मदन भण्डारी कप खुला दौड प्रतियोगिता सुर्खेतमा हुँदै, प्रथम विजेतालाई ५० हजार पुरस्कार

सुर्खेत। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा खुला सडक दौड प्रतियोगिता हुने भएको छ।

‘मदन भण्डारी कप खुल्ला दौड प्रतियोगिता २०८२’ नाम दिइएको उक्त प्रतियोगिता जेठ २४ गते बिहान ७ बजे घण्टाघरबाट सुरु हुनेछ।

एकेडेमीले प्रतियोगितालाई १० र ५ किलोमिटर दूरीमा सञ्चालन गर्न लागेको हो। १० किलोमिटरको खुला दौडमा महिला र पुरुष दुवै खेलाडीले भाग लिन सक्नेछन्।

यसतर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १५ हजार र पाँचौं हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

५ किलोमिटर दूरीको दौड भने विद्यालयस्तरीय यु–१८ समूहका छात्र र छात्रामाझ प्रतिस्पर्धा गराइनेछ। यो तर्फ कर्णाली प्रदेशका विद्यार्थी मात्र सहभागी हुन पाउने छन्।

विजेतालाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रोलाई १० हजार, चौथोलाई ५ हजार र पाँचौं हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै, सहभागीमध्ये उत्कृष्ट दश स्थान प्राप्त गर्ने सबै खेलाडीलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ दिइनेछ।

‘सबैका लागि खेल’ भन्ने नारासहित सक्रिय रहेको एकेडेमीले स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न खेल प्रतियोगिता, तालिम र प्रशिक्षण कार्यक्रम गर्दै आएको छ।

एकेडेमीका कार्यक्रम संयोजक तेजविक्रम बस्नेतका अनुसार कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको दशौं राष्ट्रिय खेलकुदको तयारीलाई ध्यानमा राख्दै यो प्रतियोगिता आयोजना गरिएको हो।

खेलकुद संस्कृतिको प्रवर्द्धन र प्रतिभावान खेलाडी पहिचानका लागि यो दौड प्रतियोगिता उपयोगी हुने आयोजकको अपेक्षा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *