काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रमजालबाट मुक्त भएर सुध्रिन आग्रह गरेका छन् । आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो माओवादी युद्धकालको जस्तो समय अब नरहेको बताए ।
हिजो राजावादी र वाईसीएलबीच भएको घम्साघम्सीबारे उनले भने, ‘वाईसीएलका भाइहरू भ्रममा हुनुहुन्छ, उहाँहरूले भन्ने गरेको जनयुद्धताकाको समय अब छैन। अब त्यो भ्रममा नरहन आग्रह गर्छु । भ्रमबाट मुक्त हुनुस् ।’
उनले जनता सचेत भइसकेको भन्दै हिजोजस्तो दबाएर राख्न सकिन्छ भन्ने नसोच्न प्रचण्डलाई सुझाव दिए ।
लिङदेनले भने, ‘जनयुद्धको बेलाजस्तो तपाईँको समय छैन । जनता जागरूक भइसकेका छन्, तपाईँको भ्रमजालबाट मानिसहरू मुक्त भइसकेको अवस्था छ । हिजोको जस्तै मान्छेलाई तर्साएर मुनि राख्न सकिन्छ भन्नेबाट अलग हुनुस् र सुध्रिनुस् । कुनै व्यक्तिको विरुद्ध होइन, गणतन्त्रको नाममा लुटतन्त्रको विरुद्ध लडिरहेका छौँ । त्यसमा जो अगाडि आउँछ त्यसको जनताले प्रतिवाद गर्छन् ।’
उनले भ्रष्ट र भ्रष्टतन्त्रविरूद्ध जीवनभर लडिरहने भन्दै भ्रष्टहरूलाई खोरमा नहाली विश्राम नलिने बताए ।

Leave a Reply