अपाङ्गता भएका विद्यार्थीको पीडा: न विद्यालय जान सक्छन्, न त शिक्षकले नै आऊ भन्न सक्छन्

चितवन । प्रशान्त सुनुवार १२ वर्षका भए । उनको घर सुनसरीको बराहक्षेत्र नगरपालिका- २ चतरामा पर्छ, तर प्रशान्तको परिवार भरतपुर महानगरपालिका- १६ मा डेरा गरी बसेको छ । उनीहरू चितवन बस्न थालेको ७ वर्ष भयो ।

प्रशान्त परिवारका जेठो छोरा हुन् । उनका ४ वर्ष र साढे २ वर्षका दुई भाइ छन् । प्रशान्तका माइलो भाइ अनमोल डेराबाट करिब २०० मिटर दुरीमा रहेको आधारभूत विद्यालय ब्रम्हपुरमा पढ्न जान थालेको दुई वर्ष भयो । साढे २ वर्षको कान्छो भाइसमेत पढ्न जान थालिसके । प्रशान्तको भने यस वर्षमात्रै विद्यालयको हाजिरी रजिस्टरमा नाम चढेको छ ।

नेपालको संविधानले शिक्षाको हकलाई संवैधानिक हकको रूपमा व्याख्या गरेको छ । यस देशभित्र जन्मिने हरेक बालबालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षा दिने संवैधानिक व्यवस्था नै छ । नेपालमा सामान्यतया ६ वर्षको उमेरदेखि विद्यालय उमेर समूहमा बालबालिकाको गणना गर्ने गरिन्छ ।

प्रशान्त भने विद्यालय उमेर सुरु भएको ६ वर्षसम्म विद्यालय बाहिर रहे । अहिले विद्यालयमा उनको नाम लेखिएको छ, तर पढ्न जान भने सकेका छैनन् ।

प्रशान्त शारीरिक अपाङ्गता (मस्तिष्क पक्षघात) भएका बालक हुन् । उनी राम्रोसँग बोल्न सक्दैनन्, तर सञ्चार गर्न सक्छन् । बौद्धिक रूपमा स्वस्थ छन् । हिँड्न सहाराविना सक्दैनन् । कसैको सहारा भयो भने विस्तारैविस्तारै पाइला चाल्न सक्छन् । उनको दाहिने खुट्टा र दाहिने हातले भर पाउँदैन । मुन्टो पनि ९ महिनापछि मात्रै आफैं धान्ने भएका हुन् उनी ।

प्रशान्त सुनुवार ।

उनका बुबाआमा लालबहादुर र चन्द्रा सुनुवारले उपचार गर्न न्यूरो अस्पताल काठमाडौंसम्म पुर्‍याएका थिए । टाउकोको नशा च्यापिएर जन्मजात अपाङ्गता भएको र ढिलो विकास हुन्छ भनेर डाक्टरले पठाइदिए ।

मजदुरी गरेर परिवारको जीवन निर्वाह गर्ने सुनुवार दम्पतीले छोरालाई कहाँ कसरी उपचार वा थेरापी गर्ने मेसो पाएनन् । प्रशान्त पाँच वर्षको हुँदा सहज जीवन हुनसक्ला भनेर चितवन लिएर आए । यहाँ आएपछि बोरा बनाउने उद्योगमा मजदुरी गर्न थाले । सात वर्षमा दुई सन्तान जन्मिए ।

चितवन आएपछि पनि उनी दिनभर घरै हुन्थे । आमाबुबा मजदुरी गर्ने नजिकै डेरा छ । उनलाई हेर्न आमा आइरहन्थिन्, तर दिउँसोको समयमा उनलाई विद्यालय पठाउन सकेनन् । आफ्नो बसाइ विद्यालय क्षेत्रमा पर्ने भए पनि न उनीहरूलाई विद्यालयले खोज्यो, न त प्रशान्तको परिवारले अपाङ्गता भएको छोरा पनि पढ्न जान सक्छ भन्ने नै बुझे ।

घरमै बसिरहेको अवस्थामा चितवनमा अटिजम भएका बालबालिकाको अधिकारमा काम गरिरहेको अटिजम केयर चितवन सोसाइटीका प्रतिनिधिले दुई वर्षअघि प्रशान्तलाई भेटेपछि उनको अवस्थामा सुधार हुन थालेको छ ।

चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकासँग सम्झौता गरेर अपाङ्गता भएका बालबालिकालाई विद्यालय शिक्षामा समावेश गराउने र विद्यालयसँग जोड्ने गरी अटिजम भएका बालबालिकाका अभिभावकको संस्था अटिजम केयर चितवन सोसाइटीले समावेशी शिक्षा परियोजना सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा प्रशान्त समेटिएपछि उनीहरूले घरमा आधारित शिक्षाअन्तर्गत हप्ताको दुई दिने थेरापी गर्ने, घुम्ती शिक्षक घर पुगेर पढाउने र सञ्चार गर्न सिकाउन थाले । हुन त अघिल्लो वर्ष उनको घर नजिकैको विद्यालय आधारभूत विद्यालय ब्रह्मपुरकी शिक्षक सुष्मा रिजाल पुडासैनीले परियोजनाको सहयोगमा तीन महिना घरमै गएर सिकाएकी पनि थिइन्, तर त्यतिबेला उनलाई विद्यालय ल्याउन सम्भव भएन ।

अझ केही महिना अघिसम्म त प्रशान्त विद्यालय जाने भनेपछि रुन थालिहाल्थे । आमा चन्द्राले केही गाली गर्नुपर्‍यो भने प्रशान्तलाई ‘पख स्कुल पठाइदिन्छु’ भन्थिन् ।

‘त्यसपछि प्रशान्त रुन थालिहाल्ने । गल्ती गरेको छ भने पनि छोड्थ्यो’, आमा चन्द्राले भनिन् । चन्द्राका अनुसार बौद्धिक रूपमा स्वस्थ प्रशान्त भनेको कुरा राम्रोसँग बुझ्छन् । विद्यालयमा जाँदा अरु साथीहरूले आफूलाई गिज्याउँछन्, जिस्क्याउँछन् भन्ने डर चाहिँ मान्ने गरेको चन्द्रा बताउँछिन् ।

अहिले प्रशान्तका परिवारले उनलाई विद्यालय पठाउनुपर्छ भन्ने बुझे । आमा चन्द्राले पढ्न जाँदा कक्षामा सबैले माया गर्छ भनेर बुझाएकी छन् । प्रशान्तलाई घरमा आधारित शिक्षाअन्तर्गत पढाउन जाने शिक्षक विष्णु सिग्देलका अनुसार विद्यालयमा भर्ना भए पनि प्रशान्त विद्यालय भने जाँदैनन् ।

उनमा सिकाइको क्षमता भए पनि दिसापिसाब गर्न शौचालय जाने र आफैं धुनमा कठिनाइ छ । त्यतिमात्रै होइन, दुरी छोटो भए पनि प्रशान्त हिँड्न सक्दैनन् । उसको हिँडाइमा सुधार ल्याउन हिँड्ने अभ्यास धेरै गराउनुपर्ने हुन्छ ।

प्रशान्तका बुबाआमा मजदुरी गर्ने भएकाले दिनभर उनलाई समय दिन पनि भ्याउँदैनन्, तर केही समय घरमै बसेर सिकाउने त्यसपछि मात्रै प्रशान्तलाई विद्यालय ल्याउन सकिने अवस्था रहेको शिक्षक सुष्मा बताउँछिन् । त्यसैले विद्यालयमा भर्ना भएर पनि प्रशान्तले विद्यालय जान पाएका छैनन् । उनलाई विद्यालय पुग्नै सकस भएको छ ।

प्रधानाध्यापक नै भन्छन्- पढाउन अहिले नल्याउनु

भरतपुर महानगरपालिकाले १० वर्षे शिक्षा योजना बनाएको छ । योजनाले महत्वका साथ समावेशी शिक्षा भन्ने एउटा बुँदा पनि समावेश गरेको छ । जसले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचबाट बाहिर रहन नदिन विभिन्न कार्यक्रम गर्ने कार्यनीतिसहित संघ र प्रदेशसँगको समन्वयमा विभिन्न ८ वटा कार्यक्रम गर्ने उल्लेख छ ।

तर भरतपुर महानगरमा रहेका विद्यालयहरूमा पढ्ने अपाङ्गता भएका बालबालिका विद्यालयको भौतिक संरचनाकै कारण पनि विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ । तिनैमध्येका एक हुन् भरतपुर- २८ का एनोश कुमाल ।

आधारभूत विद्यालय सिसाबासको विद्यालय क्षेत्रमा उनको घर छ । एनोशको घरको करिब एक किलोमिटर दुरीमा विद्यालय पर्छ, तर यस वर्षको भर्ना अभियानमा उनको घरमा विद्यालयका शिक्षक पुगेनन् । आमा शर्मिला कुमाल छोरालाई पढाउनुपर्छ भन्नेमा सचेत छिन् । त्यसैले आफू नै गएर ८ वर्षका छोरा एनोशलाई भर्ना गरिदिन अनुरोध गरिन् ।

विद्यालयले उनको अनुरोध स्वीकार त गर्‍यो, तर पढ्न पठाइदिनुस् भन्न सकेको छैन । विद्यालयमा न पहुँचयुक्त संरचना छ न त जनशक्ति नै । विद्यालयका प्रधानाध्यापक उमेश आचार्य भौतिक पूर्वाधार र जनशक्ति अभावका कारणले विद्यालयमा एनोश ल्याइदिनुस् भन्न नसकेको बताउँछन् ।

एनोश कुमाल पनि मस्तिष्क पक्षघात भएका बालक हुन् । उनको खुट्टा चल्दैन, बोली आउँदैन । भोक लाग्दा आवाज बल्लबल्ल निकाल्छन् । दिसापिसाब बुबाआमाले अनुमानको भरमा गराउने हुन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । केही समय घरबाट करिब आधा घण्टाको मोटर बाटोमा रहेको डे केयर सेन्टरमा एनोशलाई शर्मिलाले लगेकी थिइन्, तर दिनदिनै छोरा लिएर जाने र आफू पनि ३ बजेसम्म कुरेर बस्ने फुर्सद भएन ।

अरुको जमिन ठेक्का लिएर खेतीपाती गर्छिन् शर्मिला । श्रीमान ठेलामा व्यापार गर्छन् । अरु दुई छोरी पनि छन् । त्यसैले व्यावहारिक रूपमा डे केयरमा छोरासँगै बस्न नसकेपछि नजिकको विद्यालय खोजेको उनले बताइन्, तर विद्यालयले कहिल्यै एनोश खोजेन ।

उनले भनिन्, ‘छोरालाई मात्रै विद्यालयमा नियमित लैजान पाए उसको सिकाइमा प्रगति हुने थियो । साथीहरूको बीचमा रमाउन सिक्थ्यो ।’

शर्मिलाले विद्यालयमा आफैं बसेर केही घण्टा राख्ने भने पनि विद्यालयले पढ्न ल्याइदिनुस् भन्न सकेको छैन । एनोशका बुबा गाउँगाउँमा ठेला गुडाउँदै दैनिक खानेकुराको लागि व्यापार गर्न निस्किन्छन् । छोरालाई दिनभर हेर्नुपर्ने बाध्यतामा शर्मिला छिन् । ‘ह्वीलचियरमा डिलमा राखेर छाता ओढाएर म खेतमा काम गर्छु’, उनी भन्छिन्, ‘यदि स्कुल गयो भने थोरै समय भए पनि विकास त हुन्छ नि ! उसलाई समूहमा रमाइलो पनि हुन्छ ।’

एनोशले स्कुलमा साथीसँग बोल्ने, केही सिक्ने, रमाउने छ भन्नेमा आमाबुबाको विश्वास छ । स्वास्थ्यले पूर्ण साथ नदिए पनि सामाजिक समावेशिताको माध्यमबाट मानसिक, भावनात्मक र सामाजिक विकास गराउन उनीहरू तयार छन्, तर भर्ना लिएको विद्यालय बालकलाई कक्षामा ल्याइदिनुस् भन्न तयार छैन ।

आमासँग एनोश कुमाल ।

प्रधानाध्यापक उमेश आचार्य थप्छन्, ‘यस वर्ष कक्षा १ मा एनोश र अर्को एक जना बालक पनि भर्ना भएका छन् । हामीले अभिभावकलाई भर्ना त गरिदिन्छौं, तर पढाउन चाहिँ सकिने अवस्था छैन भनेका छौं ।’

अटिजम भएका बालबालिकाको अभिभावकसमेत रहेकी अटिजम केयर चितवन सोसाइटीकी कार्यकारी निर्देशक प्रमिला न्यौपाने अपाङ्गता भएका बालबालिकाको अवस्थालाई स्वीकार गर्नु सबैभन्दा महत्वपूर्ण कुरा रहेको र उनीहरूको पनि अन्य बालबालिकासरह शिक्षाको अधिकार रहेको बताउँछिन् ।

उनका अनुसार अपाङ्गता भएका बालबालिकालाई परम्परागत शिक्षण विधि, सञ्चारमा कठिनाइ, पहुँचयुक्त शैक्षिक सामग्रीको अभाव आदि जस्ता कुराले सिकाइमा असहज हुनसक्छ । त्यसैले उनीहरूलाई घरमा पनि सञ्चारलगायत केही व्यवहारजन्य कुराहरू सिकाउँदै मूलधारका विद्यालयमा लैजाँदा सिकाइ प्रभावकारी हुन्छ ।

त्यस्तो अवस्थामा सिकाएर पनि विद्यालयमा लैजादा भर्ना गर्ने, तर विद्यालय नल्याउनु वा दक्ष जनशक्ति, पहुँचयुक्त संरचना छैन भन्ने जस्ता घटना भने आइरहने गरेको उनको अनुभव छ ।

न्यौपाने भन्छिन्, ‘विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सबैले केही चुनौतीलाई नयाँ ढंगबाट व्यवहारमा लागु गरेर समावेशी वातावरण निर्माण गर्न सकेमात्रै उनीहरूलाई मूलधारको विद्यालयमा समावेश गराउन सम्भव हुन्छ ।’

उनले केही विद्यालय तथा स्थानीय तहले विद्यालयको भौतिक संरचना सुधारको अभ्यासका साथै शिक्षकहरूलाई पनि तालिम दिएर अपाङ्गता भएका बालबालिकालाई सिकाउने तरिकाका सम्बन्धमा समन्वयसमेत गरेको बताइन् ।

भरतपुरका बालबालिका विद्यालय बाहिर नभएको दाबी

शिक्षाको तथ्याङ्क हेर्ने हो भने चितवनको उत्कृष्टमा गनिन्छ भरतपुर महानगरपालिका । किनकि यहाँ विद्यालय बाहिर विद्यार्थी रहेको तथ्याङ्क नै महानगरसँग छैन । यहाँ ११२ सामुदायिक र ९१ वटा संस्थागत विद्यालय छन् । महानगरको तथ्याङ्कअनुसार ५५ वटा मन्टेश्वरीले अनुमति लिएर पठनपाठन गरिरहेका छन् ।

अपाङ्गता भएका विद्यार्थीमात्रै पढाउने तीन विशेष विद्यालय छन् । बाँकी पाँच वटामा दुबै प्रकृतिका विद्यार्थी पढाउन संरचना रहेको छ । पढाइ पनि हुँदै आएको छ । जसमध्ये चार विद्यालयमा बौद्धिक अपाङ्गता भएका बालबालिका पढाउने व्यवस्था छ । एउटामा दृष्टिविहीन, एकएक वटा बहिरा, मस्तिष्क पक्षघात, अटिजम विशेष विद्यालय र बहुअपाङ्गता भएका बालबालिका पढाउने व्यवस्था छ ।

अपाङ्गता भएका बालबालिकाकै लागि भनेर व्यवस्थापन गरिएका विद्यालयमा पहुँचयुक्त भौतिक संरचना भए पनि अन्य विद्यालयका भौतिक संरचना अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयुक्त नभएको कारण अपाङ्गता भएका विद्यार्थी अझै पनि विद्यालय बाहिर छन् ।

तर नगर शिक्षा अधिकारी सुवास आचार्य भने अपाङ्गता भएका विद्यार्थी पनि विद्यालयको पहुँचभित्रै रहेको दाबी गर्छन् । उनले नेपाल प्रेससँग भने, ‘विद्यार्थी भर्ना अभियान सम्पन्न भइसकेको छ । अहिले सबै विद्यालयमा पढाइ भइरहेको छ । हामीले समावेशी शिक्षा कार्यक्रम लागु गरेका कारण अपाङ्गता भएका बालबालिका पनि विद्यालय नगएका नोटिसमा छैनन् ।’

तर महानगरलाई विद्यार्थी नियमित विद्यालय जाँदैनन् भन्ने सूचना चाहिँ छ । केही विद्यार्थीको विद्यालय दोहोर्‍याउने, बीचमै छोड्ने अवस्था रहेको खाजा कार्यक्रमको तथ्याङ्क अपडेट गर्दा भेटिएको भए पनि यकिन संख्या भने थाहा नभएको उनको भनाइ छ ।

कालिकामा करिब ४ प्रतिशत बालबालिका विद्यालय बाहिर

चितवनमा सात स्थानीय तह छन्, तर यहाँका सबै (अपङ्गता भएका र नभएका) बालबालिकालाई समान र पहुँचतायुक्त शिक्षा हुनुपर्छ भनेर समावेशी शिक्षाको अभियान दुइटा नगरपालिकामा मात्रै सुरु भएको छ । त्यसमाथि गैरसरकारी संस्थाको अगुवाइमा भरतपुर र कालिका नगरपालिकासँग सम्झौता भई कार्यक्रम सञ्चालनमा छ । जसमध्ये सबैभन्दा पहिला सम्झौता भएको स्थानीय तह कालिका नगरपालिका हो ।

कार्यक्रम सञ्चालन भएपछि कालिका नगरपालिकाले अपाङ्गता र कार्यगत सीमितता (अरुसरह सिकाइमा कठिनाइ) भएका बालबालिकाका लागि पञ्चवर्षीय समावेशी शिक्षा रणनीतिक योजना पनि निर्माण गरेको छ । रणनीतिक योजना अन्तिम चरणमा रहे पनि नगरपालिकाले नगरभित्रका ३३ सामुदायिक र ११ वटा निजी विद्यालयलाई पहुँचतायुक्त भौतिक संरचना बनाउन निर्देशन पठाइसकेको छ ।

पालिकाकी नगर शिक्षा अधिकृत चन्द्रादेवी शर्माका अनुसार नगरपालिकाले निर्णय नै गरेर पहुँचयुक्त भौतिक संरचना बनाउन निर्देशन पठाएको हो । यस पालिकामा अघिल्लो वर्षको तथ्याङ्कअनुसार कुल १२ हजार ८५६ विद्यार्थी छन् ।

नगर शिक्षा अधिकृत शर्माका अनुसार कालिका नगरपालिकाभित्र २६ जना बहुअपाङ्गता भएका बालबालिका भएको तथ्याङ्क छ, जसमध्ये १२ जना स्रोत कक्षामा अध्ययनरत छन् । स्रोत कक्षामा बहुअपाङ्गता भएका जो मूलधारका विद्यालयमा सिकाइ हासिल गर्न कठिनाइ छ उनीहरूलाई पढाउने गरिन्छ ।

विद्यालय भर्ना भएपछि विद्यालयसम्म आउनै कठिनाइ भएका २६ बालबालिकालाई समावेशी शिक्षाअन्तर्गत घरमै शिक्षक पठाएर पनि कालिका नगरपालिकाले पढाइरहेको छ । घरमा आधारित शिक्षा लिने अपाङ्गता भएका बालबालिकाको थप तथ्याङ्क भने पालिकासँग नरहेको उनले बताइन् ।

अधिकृत शर्माका अनुसार विद्यालयका शिक्षकलाई कम्तीमा हप्ताको दुई पटक भए पनि आफ्नो क्षेत्रका अपाङ्गता भएका विद्यार्थी रहेका घरमै गएर आफ्नो घण्टीमा पढाउन नगर शिक्षा समितिको निर्णयअनुसार निर्देशनसहित पत्राचार पनि गरिएको छ ।

विद्यालयले कार्यगत सीमितता र सिकाइमा कठिनाइ भएका बालबालिका कति छन् भनेर उनीहरूको प्रारम्भिक पहिचान गर्ने पनि गरेको छ । जसबाट अपाङ्गताको परिचयपत्र नपाएका, तर सिकाइमा कठिनाइ भएका ८ जना नयाँ विद्यार्थी भर्ना भएको उनले बताइन् ।

शर्माका अनुसार कालिका नगरपालिकाका पहाडी वडाका दुईतीन विद्यालयबाहेक अन्य विद्यालयको भौतिक संरचना पनि पहुँचयुक्त छ । बाँकी विद्यालयहरूमा पनि पहुँचयुक्त भौतिक संरचना बनाउन नगरपालिकामा निवेदन दिन निर्देशन गरिएको उनले जानकारी दिइन् ।

‘हामी अर्को वर्ष कालिका नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्दैछौँ’, उनले भनिन्, ‘त्यसैले पनि हामीले शिक्षालाई व्यवहारमै समावेशी बनाउन जोड दिएर कार्यान्वयनको चरणमा पनि छौँ ।’

समावेशी शिक्षा कार्यक्रम लागु भए पनि अघिल्लो वर्ष विद्यालयहरूले पठाएको तथ्याङ्कअनुुसार कालिका नगरपालिकामा ३.८ प्रतिशत हाराहारीमा बालबालिका विद्यालय बाहिर थिए, तर नगरपालिकाले भने यो तथ्याङ्क गलत हुनसक्ने अनुमान गरेको छ ।

नगरपालिकाका विद्यालयहरूले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय उमेर समूहका बालबालिका जो विद्यालय आइपुगेनन्, उनीहरूको तथ्याङ्क पठाएको आधारमा नगरपालिकाको शिक्षा शाखाबाट निकालिए पनि नगरपालिकाले नै यो तथ्याङ्क अझ यकिन गर्न नसकेको उनले जानकारी दिइन् ।

अधिकृत शर्माले यो तथ्याङ्कलाई अझ भरपर्दो बनाउन विद्यार्थीको भर्ना गर्दा नै वैयक्तिक विवरण भर्ने र विद्यालयको सेवा क्षेत्रका अन्य बालबालिकाको एकीकृत तथ्याङ्क आउने गरी विवरण सङ्कलन गर्ने तयारी गरेको उनले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *