काठमाडाैं । विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा भइरहेको खेलमा पहिले बलिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई दबाबमा राखिरहेको छ । कठिन ब्याटिङ कन्डिसनमा नेदरल्यान्ड्सका ब्याटरहरुले खुलेर खेल्न सकिरहेका छैनन् ।
नेपालका लागि दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले नेदरल्यान्ड्सको दुई दुई विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा र ललितले पहिलो बलमै विकेट निकालेका थिए । यस्तै, सोमपाल कामी र करण केसीले एक एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १ रनमै पहिलो विकेट गुमाएको थियो । सोमपालले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई आउट गर्दै नेपालको खाता खोलेका थिए । त्यसपछि नेदरल्यान्ड्सले खेलमा आक्रामकता देखाउन सकेको छैन । मैदानमा बेस्सरी हावा चलेकाले पनि ब्याटिङ गर्न कठिनाइ भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेदरल्यान्ड्सले ३८ ओभरमा ६ विकेट गुमाउँदै १६६ रन जोडेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवड्र्सले ४६ रन बनाउँदै टिमको स्कोर अघि बढाएका थिए । उनलाई ललितले आउट गरेपछि नेदरल्यान्ड्स थप दबाबमा आएको हो ।

Leave a Reply