‘ऊनको स्वेटर’ हेरेपछि तुलसी घिमिरे : निर्देशकलाई सुटुक्कै भनेँ, आरिस लाग्यो 

काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले ‘ऊनको स्वेटर’ हेरेपछि निर्देशकको काम आरिसलाग्दो भएको बताएका छन् । उनले भने, ‘चलचित्र हेरेर बाहिर निस्केपछि सबैभन्दा पहिला निर्देशकलाई भेटेँ, अनि सुटुक्क भनेँ, ‘आरिस लाग्यो ।’
त्यस्तै घिमिरेसँगै चलचित्र हेरेर वरिष्ठ संगीतकार रञ्जित गजमेरले पनि चलचित्रको गीत र ब्याकग्राउण्ड म्युजिक शानदार लागेको प्रतिक्रिया दिएका छन् ।
पाँचौं हप्तामा चलिरहेको ‘ऊनको स्वटेर’ शैलीको प्रस्तुतिले नेपाली चलचित्र क्षेत्रलाई दह्रिलो दिशा दिने निर्देशक घिमिरेले बताए ।
‘ऊनको स्वेटरमा धेरै कुरा हुन्छन् । आजकल त ऊनको स्वेटर बुन्ने मेसिन हुन्छ । पहिला दुई काँटाले बुनिन्थ्यो । त्यो बुनिँदै गरेको स्वेटरमा धेरै सोचहरु मिसिएको हुन्थ्यो । स्वेटरसँग बात मार्दै बुनिन्थ्यो,’ घिमिरेले संक्षिप्तमा भने, ‘यो चलचित्र ऊनको स्वेटर बुन्दा पनि समय लागेको छ । फरक ठाउँ छ, फरक सिजन छ । सांस्कृतिक रुपमा समृद्ध चलचित्र बनेको छ ।’
नवीन चौहान निर्देशित ‘ऊनको स्वेटर’ २०८२ सालको पहिलो हिट चलचित्र हो । मल्टिप्लेक्स चेन क्युएफएक्सले भने यस चलचित्रलाई सुपरहिटको ट्याग दिइसकेको छ । अहिलेसम्म चलचित्रले १० करोड माथि ग्रस कलेक्सन गरिसकेको निर्माताको दाबी छ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु लगायत कलाकारको अभिनय छ । चलचित्र गत वैशाख २६ गतेबाट प्रदर्शनमा आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *