काठमाडौं । गणतन्त्र दिवको दिन कार्यक्रमको घोषणा गर्दै राजावादी समूह र नेकपा एमालेले आक्रामक अभिव्यक्ति नदिएका भए चलचित्र ‘महाभोज’ गत जेठ १५ मै प्रदर्शन भइसक्ने थियो । तर, राजावादीले कार्यक्रमका लागि रत्नपार्क नछोड्ने र एमालेले भृकुटीमण्डप नछोड्ने अडान लिएपछि चलचित्र प्रदर्शन मितिबाट पछाडि हट्न बाध्य भयो ।
दुवै पक्षले कार्यक्रम अगाडि दिएको उत्तेजक अभिव्यक्तिले त्यस दिन जे पनि हुनसक्ने सम्भावना देखिएपछि तीन करोड लगानीमा निर्मित ‘महाभोज’ले जोखिम मोल्न चाहेन । विज्ञप्ति जारी गर्दै बुकिङ खुलिसकेको चलचित्रको निर्धारित मितिमा प्रदर्शन नगर्ने जनायो ।
यद्यपि राजावादी र एमालेले संयमता अपनाए । कुनै घटना घटेन । तर, तीन करोडमाथि लगानी गरिएको दिनेश राउत निर्देशित ‘महाभोज’ले राजावादी र एमालेले दिएको भयपूर्ण अभिव्यक्तिको घानमा पिसियो ।
प्रदर्शन रोकिएकोबारे निर्देशक राउत भन्छन्, ‘उहाँहरूको अभिव्यक्ति र आन्दोलनको घोषणाका कारण हामी डरायौँ । त्यति धेरै लगानी गरिएको चलचित्र डुबिहाल्यो भने कसले व्यहोरिदिन्छ ? राज्य हाम्रो पेशाप्रति गम्भीर देखिएको छैन ।’
राउतले थपे, ‘हाम्रो पेशा त मनोरञ्जनको क्षेत्र हो । सानातिना कुराले पनि ठूलो असर गरिरहेको हुन्छ । दुवै पक्षले त्रासको वातावरण सृजना गरिदिएपछि हामी पछाडि हट्यौँ । सबैभन्दा पहिलो प्राथमिकता मान्छेको ज्यान हो । अब चलचित्र हेर्ने दर्शककै ज्यानको खतरा भएपछि दर्शकमै भर परेका हामी चलचित्रकर्मी पछाडि हट्नुको विकल्प रहेन ।’

सिर्फ देशको परिस्थिति र अवस्था मात्रै ठिक भइदिए पनि हुने भन्ने अवस्थामा पुगेको राउत बताउँछन् ।
राउतको टिमले गणतन्त्र दिवसको सार्वजनिक बिदाको सदुपयोग गर्न खोजेको थियो । प्री–शोको समेत आयोजना गरेको थियो । मिडियाकर्मी, चलचित्रकर्मी र सहकारी पीडितहरूलाई चलचित्र देखाइएको थियो । सहकारी पीडितहरूकै मुद्दामाथि बनेको चलचित्र भएकाले उनीहरूलाई पनि बोलाइएको थियो ।
सहकारी पीडितहरूले चलचित्रले आफूहरूको कुरा बोलेको, अलि अगाडि नै यस्तो चलचित्र बन्नुपर्ने प्रतिक्रिया दिएका थिए भने हल परिसरमै नाराबाजी समेत गरेका थिए ।
चलचित्रको प्री–बुकिङ समेत खुलिसकेको थियो । क्युएफएक्स लगायत मल्टिप्लेक्सहरुले राम्रो शो दिएका थिए । फाट्टफुट्ट बुकिङ पनि सुरु भइसकेको थियो । तर, गणतन्त्र दिवसको दिन राजावादी र एमालेका कारण परिस्थिति अन्योलग्रस्त देखिएपछि ‘महाभोज’ ब्याक भएको थियो ।
‘हामीले ३५ लाखमाथि प्रमोसनमा खर्च गरिसकेका थियौँ,’ राउतले भने, ‘प्रमोसनमा गरिएको खर्च खेर नै गइसकेको त छैन । दर्शकहरूले हाम्रो चलचित्रबारे थाहा पाउनुभयो । तर, त्यस दिन प्रदर्शन गर्न पाएको भए बिदाको सदुपयोग हुन्थ्यो । व्यापारमा राम्रो आँकडा पार गर्न सक्थ्यो ।’
अहिले चलचित्र टिमले आउँदो जेठ ३० गते प्रदर्शनको नयाँ मिति तय गरेको छ । यस मितिबाट भने आफूहरु पछाडि नहट्ने राउतले बताए । अब पुनः प्रमोसनमा खटिने सुरमा छन् राउत । तर, एक झमट प्रमोसनमा सक्रिय भइसकेका कलाकारहरू अन्य चलचित्रहरूमा जोडिइसकेका छन् । उनीहरूको कार्यतालिका व्यस्त भएका कारण कसरी चाँजोपाँजो मिलाउने भनेर राउतहरूले योजना बनाइरहेका छन् ।
तर, अन्तिम समयमा आएर चलचित्र प्रदर्शनको निर्धारित मिति रोक्नुपर्दा आफू अत्यन्त दुखी भएको राउतको दुखेसो छ ।
उनले भने, ‘म त सामान्य चलचित्र मेकर हो । मेरो सल्लाह र सुझाव सुन्न यो राज्य तयार छैन । मैले गुनासो गरेर पनि केही हुनेवाला छैन । तर, देशको परिस्थिति ठीक नहुँदा मैले जे जस्तो दुःख भोगेँ, अर्को मेकरले भोग्नु नपरोस् ।’
चलचित्र सहकारी पीडितको कथामाथि भए पनि धेरेले अनुमान गरेजस्तो रास्वपा सभापति रवि लामिछाने लक्षित नभएको राउतले बताए । उनले थपे, ‘सहकारीमा हजारौँ पीडित छन्, हजारौँ पीडक छन् । न्यायालयभित्र छिरिसकेको विषयमा म केही भन्दिनँ । तर, ‘महाभोज’ले पीडितहरूको पीडा कुन तहमा छ, उनीहरू कसरी पीडित भए, कसरी पीडकहरू जन्मिए भन्ने सन्दर्भलाई उप्काउन खोजेको छ ।
जेठ ३० गतेबाट प्रदर्शनमा आउने ‘महाभोज’मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अन्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायत कलाकार छन् ।

Leave a Reply