काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् स्वयंसेवक तथा विपद् सूचकहरूको सञ्जालमार्फत विपद्को पूर्वजानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने बताएका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफर्मको आठौं सत्रलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपद् व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए ।
समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत भौगोलिक तथा विपदजन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने भएकोले सशस्त्र प्रहरीले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।
यस प्रकारको सञ्जाल र सामुदायिक साझेदारीले विपद्को पूर्वतयारी, व्यवस्थापन, उद्धार र राहतमा समेत स्थानीय समुदाय र सुरक्षाकर्मीबीचमा समन्वय हुने भएकोले यो कार्य विपद्सँग जुध्नको लागि उपयोगी र प्रभावकारी हुनेमा जोड दिँदै महानिरीक्षक अर्यालले अन्तर निकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान–प्रदान, युवा तथा समुदायलाई अग्रपंक्तिमा राखेर विपद्को सामना गर्न सकिने भएकोले जलवायु परिवर्तनको संवेदनशीलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा संवाद मार्फत विश्व संवादको थालनी गरेको बताए ।
सम्बोधनको क्रममा उनले नेपाल प्राकृतिक विपद्हरुको अग्रपंक्तिमा रहेकोले यस्ता प्रकारका चुनौती सामना गर्न र विपद् जोखिम न्यूनीकरण गर्न दृढ प्रतिबद्ध रहेको बताए ।
विश्वभरिका विपद्सँग सम्बन्धित देशको सहभागिता रहेको कार्यक्रममा महानिरीक्षक अर्यालले विपद्को सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले यसमा विश्व समुदायको सामूहिक प्रयास अन्तर निकाय समन्वय हुनुपर्नेमा जोड दिए ।

Leave a Reply