कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ : अजयबाबु शिवाकोटी

दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अब भावुक स्मृतिमा नभई उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्ने बताएका छन् ।

दोलखाको चरिकोटमा निर्माण हुने बीपी स्मृति भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नेता शिवाकोटीले कांग्रेसलाई सशक्त र नयाँ ढंगले लैजानुपर्नेमा जोड दिएका हुन् ।

उनले संगठनमा शक्ति र सेवामा संस्कार हुनुपर्ने भन्दै सबैलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प कांग्रेससँग नभएको बताए । उनले भने, ‘हामी जुन कांग्रेस बनाउने सपना देख्दैछौं त्यो यस्तो हुनुपर्छ: जहाँ जेन्जी पुस्ता आशावादी हुन्छ, जहाँ पुराना पुस्ता गौरवान्वित हुन्छन्, जहाँ कार्यकर्ता सक्रिय महसुस गर्छ र जनता सन्तुष्ट महसुस गर्छ ।’

गृहजिल्लामा बन्न लागेको उक्त पार्टी कार्यालयको भवनको सन्दर्भलाई जोडेर नेता शिवाकोटीले विभिन्न नौ बुँदामा आफ्नो भनाइलाई समेटेका छन् ।

उनले दोलखा कांग्रेस भरोसा र इतिहासको आधारशिला रहेको उल्लेख गर्दै भने, ‘आज हामीले नयाँ पार्टी कार्यालयको शिलान्यास गरेका छौँ । शिलान्यासपछि बन्ने यो पार्टी कार्यालय केवल इँटा र सिमेन्टको संरचना होइन, यो दोलखाले बोकेको बलिदान, संगठन र संकल्पको थालनी हो ।’

दोलखा कुनै पनि युगमा मौन बस्ने जिल्ला नभएको दाबी गर्दै शिवाकोटीले जब अन्याय हाबी हुन्थ्यो तब दोलखाले विद्रोह गरेको बताए । उनले भने, ‘२००७ सालको सशस्त्र क्रान्तिमा दोलखा अग्रपंक्तिमा थियो । सशस्त्र क्रान्तिका क्रममा २००७ सालमा लडाइँ भएको गुम्फुङ र मेलुङ अझै साक्षी छन् ।’

उनले शिलान्यास संगठनको पुनरुत्थान, विचारको पुनर्स्थापना र नेतृत्वको पुनर्निर्माणको शंखघोष भएको समेत बताए ।

उनले कांग्रेसलाई जीवन्त राख्न परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै अब जेन जी पुस्तालाई सम्बोधन गर्न ढिला गर्न नहुने बताए । उनले भने, ‘हिजोका पुस्ता कांग्रेसप्रति भावनात्मक निष्ठा राख्थे । आजका जेन्जी पुस्ता नतिजा र अवसरको खोजीमा छन् । हामीले अब पुराना पुस्ताको भरोसा पुनः स्थापित गर्नुपर्छ र नयाँ पुस्ताको आकर्षण प्राप्त गर्नुपर्छ।’

उनले पुरानालाई सम्मान गरी नयाँलाई अवसर दिनुपर्नेमा जोड दिँदै भने, ‘पुराना पुस्ताका लागि संघर्षको सम्मान, योगदानको कदर, अनुभवको प्रयोग आवश्यक छ। जेन्जी पुस्ताका लागि डिजिटल पहुँच, कार्यक्रममा नवप्रवर्तन, नेतृत्वमा अवसर दिन जरुरी छ । भरोसाका जरा र भविष्यका पातहरू एकै वृक्षमा हुर्कन सक्ने ठाउँ कांग्रेस हो ।’

उनले कांग्रेस सत्तामा भएकाले जबाफदेहिता देखाएर जनताको मन जित्नुपर्नेमा समेत जोड दिएका छन् ।

पार्टीको आसन्न महाधिवेशनबारे विचार राख्दै शिवाकोटीले भने, ‘१५औँ महाधिवेशन कांग्रेसको संगठन पुनःनिर्माण र भावी नेतृत्व निर्माणको अवसर हो । यस महाधिवेशनलाई सार्थक बनाउनुस् सक्रिय सदस्यता अभियानलाई पूर्ण पारदर्शिता र निष्पक्षतासाथ सम्पन्न गर्नुपर्छ, विवादरहित संगठन निर्माण गरेर तल्लो तहसम्म एकताको भावना ल्याउनुपर्छ, युवा, महिला, अल्पसंख्यक, दलित र जनजातिको सहभागिता सुनिश्चित गर्नुपर्छ। सक्रिय सदस्यता केवल नामको सूची होइन यो विचार र प्रतिबद्धताको अभिलेख हो ।’

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पार्टीका अनुहार भएको उल्लेख गर्दै शिवाकोटीले भने, ‘हाम्रा निर्वाचित जनप्रतिनिधिहरू पार्टीका प्रतिविम्ब हुन् । उनीहरू जनतासँग आत्मीय संवाद कायम गर्न, पारदर्शी सेवा र समर्पणद्वारा पार्टीप्रतिको विश्वास गहिर्‍याउन, पार्टी र जनताको बीचमा उत्तरदायी पुल बन्न अग्रसर हुनुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *