किसानको चैते धान कुहाएर चामल आयात गर्ने ? एमालेनिकट महासंघले उठायो सरकारमाथि प्रश्न

काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले किसानको चैते धान कुहाएर चामल आयात गर्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएको छ ।

महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले किसानलाई बारम्बार झुक्याउने प्रवृत्ति बन्द गर्न चेतावनी दिएको छ।सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकेको भए पनि बजार मूल्य अहिले प्रतिक्विन्टल औसत १६२५ रुपैयाँमा झरेको भन्दै किसानहरू आक्रोशित बनेका छन्।

धान उत्पादन गरी पनि प्रतिमन ६५० रुपैयाँमा नबिक्ने स्थिति आएपछि धान कुहिन थालेकाले किसानहरू हतोत्साहित भएकाे महासंघले जनाएकाे छ । महासंघका अध्यक्ष डा .प्रेम दंगालद्वारा हस्ताक्षित विज्ञप्तिमा भनिएको छ, ‘सरकारले समर्थन मूल्य तोक्ने मात्रै होइन, त्यसअनुसार खरिदको व्यवस्था पनि गर्नुपर्छ।’

आर्थिक वर्ष २०८१/८२ आर्थिक वर्षका लागि मन्त्रिपरिषद्को ०८१ फागुन २१ गतेको बैठकबाट चैते धानको न्यूनतम समर्थन मूल्य २८६९ रुपैयाँ तोकिएको थियो। किसानहरू उक्त मूल्यका आधारमा धान रोप्न उत्साहित भए पनि अहिले बजारमा उक्त मूल्यभन्दा झण्डै ४३ प्रतिशत कम मूल्यमा धान बिक्री गर्न बाध्य छन्।

‘धान उत्पादन भए पनि बिक्री नहुँदा किसानहरूको लगानी डुबेको छ,’महासंघले विज्ञप्तिमा भनिएको छ,‘सरकारले तोकेको न्यूनतम समर्थन मुल्य र बजारमुल्यबीचमा ठुलो अन्तर रहेको छ । सरकारले न्यूनतम समर्थन मुल्य निर्धारण गरिसकेपछि धान उत्पादन हुनसाथ उक्त मुल्यमा धान खरिद गर्ने सुनिश्चित गर्नुपर्दछ । निर्धारित समर्थन मुल्यमा धान बिक्रि गर्दा समेत किसानलाई फाइदा हुने अवस्था छैन भने १६२५ रुपैंया प्रतिक्विन्टल धान बेच्नुपर्दा किसानको अवस्था के होला? किसानले सरकारबाट जवाफ खोजिरहेका छन् ।’

महासंघले गाउँस्तरमा धान भण्डारणका लागि ड्रायर मेसिनसहितको गोदाम निर्माण गर्न माग गर्दै आएको छ। बर्षाका कारण धान सुकाउन समस्या हुने भएकाले राज्यले तत्काल उपाय ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

‘धान राख्ने गोदाम किसानसँग छैनन्। बरु उत्पादनभन्दा पहिले नै कर्जा र बीउको समस्या हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सहुलियत कर्जा उपलब्ध गराई आगामी खेतीको लागि आवश्यक पुँजी व्यवस्थापनमा सरकारले चासो देखाउनुपर्छ।’

महासंघले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भूमिका पनि प्रश्न गर्दै सो कम्पनीले किसानबाट तोकिएको मूल्यमा धान खरिद नगर्ने हो भने त्यसको औचित्य नहुने बताएको छ। ‘जनताको करबाट चल्ने संस्थाले किसानको धान नकिन्ने र सरकार अरबौंको चामल आयातमा खर्च गर्ने ? यस्तो गैरजिम्मेवार प्रवृत्ति अब सह्य हुँदैन,’महासंघले चेतावनी दिएको छ।

अखिल नेपाल किसान महासंघले यथाशीघ्र सबै चैते धान न्यूनतम समर्थन मूल्यमै खरिद गर्न र हालसम्म कम मूल्यमा बिक्री भएका धानको अन्तर रकम किसानलाई क्षतिपूर्ति स्वरूप उपलब्ध गराउन माग गरेको छ। सो माग पूरा नभए देशभर धान उत्पादक किसान कडा आन्दोलनमा जान बाध्य हुने महासंघले स्पष्ट पारेको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *