सदन बस्नुअघि प्रचण्डले राखे विपक्षी दलको बैठक, राप्रपालाई बोलाइएन

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका विपक्षी दलको बैठक अहिले बसिरहेको छ ।

प्रतिपक्षी प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको प्रचण्ड सचिवालयले जनाएको छ ।

बैठकमा राप्रपालाई बोलाइएको छैन । आज प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि थप रणनीति बनाउन विपक्षी एकजुट भएका हुन् ।

हिजो यसबारे छलफल गर्नको लागि प्रचण्डसँग प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल गरेका थिए । तर, विपक्षी प्रमुख प्रतिपक्षी नेता प्रचण्डले अडान छाडेनन् ।

बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, नेकपा एसबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपाबाट महेन्द्रराय यादवलगायत सहभागी छन् ।

बैठकमा संसदको पाँचौ ठूलो दल राप्रपालाई बोलाइएको छैन । संविधान र गणतन्त्र पक्षधर संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक भएकाले राप्रपालाई नबोलाइएको प्रचण्ड सचिवालयले जनाएको छ ।

राजा फर्काउने अभियानमा राप्रपा सडकमा निस्किएदेखि राप्रपालाई विपक्षी दलको बैठकमा बोलाउन छाडिएको छ । यद्यपि, राप्रपा पनि गृहमन्त्रीको राजीनामाको पक्षमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *