नेपाल-भारत सीमा क्षेत्रमा नजान चिनियाँलाई दूतावासको अपिल

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल-भारत सीमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई अपिल गरेको छ।

केही चिनियाँ नागरिकहरू सीमा क्षेत्रबाट पक्राउ परेपछि चीनको यस्तो अपिल आएको हो भन्ने उल्लेख चिनियाँ अखबार ग्लोबल टाइम्सले गरेको छ।

ग्लोबल टाइम्सका अनुसार चिनियाँ दूतावासले पटक-पटक नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा नजान चेतावनी दिँदै आएको भए पनि केही नागरिकहरूले सो सल्लाहलाई बेवास्ता गर्दै सीमा क्षेत्रमा जान अडिग रहेकाले भारतीय सीमा सुरक्षा बलले उनीहरूलाई अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेका घटनाहरू भएका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूको सुरक्षाका लागि चिनियाँ दूतावासले फेरि एकपटक गम्भीर रूपमा सम्झाउँदै शुक्रवार आफ्नो आधिकारिक वीच्याट खातामार्फत यो अपिल सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल र भारतबीचको सीमा खुला सीमा हो, जहाँ थोरै मात्र सीमा चिन्हहरू छन्। नेपाल र भारतका नागरिकहरूले परिचयपत्रको आधारमा स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने भए पनि विदेशी नागरिकहरूले नेपाल हुँदै भारत जान भारतको भिसा अनिवार्य रूपमा लिनुपर्छ।

झुक्किएर भारतीय भूमि प्रवेश गरेमा पक्राउ, मुद्दा, २ देखि ८ वर्षसम्मको कैद र जरिवाना हुन सक्ने सम्भावना रहेको तथा धरौटीमा रिहा हुने सुविधा नहुने दूतावासले जनाएको छ।

दूतावासले आपत्कालीन अवस्थामा चिनियाँ नागरिकहरूलाई नेपालस्थित चिनियाँ दूतावाससँग तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *