सरकारसँग सहमति भइसकेको अवस्थामा यातायात बन्द गर्न अनुचित : मन्त्री दाहाल (भिडिओ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानूनमार्फत व्यवस्थित गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन् ।

यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको भन्दै उनले राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको बताए । मन्त्री दाहालले सरकारसँग आफ्ना कुराहरू राख्दै जिम्मेवार भएर अघि बढ्न यातयात व्यवसायीलाई आग्रह गरे ।

बैठकमा समिति सदस्यहरुले सिण्डिकेटलाई प्रोत्साहन गर्ने गरी कुनै सहमति नगर्न सरकारको ध्यानाकर्षण गराए । समिति सदस्य प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच भएको सहमति सिण्डिकेटलाई ब्यूँताउने गरी भएको भन्दै आपत्ति जनाउनुभयो । राइड सेयरिङका विषयमा गण्डकी प्रदेशले गरेको निर्णय सही भएकाले यसलाई अन्य प्रदेशमा पनि अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै समिति सदस्य माधव सापकोटाले यातायात व्यवसायीसँग भएको सम्झौताप्रति अन्यौल देखिएकाले सरकारले प्रष्टता साथ सहमतिको जानकारी गराउनुपर्ने बताए । समिति सदस्य दयालबहादुर शाहीले यातायात व्यवसायीको सरकार डराउन नहुने भन्दै नाजायज माग सम्बोधन गर्न नहुने तर्क गरे ।

अन्य सदस्यहरूले यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गर्दा सर्वसाधारणलाई सास्ती भएकाले छिटो निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *