हिमानी ट्रस्ट पनि सक्रिय: जेठ १९ गते नारायणहिटीभित्र दीप प्रज्वलन गर्ने

काठमाडौं । दरबार हत्याकाण्ड निधन भएका राजपरिवारहरूको सम्झनामा हिमानी ट्रस्टले आगामी जेठ १९ गते नारायणहिटी दरबारमा दीप प्रज्वलन गर्ने भएको छ । दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिरमा दीप प्रज्वलनको कार्यक्रम राखिएको हो ।

२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चलेर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो । अहिलेसम्म पनि उक्त हत्याकाण्डको विश्वसनीय छानबिन हुन सकेको छैन । वीरेन्द्रको शेखपछि राजा भनेका उनका भाइ ज्ञानेन्द्रको शासनकाल लामो हुन सकेन । २०६२/६३ मा भएको आन्दोलनले राजतन्त्रको अन्त्यपछि उनले नारायणहिटी दरबार छोड्नु परेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह भने अहिलेसम्म नारायणहिटीभित्रै बस्छिन् । वयोवृद्ध उमेरका कारण उनलाई नारायणहिटी छोड्न बाध्य नपारेर यहीँभित्रको महेन्द्र मन्जिलमा बस्ने व्यवस्था मिलाइएको थियो । गणतन्त्र आएपश्चात् पूर्वराजा ज्ञानेन्द्र आमालाई भेट्न नारायणहिटी बेलाबखत जाने गर्छन् ।

पछिल्लो पटक गत जेठ १० गते पूर्वराजाले पत्नी कोमल, आफ्नी छोरी प्रेरणा र नाति हृदयन्द्रलाई समेत लिएर नारायणहिटी दरबार गएका थिए । त्यसबखत उनले आमा रत्नलाई भेटेपश्चात नारायण मन्दिरमा गएर पूजाआजा गरे । गणतन्त्र आएपश्चात् पूर्वराजपरिवारले तामझामसहित पहिलो पटक यसरी नारायण मन्दिरमा पूजाआजा गरेका हुन् ।

नारायणहिटी परिसरभित्रै रहेको यो मन्दिरलाई एउटा पर्खालले दरबारबाट छुट्याएको छ । दरबारबाट मन्दिर जाने बेग्लै भित्री बाटो छ भने अन्य सर्वसाधारणका लागि अर्को ढोका छ । जेठ १० गते पूर्वराजा भित्री बाटोबाट मन्दिरमा गएका थिए । तर, अहिले भित्रीबाटो बन्द गरिएको छ ।

नारायणहिटी दरबार संग्रहालय प्रशासनले ढोकामा ताल्चा झुण्ड्याइदिएको हो । त्यसैले हिमानी ट्रस्टका पदाधिकारीले बाहिरैको बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

हिमानी ट्रस्टले जारी गरेको सूचनामा दीप प्रज्वलनमा कोको सहभागी हुने भन्ने उल्लेख गरिएको छैन ।

दुई दिनअघि जारी गरिएको सूचनामा भनिएको छ, ‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवं स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाह लगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’

श्री चतुर्व्युह नारायण धाम परिसरमा बेलुका ६ः३० मा दीप प्रज्वलन गरिने सूचनामा उल्लेख छ । पूर्वराजा र परिवारका अन्य सदस्य पनि दीप प्रज्वलनमा सहभागी हुने हल्ला चलेको भए पनि दरबार स्रोतहरुले पुष्टि गरेका छैनन् । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस विषयमा आफूलाई जानकारी नरहेको बताए । पूर्वराजा अहिले झापामा छन् ।

जे भए पनि राजावादी आन्दोलन चर्किएको बेला हिमानी ट्रस्टले नारायणहिटी दरबारभित्रै कार्यक्रम राख्नुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । यस विषयमा थप बुझ्न ट्रस्टसँग सम्पर्क प्रयास गर्दा फोन उठेन ।

Comments

One response to “हिमानी ट्रस्ट पनि सक्रिय: जेठ १९ गते नारायणहिटीभित्र दीप प्रज्वलन गर्ने”

  1. Laleek Avatar
    Laleek

    सवैलाई चेतना भया ! जयदेश जय जनता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *