रूपन्देही । रूपन्देहीमा लामो समय बसोबास र व्यवसाय गरेका भुवनेश्वर अर्याल अहिले गुल्मीको रुरु गाउँपालिका- २ ग्वादीस्थित पुर्ख्याैली घरमै रमाउन थालेका छन् । उनी श्रीमती कल्पनाको प्रेरणाले जन्मघर फर्किएका हुन् ।
रूपन्देहीको तिलोत्तमाकाे घरमा बस्न अर्याल दम्पतीलाई कुनै समस्या थिएन । व्यवसाय फस्टाइरहेकै थियो । समाजमा प्रतिष्ठा थियो, तर पुर्ख्यौली जमिनको सदुपयोग गर्ने सोचले उनलाई गाउँतर्फ आकर्षित गर्यो । उनले भविष्यको गाउँले पुस्ता तयार गर्ने सपना बोकेर आफू स्थायी रूपमै गाउँ पसेको सुनाए ।
‘गाउँलाई सुनसान बन्न दिनुहुन्न भन्ने सोचले हामी फर्किएका हौं’, भुवनेश्वर भन्छन्, ‘अब गाउँबाट शहर झर्ने होइन, शहरबाट गाउँ फर्किनुपर्ने बेला हो ।’
उनका अनुसार गाउँमा अनेकथरी जडीबुटी छन्, भौतिक संरचना छन् । ‘त्यसलाई सदुपयोग गर्न अब ध्यान पुर्याइएन भने पछि ठूलो संकट आउनसक्छ भनेर यता बस्ने संकल्प गरेका हौं खुसीसाथ’, उनले स्पष्ट पारे ।
भुवनेश्वरका दुई छोरामध्ये जेठा छोरा र बुहारी अस्ट्रेलियामा छन् । फार्मेसी अध्ययन गरेका जेठा छोरा अपिल ५ वर्षदेखि उतै छन् । कान्छा अविनाश इन्जिनियर हुन्, हालसम्म नेपालमै छन् ।

‘हामी आफ्नै कमाइ गाउँमा लगानी गरेर बस्न थालेका छौं’, कल्पना भन्छिन्, ‘श्रीमानले सुरु गरेको बुटवलको व्यवसाय कान्छा छोरालाई जिम्मा लगाएका छौं ।’
उनका अनुसार पछिल्लो समय गाउँमा बाटो, बिजुली, खानेपानी, सञ्चार, स्वास्थ्य संस्था सबै पुगेका छन्, तर मान्छे निरन्तर घटिरहेका छन् । शिक्षा, स्वास्थ्य, यातायातका पूर्वाधार भए पनि गाउँ फर्कने चेतना अझै नआएको उनको दुःखेसो छ ।
‘पहिले भौतिक सुविधा थिएन । अब संरचना छ, तर मान्छे छैन’, भुवनेश्वर चिन्ता व्यक्त गर्छन्, ‘सबै आफन्त तराई झरेका छन् । पर्व आउँदा गाउँ सुनसान हुन्छ । हामी जस्ता केहीले यो प्रवृत्तिलाई तोड्नु आवश्यक छ । अब गाउँलाई बढी निराश बनाउन हुँदैन ।’
गाउँ फर्किएका भुवनेश्वर र कल्पनाले ३७ रोपनी जमिन खरिद गरेका छन् । पुर्ख्यौली जग्गाजमिन अलग्ग छ । आफ्नै कमाइले किनेको जग्गामा टिमुर, कागती, अलैँची जस्ता बाली लगाइएको छ । कागतीको उत्पादन सुरु भइसकेको छ ।
‘पूर्ण रूपमा अर्गानिक कृषि उत्पादन गर्ने योजना छ’, भुवनेश्वर भन्छन्, ‘गाउँमै रोजगारी सृजना गर्न सकिन्छ । उत्पादनलाई बजार अभाव देखिँदैन । मूल्य पनि राम्रै पाउने सम्भावना छ, बस काम गर्ने प्रतिबद्धता हुनुपर्छ ।’

पहिले दशैँतिहार मानिसहरू पहाड घर पुग्थे, अहिले फेरिएर पहाड घर सुनसान गरी तराई र अन्य शहर पस्छन् । एक पटक तराई र शहर पसेको मानिस पुनः गाउँ नफर्कको प्रवृत्ति पछिल्लो समय ह्वात्तै बढेको छ । यो प्रवृत्तिविपरीत भुवनेश्वर भने आफैं गाउँ पसेका छन्, अहिले त गाउँमै किलो गाडेर बसेका छन् ।
‘स्थानीय सरकारले गाउँ फर्कने अभियान चलाउनुपर्छ र केही हदसम्म बाध्यकारी नीति बनाउनुपर्छ’, भुवनेश्वर कडा सुनिन्छन्, ‘गाउँको जमिन जो छाडेर गएको छ, त्यो उपयोग गर्ने योजना बनाउनुपर्छ । कम्तीमा खेती, आवास, सामुदायिक संरचना प्रयोगमा ल्याउन स्थानीय सरकारले पहल गर्नुपर्छ ।’
भुवन गाउँ फर्किएकोमा सबैभन्दा बढी उनकी श्रीमती कल्पना खुसी छन् । ‘म २०७२ सम्म गाउँमै बसेँ, पछि सबै परिवार तराई झरेपछि म पनि पछि लागेँ, तर मनले भने कहिल्यै गाउँ छाडेन’, उनी भन्छिन्, ‘अब गाउँ फिर्ता भएका छौं, खुशी छु । आमा समूह, सहकारी, महिलाको हकहितका गतिविधिहरू पुनः सुरु गर्छु ।’
गाउँमा भुवनेश्वरका दाजु घनश्याम अर्याल दोहोरिएर वडाध्यक्ष निर्वाचित भएका छन् । भुवनका बुढाबुढी गाउँ फर्किए पनि अरु आफन्त तराई झरेकाले वडाध्यक्ष घनश्यामलाई समेत गाउँमै चाडपर्व मनाउन तराई नझरी सुखै छैन ।
शिक्षकदेखि वामदेवकाे पीएसम्म
२०४५ सालमा एसएलसी पास गरेका भुवनले पाल्पाको तानसेनमा आईएस्सी अध्ययन गरे । गुल्मीको लिम्घामा साढे तीन वर्ष विज्ञान विषय पढाए । त्यसपछि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा बीएस्सी अध्ययन गरे । बीएस्सी सकेर बर्दियामा पढाउन पुगेका उनलाई एमाले नेता युवराज ज्ञवाली र लक्ष्मण ज्ञवालीले तत्कालीन सांसद वामदेव गौतमको पीए बन्न प्रस्ताव गरे ।

शिक्षण पेशा छाडेर उनी गौतमको पीए बने । २०५४ सालमा वामदेवले एमाले पार्टी फुटाएपछि आफू एमालेमै बसेको भवनेश्वर बताउँछन् ।
‘वामदेव कमरेडसँग काम गर्दा धेरै अनुभव गर्न पाएको थिएँ, जनसम्पर्क पनि थियो, तर उहाँले पार्टी फोडेर माले बनाएपछि साथ दिन सकिएन, म एमालेमै बसेँ र उहाँको साथ छाडेँ’, उनले भने, ‘त्यसपछि बुटवलमा बसेर व्यवसाय अघि बढाएँ ।’
यसबीचमा उनको राजनीतिक यात्रा स्थिर भएन । २०७० सालमा कांग्रेस उम्मेदवार चन्द्र भण्डारीको पक्षमा खुलेका उनी २०७४ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीको पक्षमा देखिए । त्यसबेला पुनः एमालेको पार्टी सदस्यता पनि नवीकरण गरेको उनी बताउँछन् ।
त्यसपछि पनि उनी एमालेप्रति सन्तुष्ट भएनन् र सदस्यता नवीकरण नगरेको बताउँछन् । पछिल्लो समय उनले वैकल्पिक शक्ति निर्माणमा साथ दिने दलहरूलाई समर्थन गर्दै आएका छन् । जसअनुसार २०७९ सालको निर्वाचनमा गुल्मी क्षेत्र नं १ मा लौरो चिन्ह लिएर संघीय सांसदको उम्मेदवार बनेका थिए, तर धेरै मत ल्याउन सकेनन् ।

Leave a Reply