काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालको तेस्रो सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचन हुने भएको छ ।
तेस्रो सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नका लागि बुधवार साँझसम्म सहमतिका लागि पार्टीको नेतृत्व जुटे पनि सहमति जुट्न नसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार बुधवार साँझ नै निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन भइसकेको छ । जसमा निर्वाचनमा सहभागी हुनका लागि १ हजार ५५२ जना प्रतिनिधि रहेका छन् ।
मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन समितिले नाम छुटेको, नाम र कोड नम्बर फरक परेमा समयमै सम्बन्धित प्रदेशको नेतृत्वमार्फत सच्याउन अनुरोध गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजे मतदाता नामावलीमाथि दाबी विरोध दर्ता, साढे १० बजेसम्म दाबी विरोधमाथि छानबिन र निर्णय र बिहान ११ बजे अन्तिम मतदाता नामावली प्रकाशन तथा उम्मेदवारी दरखास्त आव्हानको समय तोकिएको छ ।
यस्तै आजै मध्यान्ह १२ बजेदेखि १२ः ४० सम्ममा उम्मेदवारको मनोनयन दर्ता, १२ः४५ मा उम्मेदवारको नामावली प्रकाशन तथा दाबी विरोधको सूचना आव्हानको समय तोकिएको छ ।
यस्तै उम्मेदवारको विरोधमा उजुरी दर्ता १२ः४५ देखि दिउसो १ बजेसम्म रहेको छ भने उम्मेदवारको विरोधमा परेको उजुरी सूचना १ः२० मा र उजुरीमाथि छानबिन र निर्णय १ः२० देखि २ बजेसम्म हुने कार्यतालिका रहेको छ ।
त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन दिउसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउसो २ बजेदेखि ३ः१५ सम्म तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउसो ३ः२० मा तोकिएको छ ।
त्यसपछि दिउसो ३ः२० बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. जगतकृष्ण पोखरेलले जानकारी दिए ।


Leave a Reply