा पटक पटक ठाडा मगर किन एउटै गतिमा हाबी भइरहेका छन् ? के कस्ता खोलोमेलोसँग उनको साइनो रहँदै आएको छ ? र, आफूभन्दा अघिल्लो वरियताको अधिकृतलाई मिच्ने त्यो खेलोमेलो कसरी मौलाउँदैछ ?
सशस्त्र प्रहरी स्रोतका अनुसार, बढुवालगत्तै उनी प्रशासन विभागको प्रमुखका रूपमा पदस्थापित हुँदैछन् । र, बढुवाका लागि खर्चिएको रकम पुर्ताल हुने गरी केही काम अगाडि बढाइँदैछ । त्यही प्रयोजनका निम्ति उनको बढुवामा ‘बिचौलिया खेती’ मौलायो ।
उनका प्रतिस्पर्धी थिए, कमल गिरी । उनले पनि ‘चलेको चलन’ चलाउनैपर्ने थियो । बिचौलिया नभेटेका हैनन् । तर, तिनले आजको काम र परिणाम हैन, भोलि हेरेर चल्ने र चलाउने हुन् । अर्थात्, कुनै एआईजीको बढुवाका लागि गरिएको लगानी असुलिन्छ कि असुलिँदैन भनेर हिसाब निकालिँदा ठाडामगर बलियो बनेर प्रस्तुत भए ।
झापास्थित पाथीभरा जवान तालिम शिक्षालयको समादेशक हुँदा उनले भेटेका बिचौलिया थिए, तारालाल सापकोटा । गिरीबन्धु टी स्टेट प्रकरणमा व्यापारी दीपक मल्होत्राको प्रतिनिधिका रूपमा सक्रिय भएको समयमा भेटिएका सापकोटामार्फत ठाडा मगरले आफ्नो प्रभाव विस्तार गर्दै वर्तमान परराष्ट्र मन्त्री डा.आरजु देउवा र उनका भाइ भूषण राणासम्म पुर्याए ।
वरियता र कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी गिरीलाई उछिनेर दोस्रो नम्बरका ठाडामगरलाई बढुवा सिफारिस गर्दा सशस्त्र प्रहरीमा पूर्णरुपमा राजनीतिक हस्तक्षेप भएको बताइएको छ ।
गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआइजी रिक्त भएको डेढ महिनापछिको रस्साकस्सीले ठाडामगरलाई बढुवा सिफारिस गरिएको छ ।
दुवाडीलाई गृहमन्त्रालयमा लैजाने तारालालसहितका केही बिचौलियाले प्रयोग गरेको स्रोतको दाबी छ । त्यसमा राजनीतिक नेतृत्वले साथ दिँदा उनलाई सहज भयो । दुवाडी स्वयं पछिल्लो विवादित भिजिट भिसा प्रकरणमा समेत जोडिएका छन् ।
बिचौलियाकै बीचमा प्रतिस्पर्धा
सशस्त्रको एआईजीका निम्ति बिचौलिया समूहले तोकेको दर थियो, ७ करोड ।
हुने निश्चित भएपछि त्यति पैसा बुझाउने मान्छेको कमी बजारमा हुँदैन । तर, कसको कति हैकम चल्छ भन्ने हिसाब निकाल्दा ठाडामगर बलियो बने ।
परराष्ट्र मन्त्री राणाका भाइ भूषणबाट मात्रै यो खेलो मिलाउन सम्भव नहुँदा उनले लुम्बिनीस्थित सशस्त्र प्रहरी बल ५ नं. विन्ध्यवासिनी बाहिनी मुख्यालयमा कार्यरत डीआईजी दीपेन्द्र कुँवरलाई तीन दिनका लागि काठमाडौं झिकाए । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन् । उनी पनि शक्तिकेन्द्र दुरुपयोगमा ठाडामगरजत्तिकै नाम चलेका व्यक्ति हुन् ।
उनैमार्फत कुरा मिलाइँदा प्रतिस्पर्धी गिरी कमजोर र ठाडा मगर बलियो भएका हुन् । गिरीका शक्तिकेन्द्र कांग्रेस नेता शेखर कोइराला र ज्ञानेन्द्रबहादुर कार्कीमात्रै थिए । उनको पक्षमा कार्की निकै जोडसँग लागे । उनका भाइ तथा सेनाका खरिद बिक्रीमा सक्रिय लोकेन्द्र कार्कीहरू पनि गिरीमा पक्षमा थिए । तर, भविष्यमा गिरीबाट भनेजसरी काम लिन सकिन्छ भन्ने विश्वास गर्न नसकेपछि देउवा कोटरीले ठाडामगर नै रुचाएको स्रोतले जनाएको छ ।
असुलीको हिसाब
एआइजी बढुवामा भएको ‘असुली’ को हिसाब मिलाउन बढुवासँगै ठाडामगरको पदस्थापन प्रशासनमा हुने भएको हो ।
किनभने, सशस्त्र प्रहरीले सीमा सुरक्षा शीर्षकमा ३ अर्ब बजेटको स्वीकृति पाइसकेको छ । त्यसअन्तर्गत भारत र चीनका सीमावर्ती क्षेत्रका प्रत्येक ५–५ किलोमिटरमा सिसिटिभी जडान गर्नुपर्ने कार्यादेश छ ।
तर, टेण्डर भएर पनि बजेट स्वीकृत नहुँदा हतियार खरिदको क्रम अलपत्र परेको छ । उक्त शीर्षकमा ४८ करोडको टेण्डर भएको थियो । यही चाँजोपाँजो प्रशासनले मिलाउने हो । त्यसका लागि ठाडामगर त्यहाँ पठाइँदैछन् ।
०८४ सम्मको चलखेल
२०८४ चैत १७ पछि कसलाई सशस्त्रको आईजी बनाउने भन्नेसम्मको चलखेल अहिलेको बढुवामा गरिएको छ । यद्यपि, अहिल्यै त्यसबेला को आईजी बन्छ भन्ने हिसाब सही ननिस्कन सक्छ ।
अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४ सालमा संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो बनेको थियो । विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल २०८३ वैशाख १७ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्छन् ।
हालका सशस्त्र आईजी अर्याल एक अर्को वर्षको वैशाख १७ मा अवकास हुँदा एक एआईजीको पद रिक्त हुन्छ । र, उक्त बढुवामा गिरी समावेश भएमा २०८४ चैतमा हुने आईजी बढुवाका प्रतिस्पर्धी पनि यी दुईमध्येकै हुन्छन् ।
नेपाल सरकारले एआईजीमध्ये उपयुक्त ठानेको व्यक्ति आईजी बनाउने व्यवस्था छ । त्यसमा वरिष्ठतासँगै कार्यक्षमतालाई आधार मानिन्छ । त्यसैले अहिल्यै ठाडामगर नै भावी आईजी हुन् भन्ने दाबी गर्न नमिल्ने सशस्त्रका अधिकृतहरू बताउँछन् ।
विवाद शृङ्खलामा ठाडामगर
सशस्त्रका अधिकृतमध्ये ठाडामगर विवाद र चर्चामा आइरहने व्यक्ति हुन् ।
कहिले मिडियाका अतिरञ्जित खबरले त कहिले आफ्नै कार्यशैलीका कारण उनी विवाद र चर्चामा पर्ने गरेका हुन् ।
एयरपोर्टमा उनकी पत्नीको झोला बोकिदिएन भनेर एक प्रहरी अधिकृत कारबाहीलाई कारबाही सिफारिस नै गरे ।
शैलेन्द्र खनाल आईजी हुँदा उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो । उनीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्वराजा ज्ञानेन्द्र शाहलाई होच्याएको आरोप छ ।
इन्टेलिजेन्स ब्युरोको प्रमुख हुँदा उनी एसएसपी दर्जाका थिए । उनीमाथि फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प त्यसबेला जो बाइडेनसँग चुनावमा हारेको समाचार आएलगत्तै तत्कालीन एसएसपी ठाडामगरले फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए ।
साधारण व्यक्तिजस्तो गरेर उनले आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै अमेरिकी दूतावासले समेत सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टिसमेत पोखेको थियो ।
एसएसपी भएकै बेला माघ महिनामा फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे फौजी आचरणविपरीत गम्भीर टिप्पणी गरेका थिए । आलोचनात्मक पोस्ट र टिप्पणी गर्न रुचाउने उनले त्यसबेला पूर्वराजा शाहमाथि ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउ…’ भनेर पोस्ट गरेका थिए ।
नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको अर्को आरोप छ ।
उनी त्यहाँको बाहिनीपति हुँदा सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको त्यसबेला चर्चा चलेको थियो ।
त्यसबेला कोशी प्रदेशको कमाण्ड गरिरहेका गिरीलाई उत्कृष्ट बाहिनी अवार्ड दिइएको थियो । तर ठाडामगरलाई विभिन्न चार्ज लागेर मुख्यालय तानियो ।
नेपाल प्रहरीमा सेन्टर कलेक्सन
सशस्त्र प्रहरीमा ठाडामगरलाई वरियता मिचेर बढुवा दिइएझैँ नेपाल प्रहरीको ११२ टोलीलाई डीआईजी बढुवामा बञ्चित गर्ने काममा पनि उही गिरोहको सक्रियता थियो ।
हाल प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएका नवनियुक्त एक डीआईजीलाई बढुवा दाबेदारबाट एकमुष्ट रकम संकलन (सेन्टर कलेक्सन) को जिम्मा दिइएको थियो । त्यसो गरिँदा आईजीबाटै बचन पाएर पनि ११२ टोलीका एकजनाले पनि डीआईजी बढुवामा मौका पाएनन् ।
आईजी त अन्तिममा ‘मैले सकिनँ’ भन्दै पन्छिए । तर, बढुवामा छुटेका उक्त टोलीको करिअरमा भने गम्भीर घात भएको छ । त्यसैले सो टोली र आईजीबीच अहिले त्यति राम्रो सम्बन्ध छैन ।
सेन्टर कलेक्सनको रकम कोलम नमिलेकै कारण डिआइजी बढुवा नियतवश बुढानिलकण्ठबाटै रोकाइएको चर्चा पनि छ । पछिल्लो समय कलेक्सनको कनेक्सन भानु देउवामा गएर टुंगिने गरेको छ ।
९ जनाबाट २० लाखको दरले सेन्टर कलेक्सन गरेको बुझाइएको सूचना बढुवा भएकामध्ये एकले निकटस्थहरुसँग चुहाएका छन् । बार्गेनिङ गर्दै समय लम्ब्याएर सो रकम बढाएको उनको दावी छ । जो पटकपटक विवादमा पर्दै आएर पनि यसपटक बढुवा हुन सफल भएका थिए ।
प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘पहिले त भानुको भागमा बुढानीलकण्ठ प्रभागको डिएसपी र उपहार छुट्याउँदा हुन्थ्यो तर अब त उनले डिआइजी बढुवामै टाङ अड्याइदिने अवस्था देखियो । उनले कांग्रेसबाट आफ्नो कोटामा मन्त्री समेत बनाइसकेपछि त प्रहरीमा खेल्न कुन ठूलो कुरा भयो र ।’
लेखकलाई बदनामीको बात
यी कुनै पनि खेलोमेलोमा नपरेका गृहमन्त्री रमेश लेखकको भागमा बदनामीमात्रै परेको छ ।
सबैथोक देउवा निवासबाट हुने, त्यहाँको सिफारिस कार्यान्वयन गरेबापत मन्त्री लेखक एक्लै बदनाम भइरेको प्रहरीस्रोतले जनाएको छ । लेखकको भद्रपनको फाइदा कांग्रेसका नेता,सांसद सबैले लिइरहेका छन् ।

Leave a Reply