गएको शनिबारयता सामाजिक सञ्जालमा ‘झोले’ शब्दको खुब चर्चा परिचर्चा छ । सँगै टिकाटिप्पणी पनि बढिरहेको छ ।
‘झोले’ शब्दको राजनीतिक सन्दर्भमा प्रयोग कहाँबाट सुरू भयो भन्ने प्रश्नको स्पष्ट र एकमात्र उत्तर छैन, तर यस शब्दको उत्पत्ति र विकास नेपाली कम्युनिष्ट आन्दोलन र त्यसमा संलग्न कार्यकर्ता संस्कृतिसँग गहिरो रूपमा जोडिएको इतिहास भने पाइन्छ । करिब पाँच दशकअघिदेखि सुरू भएको झोले शब्दको सामान्य अर्थ
‘झोले’ भन्नाले मूलतः झोला बोकेको व्यक्ति भन्ने सामान्य अर्थ लाग्न सक्छ । नेपाली समाजमा खासगरी विद्यार्थी वा राजनीतिक कार्यकर्ताले झोला बोकेर हिंड्ने, पार्टीको कागजपत्र, पम्प्लेट, ब्यानर बोक्ने र नेताको पछि पछि लाग्ने कार्यकर्तालाई व्यंग्यात्मक शैलीमा ‘झोले’ भन्ने गरिन्छ ।
‘झोले’ शब्द आफैँमा नकारात्मक शब्द होइन । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत शब्दकोश’ मा झोलेका तीनवटा अर्थहरू छन् पहिलो, अर्र्कोको झोला बोक्ने, दोस्रो, झोल भएको रसदार र तेस्रो झोला बोकेर हिँड्ने । भन्ने उल्लेख छ ।
तर, यस शब्दको अर्थ केबल झोला बोक्नेमा मात्र सीमित छैन । समयसँगै यसको प्रयोगले राजनीतिक चेतना, कार्यकर्ता समर्पण, विचारमा निष्ठा, र कहिले काँही अन्धसमर्थन, अन्धभक्तिको संकेत गर्न थालेको छ ।
पुराना कम्प्युनिष्ट नेताका अनुसार झोला बोकेर राजनीतिमा होमिने संस्कृतिबाट ‘झोले’ को जन्म भएको थियो भनिन्छ । नेपाली वामपन्थी आन्दोलन, विशेषतः २०२५-२०३५ सालको दशकमा, भूमिगत कार्यकर्ताको भूमिका विशेष महत्वपूर्ण थियो । ती कार्यकर्ताहरू जनताको बीचमा राजनीतिक सन्देश, प्रचार सामग्री (पम्प्लेट, हाते पत्रिका, भित्ते लेखन सामग्री आदि) लिएर गाउँ-गाउँ पुग्थे । उनीहरूले आफ्ना कागजात, किताब, लालपुर्जा, संगठन सामग्री झोलामा राखेर बोकेका हुन्थे । यो काममा भरतमोहन अधिकारी, मदन भण्डारीदेखि अन्य ठूला नेताहरु भूमिगत हुँदा काँधमा झोला भिरेर प्रजातन्त्र स्थापनाका लागि अभियान लिएर गाउँगाउँ पुग्ने गर्दथे ।
यही ‘झोला’ बोकेर हिँड्ने, नेताको साथ-साथ जनताबीच पुग्ने ती समर्पित कार्यकर्ताहरूलाई नै सुरुमा सहानुभूतिको अर्थमा ‘झोला बोकेको यो सच्चा कार्यकर्ता हो’ भनेर भनिन्थ्यो । तर पछि यही ‘झोला’ भन्ने शब्द बोलचालमा ‘झोले’मा रूपान्तरित भयो । गाउँघरमा केटाकेटीहरुले आफ्नो घरमा ‘झोला बोकेको मान्छे’ आएको छ भन्ने गर्दथ्र्ये । पछि ति गाउँघरमा झोला बोकेर डुल्लनेहरुलाई नै ‘झोले’ भन्न थालियो ।
२०३६ सालको जनमत संग्रह र त्यसअघि-पछिको राजनीतिक प्रचार अभियानमा वामपन्थी दलका कार्यकर्ताहरू गाउँ-गाउँ, बस्ती-बस्ती झोला बोकेर जान थाले । बिस्तारै ‘झोले’ भन्नाले यस्तो कार्यकर्ता जनाइन्छ जो पूर्णकालीनरूपमा पार्टी कार्यमा खटिन्छ, व्यक्तिगत जीवन त्यागेर पार्टीमा समर्पित हुन्छ ।
त्यो बेला ‘झोले’ लाई एउटा वैचारिक व्यक्तिको रूपमा चिनिन्थ्यो । अनेकौं कार्यकर्ताहरूले आफ्नो परिवार, पढाइ, व्यक्तिगत व्यवसाय छाडेर ‘झोला बोकेर’ संगठनमा लागेका थिए । त्यसैबेला यो शब्दको प्रतिकात्मक प्रयोग हुन थाल्यो- ‘झोला बोक्ने कार्यकर्ता झोले कार्यकर्ता’ ।
२०४६ सालको जनआन्दोलनपछि पार्टीहरू खुला भए, कार्यकर्ता राज्यसञ्चालन, आन्दोलन, सरकार सञ्चालन आदि भूमिकामा देखिन थाले । यही बेलादेखि ‘झोले’ शब्द व्यंग्यात्मकरूपमा प्रयोग हुन थाल्यो । नेताहरूको चाकरी गर्ने, मन्त्री वा सचिव बन्नका लागि लबिङ गर्ने, विचारभन्दा व्यक्तिगत लाभमा केन्द्रित हुने कार्यकर्तालाई आलोचना गर्न ‘झोले’ शब्द प्रयोग गरिन थालियो ।
गर्दै नगरेको कुरा पनि नेताको अगाडि गर्न तयार हुने झोलेहरूकै कारण पार्टी बिग्रिएको हो । त्यो बेलाको ‘झोले’ शब्द एक्काएक परिवर्तन भयो । त्यसपछि ‘झोले’ शब्द एक किसिमको अन्धसमर्पण, चाकरी, नालायक कार्यकर्ताको पर्याय बन्दै गयो ।
माओवादी सशस्त्र संघर्षको समयमा झोले शब्दको अर्को व्याख्या
माओवादी सशस्त्र संघर्षको समयमा, माओवादी कार्यकर्ताहरूले ‘झोले’ शब्दलाई शहरी, पुस्ताको राजनीतिमा रमाउने, नेतृत्वसँग नजिक हुने, तर जनताबाट टाढा हुने कार्यकर्तालाई व्यंग्य गर्ने रूपमा प्रयोग गर्न थाले । उनीहरुले ‘झोले’ भन्नाले ‘सैद्धान्तिक ढोंग गर्ने, तर व्यवहारिक रूपमा फितलो कार्यकर्ता’को रूपमा चित्रण गरे ।
२०७० सालपछि, विशेषतः सामाजिक सञ्जालको तीव्र विकाससँगै ‘झोल’ शब्द सार्वजनिक बहसमा निकै चर्चित हुन थाल्यो । खासगरी फेसबुक र ट्विटरमा नेताको समर्थन गर्ने जो-कोहीलाई ‘यो त झोले हो’ भन्दै आलोचना हुने चलन बढ्यो ।
लेख लेख्ने, फोटो शेयर गर्ने, कुनै विचार राख्ने बित्तिकै ‘झोले’, ‘पार्टीको पुच्छर’, ‘अन्धभक्त’ भन्ने कमेन्टहरू आउन थाले ।
आलोचना गर्नेहरूलाई ‘झोले होइन, स्वतन्त्र सोच भएको मान्छे’ भन्ने तर्क दिनुपर्ने अवस्था देखियो । विशेष स्वतन्त्र प्रवृत्तिका व्यक्तिहरूले पार्टी संगठनमा आवद्धहरूलाई सामाजिक सञ्जालमा बढि ‘झोले’ देख्न थाले । यति बेला यो शब्द खराबरूपमा चित्रण हुन थालेको छ ।
राजनीतिक सन्दर्भमा ‘झोले’ को अर्थ
राजनीतिक सन्दर्भमा ‘झोले’ भन्नाले यस्तो कार्यकर्तालाई जनाइन्छ जसले आफ्नो दल वा नेताप्रति अत्यधिक समर्पण देखाउँछ । यस्ता कार्यकर्ताले पार्टीका आदेशलाई विनाप्रश्न पालन गर्छन्, नेताका भनाइलाई अन्तिम सत्य मान्छन्, र पार्टीविरोधी भनाइलाई सह्य गर्दैनन् । यसो हुँदा ‘झोले’ शब्द दुई धारको बनेको छ-
