काठमाडौं । सडक विस्तारका क्रममा सार्वजनिक सडक खन्ने, तर संकेत सूचना नराख्ने कारण दुर्घटनाको क्रम बढेको छ ।
दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत अहिले बसुन्धारा–धोविखोला-धुम्बाराही खण्डको काम अगाडि बढेको छ ।
विस्तारका निम्ति सर्वसाधारणको बाक्लो आवतजावतकै समयमा सडक खन्ने कार्यले त्यस क्षेत्रमा दुर्घटना बढेको स्थानीयवासी बताउँछन् ।
आइतबार बिहान पनि एउटा निजी कार दुर्घटना भयो । बागमती प्रदेश ०१ ०२६ च २५०९ नम्बरको उक्त कार प्रहरी वृत्त महाराजगञ्जको पारितर्फ रहेको एक कपडा पसलमा जाँदै थियो ।
चालकले गाडीलाई देब्रेतर्फ मोडे । उनले सडक खनेको कुनै संकेत देखेनन्, त्यसैले निर्धक्कसँग मोडिने क्रममा उनको कार खाल्डोमा फस्यो ।
सार्वजनिक सडक निर्माणका क्रममा सर्वसाधारणले देख्ने गरी सूचना वा संकेत राख्नुपर्ने नियम छ । तर, सडक विभागले नै गरिरहेको उक्त कामका क्रममा बिनासूचना र संकेत नै सडक खनिँदैछ । आइतबार मात्र हैन, हरेक दिन यस्ता सानातिना दुर्घटना भइरहेका छन् ।
ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख इन्स्पेक्टर भुवन बराम सवारी चालकहरूले पनि यथेष्ट सावधानी नअपनाउँदा दुर्घटना हुने गरेको बताउँछन् । ‘सडक खनेर त्यसै छोडिएको छैन, त्यहाँ काम पनि भइरहेको छ, मान्छे हुन्छन्, ट्याक्टरले ओहोरदोहोर गरिरहेका हुन्छन्’, उनले भने, ‘सवारी चलाकले त्यस्तो दृश्य त देख्नुपर्ने हो ।’
दुई–तीन महिनादेखि नै दायाँबायाँ सडक खनिएको र पुर्ने काम ढिलो हुँदा केही समस्या भएको उनले बताए । सडक विभागले संकेत र सूचनाहरु राखेको उनी बताउँछन् । ‘बाटोमा भिड भयो भने कहिलेकाहीँ बोर्ड छेकिनसक्छ, नराखेको भन्नेचाहिँ होइन’, उनले भने ।
चक्रपथ विस्ताको दोस्रो चरणअन्तर्गत कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक खण्डको विस्तार अहिले भइरहेको हो । चीन सरकारको अनुदान सहायतामा सडक विभागले सडक विस्तारको काम गरेको हो ।

Leave a Reply