रुपन्देही । रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौंमा सरुवा गर्ने तयारी गरिएको छ । रविकै इच्छाअनुसार उनलाई काठमाडौंको डिल्लीबजार कारागारमा राख्ने गरी प्रक्रिया थालिएको हो ।
सहकारी ठगीको आरोपमा जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटी माग गरेको आदेश उच्च अदालतले चैत २२ मा उल्ट्याएपछि सोही दिन काठमाडौंबाट पक्राउ परेका रवि वैशाख २५ गतेदेखि रुपन्देही कारागारमा छन् । उनले उच्चको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गरे पनि सफल हुन सकेनन् । सर्वोच्चले उच्चकै आदेश सदर गरिदिएको छ ।
अब मुद्दा नटुंगिँदासम्म थुनामै बस्नुपर्ने भएपछि रवि काठमाडौं जान चाहेका हुन् । पार्टीका नेतादेखि परिवार र आफन्तसँग भेटघाटमा असहजता भएपछि उनले कारागार सरुवाका लागि निवेदन दिएका थिए । कैदीबन्दीले आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने कानूनी अधिकार राख्ने भएपनि यसको निर्णय भने कारागार प्रशासनले नै गर्ने गर्दछ ।
स्रोतका अनुसार रविलाई पक्राउ गरिए ल्याइएपछि यहीँ बस्ने कि अन्यत्र बस्ने भनेर सोधिएको थियो । त्यसबेला रविले रुपन्देहीमै बस्ने बताएका थिए । उच्च अदालतको आदेश सर्वोच्चले उल्टाउने आशा उनलाई थियो । तर, सर्वोच्चले पनि निराश पारेपछि उनी काठमाडौंकै कारागार बस्ने मनस्थितिमा पुगेका हुन् ।
रविलाई सार्ने विषयमा कारागार व्यवस्थापनले कुनै निर्णय गरिसकेको छैन । रुपन्देही कारागार प्रशासनले यसबारे औपचारिक निर्णय नभएको बतायो ।
‘विभागले निर्णय गरेर पठाएपछि मात्रै कहाँ पठाउने भन्ने टुंगो लाग्ने हो । उहाँको चाहनाअनुसार कुरा अघि बढेर छलफल भएको हुनसक्छ’, रूपन्देही कारागार प्रशासक सुरेश भण्डारीले नेपाल प्रेससँग भने ।
रवि निकट स्रोतले हिजो अस्तिकै दिन कारवाही भइसक्नुपर्ने भए पनि ढिलाइ भइरहेको बतायो ।
स्रोतले भन्यो, ‘अस्ति नै निवेदन दिनुभएको हो । अहिलेसम्म सरुवा भइसक्नुपर्ने थियो । हामीले कारागार व्यवस्थापन विभागमा बुझ्दा गृहमन्त्रीलाई सोधिएको भन्ने थाहा पाएका छौं । गृहमन्त्रीले प्रधानमन्त्रीलाई सोध्ने होला । सामान्य कानुनी प्रक्रियाबाट हुने कामलाई पनि राजनीतिक तहमा पुर्याउनु स्वभाविक होइन ।’

Leave a Reply