दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने बताएकी छन् । १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी माओवादी उपाध्यक्ष भुसालले भनिन्, ‘दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्छ, सर्वाहारा वर्गको अग्रदस्ता हुनुको नाताले सबै प्रकारका कुरीति अन्त्य गर्ने पार्टी नै माओवादी हो ।’

पूर्वमन्त्री समेत रहेकी पार्टी उपाध्यक्ष भुसालले पछिल्ला वर्षमा निर्वाचन तथा सरकार गठनमा निरन्तर रुपमा गठबन्धनबाट भइरहेका र निर्वाचन पनि गठबन्धन गरेर नै भइरहेका कारण पार्टीको नीति अनुसार दलितको सहभागिता सुनिश्चित गर्न नसकिएको बताइन् ।

उनले भनिन्, ‘गठबन्धनले माओवादी मात्रै कमजोर भएन, दलित समुदायसँगै सिमान्तकृत समुदायको प्रतिनिधित्व तथा सहभागितामा पनि गठबन्धनले असर गरेको छ । त्यसैले अब आफ्नै खुट्टामा उभिने पार्टी बनाउनुपर्छ । २०६४ मा जस्तै २०८४ मा माओवादीलाई पुर्याउनुपर्छ ।’

उपाध्यक्ष भुसालले माओवादीका सबै तहका संरचनामा दलितको अनिवार्य १५ प्रतिशत सहभागिता पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह समेत गरकी छन् । उनले पार्टीले १५ प्रतिशत सबै तहमा प्रतिनिधित्व हुने सुनिश्चित गरिसकेको भन्दै त्यसै अनुसार पार्टी, जनवर्गीय संगठन तथा राज्यका संरचनामा पनि पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘६७४३ वडामा वडा सदस्य १५ प्रतिशत पुर्याउनका लागि मोर्चाले नेतृत्व निर्माण गर्नुपर्यो । त्यसमा पनि दलित समुदायको बाहुल्यता बढी वडामा वडा अध्यक्षका लागि नेतृत्व तयार गरौ । सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष पनि निर्वाचित गराउनका लागि आधार तयार पार्नुपर्यो । प्रदेश र संघमा पनि त्यसै गरी तयारी गरौ । अब माग्ने मात्रै होइन, आफै नेतृत्व तयारी गरेर लिनुपर्यो ।’

दलित मुक्ति मोर्चाका इञ्चार्ज समेत रहेका माओवादीका केन्द्रीय सदस्य परशुराम रम्तेलले अहिलेको प्रधानमन्त्रीसँगै नेकपा (एमाले) र नेपाली काँग्रेस दलित विरोधी भएको बताए । उनले नीति तथा कार्यक्रममा पनि दलितलाई उपेक्षा गरिएकोमा आपत्ति जनाए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *