काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गरेपछि सात वर्षअघिको गीत ‘भिजिट भिसामा’ पुनः चर्चामा आएको छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह लगायत कलाकारले अभिनय गरेको ‘दाल भात तरकारी’ चलचित्रको यो गीत पुनः चर्चामा आएको हो ।
युट्युबमा चार करोड भ्युज पाइसकेको यो गीतमा ‘भिजिट भिसा प्रकरणपछि’ सयौं संख्यामा नयाँ कमेन्टहरु थपिएका छन् । सबैले पछिल्लो राजनीतिक घटनाक्रमलाई जोडेर कमेन्टहरु गरिरहेका छन् ।
गीत पुन चर्चामा आएपछि कस्तो लाग्यो ? भनेर हामीले ‘दालभात तरकारी’का निर्देशक सुदन केसीलाई सोध्यौं । उनको सीधा जवाफ थियो, ‘यो गीत त्यतिवेलै सान्दर्भिक थियो । अहिले झनै सान्दर्भिक भयो । सिंगो सिस्टम नसुध्रिएसम्म यो गीत सान्दर्भिक नै भइरहन्छ ।’
सन् २०१८ को कुरा हो, सुदन केसी, किरण केसी, महजोडीहरु नयाँ चलचित्रको तयारीमा थिए । गीतहरु अरु नै थिए । चलचित्रको स्क्रिप्ट पुनर्लेखन गर्न तथा छाँटकाँट गर्नलाई निर्देशक सुदनलाई हरिवंशले सिंगो स्क्रिप्ट दिए ।
चलचित्रमा नक्कली दलाल बाबाले पात्र रामहरिलाई भिजिट भिसामा गायक बनाएर विदेश लैजाने कथा थियो । नक्कली बाबाले एम्बेसीले सोधेमा सांस्कृतिक कार्यक्रमको लागि विदेश जान लागेको भने भन्नु भनेर पेनड्राइभमा गीत हालेर दिन्छन् । त्यो गीत चाहिँ यही भिजिट भिसामा हुन्छ ।
हरिवंशले स्क्रिप्ट पढ्दै जाँदा ३०/३५ मिनेटपछि धेरै कलाकार चाहिने दृश्य थियो । त्यस्तो नभए मोन्टाज खेलाउनलाई गीत चाहिने भयो । हरिवंश अमेरिका गएका थिए छोरो भेट्नलाई । नेपालमा सुदनले स्क्रिप्टमा काम गरिरहेका थिए ।
‘राति १२ बजे उहाँले मलाई म्यासेन्जरमा फोन गरेर यो गीत सुनाउनुभयो । शब्द यही नै थियो,’ सुदन सुनाउँछन्, ‘त्यसपछि हरिवंश अंकल अमेरिकाबाट फर्कनुभयो । शम्भुजित बाँसकोटालाई शब्द दियौं । दुई तीन दिनमै उहाँले ट्युन बनाउनुभयो ।’
हरिवंश र शम्भुजितको सहकार्यले धेरै अघि नै राष्ट्रिय पुरस्कार जितिसकेको थियो । ‘जे भो राम्रै भो’ चलचित्रको ‘तिम्रो माया कति छ कति छ’ बोलको गीतबाट हरिवंशले उत्कृष्ट गीतकार तथा शम्भुजितले उत्कृष्ट संगीतकारको अवार्ड जितिसकेका थिए । उक्त अवार्ड चलचित्र विकास बोर्डले दिएको थियो ।
गीत तयार भएपछि सुदन गीतको सुटमा लागे । एयरपोर्ट, हायात रिजेन्सीको ग्राउण्ड र नागपोखरीको शहीद पार्कमा गीतको सुट भयो । यसरी प्रमोसनल गीत मात्रै बनाउने भनेर काम गर्दा ‘भिजिट भिसामा’ चलचित्रको सिक्वेन्समै अटाएको थियो ।
गीतको सान्दर्भिकताबारे सुदन सुनाउँछन्, ‘चलचित्रको कथा काल्पनिक रुपमा लेखे पछि कतै न कतै वास्तविक जीवनबाट प्रभावित भएरै लेखिएको हुन्छ । यो गीत र चलचित्र पनि वास्तविक जीवनबाट प्राभावित भएरै बनाइएको सृजना थियो ।’
निर्देशक सुदनको यो चलचित्र डेब्यु निर्देशन हो ।

Leave a Reply