काठमाडौं । सरकारले ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यस्तो व्यवस्था गर्दै ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरेका हुन् ।
बजेट वक्तव्यमा भनिएको छ, ‘आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिनेछ । दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गरिनेछ । डिजिटल, मोबाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गरिनेछ ।’
अर्थमन्त्री पौडेलले नयाँ शब्द प्रयोग गर्दै ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरे । अर्थमन्त्रीले गरेको यस्तो घोषणापछि धेरैलाई ‘नियो बैंक’ भनेको कस्तो हो भन्ने जिज्ञासा जागेको पाइन्छ ।
सरकारले स्थापना गर्ने भनेको ‘नियो बैंक’ भने नाममात्रै नयाँ हो । यस अघिका सरकारहरूले डिजिटल बैंक स्थापना गर्ने घोषणा गर्दै आएका थिए, तर यस वर्षको बजेटले त्यही डिजिटल बैंकलाई ‘नियो बैंक’ भन्ने नयाँ नाम दिएको हो ।
यसअघिका सरकारले पनि बजेटमार्फत पटकपटक ‘नियो बैंक’ जस्तै डिजिटल बैंक स्थापना गर्ने घोषणा गरिसकेको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत पूर्ण डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको थियो । सोही कुरा आव २०८१/८२ को बजेटमा पनि उल्लेख गरिएको थियो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि डिजिटल बैंक स्थापना गरिने भनिएको छ । संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भनिएको छ, ‘सूचना प्रविधि पूर्वाधार विस्तार गरेर डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ । नीतिगत तथा कानूनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ ।’
तर त्यसको एक महिनापछि ल्याइएको बजेटमा भने ‘नियो बैंक’ स्थापना गर्ने भनियो । बजेटले ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरे पनि यो डिजिटल बैंक नै रहेको नेपाल राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारी सुमन नेउपानेले स्पष्ट पारे ।
उनले नेपालप्रेससँग भने, ‘नाम जुन भए पनि काम डिजिटल रूपमा नै गर्ने हो । अघिल्ला वर्षहरूमा डिजिटल बैंक स्थापना गर्ने भन्नु र अहिले नियो बैंक स्थापना गर्ने भन्नु एउटै हो ।’
उनका अनुसार डिजिटल बैंकले विद्युतीय माध्यमबाट सबै बैंकिङ सेवा उपलब्ध गराउँछ । ‘नियो बैंक’ पूर्ण रूपमा डिजिटल हुनेछ । यस बैंकमार्फत सेवाग्राहीहरूले घरमै बसेर सेवा लिन सक्छन् । बैंकसँग सम्बन्धित कामका लागि उनीहरू बैंकसम्म जानुपर्दैन । ‘नियो बैंक’ भौतिक शाखाविहीन, मोबाइल एप वा वेबसाइटमार्फत डिजिटल वित्तीय सेवा दिने संस्था हुनेछ ।
यस्तो बैंकले ग्राहकलाई छिटोछरितो र सहज तरिकाले सेवा दिने उनले जानकारी दिए । उनका अनुसार नियो बैंकमार्फत २४ सै घण्टा यस्तो सेवा पाइन्छ । यस्तो सेवा सहजै प्राप्त गर्न सकिन्छ । यसको प्रयोग पनि सेवाग्राहीहरूले कम खर्चमै प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
नियो बैंक कस्तो र कहिलेसम्म स्थापना गर्ने भन्नेबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको सूचना अधिकारी नेउपानेले बताए ।
‘कहिले स्थापना गर्ने, कस्तो हुन्छ र कसरी सेवा दिने भन्नेबारे विस्तृत अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘यस्ता बैंकहरू कसरी सञ्चालन भइरहेका छन् भन्नेबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अगाडि बढ्नेछौँ ।’
सरकारले डिजिटल बैंक स्थापनाको बाटो खोल्ने गरी विधेयक बनाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्दै डिजिटल बैंक खोल्ने बाटो दिने तयारी गरिएको हो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकले डिजिटल बैंक स्थापनासम्बन्धी व्यवस्था गरेको हो । यस विधेयकले मूल ऐनको दफा ४९ ‘क’ थप गरी डिजिटल बैंकले बैंकिङ तथा वित्तीय कारोबार गर्नसक्ने व्यवस्था गरेको हो, जहाँ भनिएको छ- ‘यो ऐन, अन्य प्रचलित कानून, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, सर्त वा निर्देशनको अधिनमा रही डिजिटल बैंकले राष्ट्र बैंकले तोकेबमोजिमको निक्षेप लिने, कर्जा प्रवाह गर्नेसमेतका बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्नेछ ।’
यो संशोधित विधेयक प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा दफाबार छलफलको क्रममा रहेको छ । यो विधेयक पारित भए डिजिटल बैंक अर्थात् सरकारले घोषणा गरेको ‘नियो बैंक’ स्थापना गर्ने बाटो खुल्नेछ ।
सरकारले स्थापना गर्ने भनेको ‘नियो बैंक’ जस्तै बैंक यसअघि नै नबिल बैंकले सञ्चालनमा ल्याइसकेको छ । नबिल बैंकले सम्पूर्ण काम मोबाइलबाट नै गर्न मिल्नेगरी एन बैंक (नियो बैंक) सञ्चालन गरिरहेको छ । नबिल बैंकले यसमार्फत डिजिटल बैंकिङको नेतृत्व गरिरहेको छ ।
यसबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि आफ्नो सेवालाई डिजिटलतर्फ केन्द्रित गरिरहेका छन् । नेपालका बैंकिङ क्षेत्रले आममानिसलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्दै आएका छन् । उनीहरूले आफ्ना सेवाहरू डिजिटल बनाउँदै लगेका छन् ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनबाटै खाता खोल्नेदेखि अनलाइनबाटै ऋण लिन सकिनेलगायतका सेवाहरू प्रवाह गर्दै बैंकिङ क्षेत्रले डिजिटल कारोबारमा अभ्यस्त गराउँदै आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ७० लाख १२ हजार नाघिसकेको छ । यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू २१ लाख ७३ हजार पुगिसकेका छन् ।
ई-सेवा, खल्ती, आईएमई पे, प्रभु पे, सेल पेलगायतका वालेटहरूले डिजिटल कारोबारमा रणनीतिक ढंगले काम गरिरहेका छन् । चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा वालेट प्रयोगकर्ताको सङ्ख्या २ करोड ६२ लाख ७ हजार नाघिसकेको छ । यसका साथै कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या १४ लाख हाराहारी पुगेको छ ।
नगदरहित कारोबारको सीमा र दायरा फराकिलो बन्दै गर्दा डिजिटल कारोबार निरन्तर बढ्दो छ । रिचार्ज गर्नेदेखि, बिजुली, पानी, इन्टरनेट, टीभी र हवाई टिकटलगायतको शुल्क भुक्तानी गर्न डिजिटल माध्यम रोज्नु अहिले सामान्य भइसकेको छ । भुक्तानीका लागि डिजिटल माध्यम रोज्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Leave a Reply