एकातिर, यसले निःस्वार्थ कार्यकर्ता, पार्टीप्रति निष्ठावान, लामो समयदेखि काम गरिरहेका घामपानी नभनी खट्ने व्यक्तिलाई जनाउँछ ।
अर्कोतिर, यसले अन्धभक्त, तर्क विहीन पक्षपाती, नेताको चाकरी गर्नेको रुपमा उजागार भइरहेको छ ।
व्यंग्यात्मक प्रयोग र आलोचना
अक्सर ‘झोले’ भन्ने शब्द आलोचनात्मक वा व्यंग्यात्मक सन्दर्भमा प्रयोग हुने गर्छ । राजनीतिक बहसमा, कसैको तर्कलाई अवैज्ञानिक, अन्ध-समर्थन भनिँदा ‘तपाईं झोले हुनुहुन्छ’ भन्ने आरोप लाग्छ ।
जस्तैः
‘झोलेहरू त यिनले जे गरे पनि ठिकै भन्छन् ।’
‘पार्टीको झोला बोकेर नेताको पछि लाग्दैमा देश बन्दैन ।’
यस किसिमको प्रयोगले ‘झोले’ शब्दलाई अपमानजनक बन्दै लगेको छ ।
यता २०७९ सालको स्थानीय तहको निर्वाचनमा धरानमा हर्क साम्पाङले मेयर जितेपछि धरानका पत्रकारहरुलाई होच्याउँदै ‘स्वतन्त्र पत्रकार मेरो कार्यालयमा आउनु, ‘झोले’ पत्रकारहरू नआउनु’ भनेर उर्दी जारी गरे । उनको उर्दीपछि मेयरको कुनै समाचार विपक्षमा आयो भने उनका अन्धभक्त समर्थकहरूले ‘पार्टीका झोले पत्रकारहरू’ भनेर सामाजिक सञ्जालमा गाली गर्न थाले । यो क्रम अहिले पनि निरन्तर छ ।
एमालेको ‘म झोले हु’ अभियान र ऐतिहासिक सन्दर्भ
यति बेला नेकपा एमालेले ‘म झोले हुँ’ भन्ने अभियान चलाएर यो शब्दको पुनः मूल्याङ्कन गर्न खोजेको देखिन्छ । यसमार्फत ‘झोले’ शब्दको ऐतिहासिक योगदानलाई स्मरण गर्ने र त्यसलाई गर्वको प्रतीक बनाउने प्रयास गरिएको छ । यो अभियान प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेर सुरूवात गरे ।
उनले लेखेका छन्- ‘एउटा सामान्ती समाजको दास बन्नु भन्दा देशमा परिर्वतन र विकासको झोला बोकेर हिड्नु उत्तम चरित्र हो ।’ यसलाई अरु नेता र कार्यकर्ताले पनि विभिन्न तर्कसहित पछ्याइरहेका छ्न् ।
‘झोले’ शब्दको उत्पत्ति राजनीतिक आन्दोलन र समर्पणको संस्कारबाट भएको हो । यद्यपि समयसँगै यसको अर्थहरू फरक-फरक रूपमा प्रयोग हुन थाले- सुरुमाः सिद्धान्तप्रति समर्पित कार्यकर्ता र पछिः व्यंग्यात्मक अर्थमा चाकरीबाज कार्यकर्ता र अहिले फेरि आन्दोलनका जरा-कार्यकर्ता भनेर पुनः गर्वको प्रतीक बनाउने प्रयास भएको छ । यसको इतिहास नेपाली राजनीतिक आन्दोलनकै एउटा चित्र हो- जसले संघर्ष, आलोचना र पुनः मूल्याङ्कन सबै समेट्छ ।
सामाजिक सञ्जालमा निकै ‘गनाएको’ नेपालका राजनीतिक पार्टी लक्षित आलोचनात्मक शब्दलाई नेकपा एमालेले राजनीतिक ‘आइडेन्टिटी’ को सशक्त रूप स्थापित गर्न खोजी रहेको छ । भूमिगत रूपमा जुन हिसाबले ‘झोले’ शब्दलाई ग्रहण गरिएको थियो त्यही साख पर्काउन एमालेको अभियान आएको भनी आम नागरिकले बुझ्दा उचित होला ।

Leave a Reply