काठमाडौं । रौतहटको ईट्टाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको र रुकुम सोती हत्याकाण्डमा उच्च अदालत सुर्खेतको फैसलाविरुद्ध सरकार पुनरावेदनमा जाने भएको छ ।
१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा बुधबार राष्ट्रिय दलित आयोगले काठमाडौंमा गरेको कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले उक्त जानकारी गराए ।
२०६४ को पहिलो संविधान सभाको निर्वाचनमा बम बनाएर मतदाता तर्साइ निर्वाचनलाई आफ्नो पक्षमा पार्ने कार्य गरिरहँदा आफैं बम पड्किएर घाइते भएकालाई आफ्नै इट्टाभट्टामा जलाएको ठहर गर्दै जिल्ला अदालत रौतहटले जन्मकैद गरेका आलमलाई वीरगञ्ज उच्च अदालतले सफाइ दिएर जेलमुक्त भएका थिए ।
त्यस्तै, अन्तजातीय प्रेम विवाह गर्न खोजेकै कारण जाजरकोटका नवराज विकसहित ६ जनालाई स्थानीय लखेटेर हत्या गरेका थिए । घटनामा संलग्न २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदसँगै जातीय भेदभाव तथा छुवाछुतको मुद्दामा पनि दोषी ठहर गरेको थियो ।
तर, उक्त मुद्दामा उच्च अदालत सुर्खेतमा प्रतिवादीले पुनरावेदन गरेकोमा न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबैको सजाय सदर गरेका थिए ।
उनीहरूविरुद्ध जातीय छुवाछुत अभियोग लागेकोमा उच्चले उक्त कसुरमा भने सबैलाई सफाइ दिएको थियो ।
यसरी आलमको फैसला र सोती घटनामा जातीय छुवाछुतमा सफाइ दिने फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गर्ने भएको हो ।

Leave a Reply