सुर्खेत । नेपाल क्रिकेट संघका पूर्ववरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम (टीबी) शाहको स्मृतिमा पहिलो पटक आयोजना गरिएको १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सोमबार सुरु भएको छ । उद्घाटन खेलमा कोशी र मधेश प्रदेशले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेका छन् ।
वीरेन्द्रनगर रंगशालामा भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्यो । कालुचोक मैदानमा मधेशले घरेलु टोली कर्णालीलाई ९२ रनले हराउँदै ३ अंक जोड्यो ।
टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङमा पूर्ण नियन्त्रण राख्दै सुदूरपश्चिमलाई १८ ओभर ३ बलमा १०१ रनमै समेट्न सफल भयो । सुदूरका लागि अविरल विकले २२ बलमा ४ चौकासहित २८ रन र विक्रम बोहोराले ३० बलमा २० रन बनाए । बाँकी ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन् ।
कोशीका लागि राजीव महतोले ५ ओभर ३ बलमा २१ रन खर्चिएर ५ विकेट लिँदै खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । महतोले २ ओभर मेडन राख्दै २३ बल डट गराए । हरेराम सिंहले ३ र सुयोग भट्टराईले १ विकेट लिए ।
१०२ रनको लक्ष्य पछ्याएको कोशीका लागि शिवांश बजगाईंले २६ बलमा ६ चौकासहित ३४ रन बनाए । राजीव महतोले नटआउट ३० रन जोडेर टीमको जित पक्का गरे ।
कालुचोक मैदानमा मधेशले कर्णालीलाई हराउँदै प्रतियोगिताको दोस्रो खेलमा ९२ रनको फराकिलो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४७ ओभरमा सबै विकेट गुमाउँदै २१४ रनको लक्ष्य प्रस्तुत गर्यो ।
मधेशका कप्तान परिमर्जन यादवले २५ बलमा २६ रन बनाउँदै टीमलाई तीव्र सुरुवात दिलाए । सलमान अली मनसुरीले सर्वाधिक ४२, सन्तु मण्डलले २८, रोहन यादव र अभय यादवले समान २०-२० रनको योगदान दिए ।
कर्णालीका कप्तान विपीनप्रसाद शर्माले १० ओभरमा ७ मेडन राख्दै २ विकेट लिएर सानदार प्रदर्शन गरे । कैलाश खड्का, विजय बोहरा र निश्चल हमालले समान २-२ विकेट लिए पनि मधेशलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन्।
२१५ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीका ओपनर कौस्तुभ खड्काले ३१ बलमा २५ रन बनाए, तर अन्य ब्याटरहरू क्रमशः धराशायी भइरहँदा टोली २५ ओभर ४ बलमै १२२ रनमा अलआउट भयो। विजय बोहरा र विजय शाहीले क्रमशः १५ र १९ रनको योगदान दिए।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजना, प्रदेश क्रिकेट संघको सहआयोजना र जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको हो।

Leave a Reply