पीएसजी पहिलो पटक च्याम्पियन

काठमाडौं। इटालियन प्रतिस्पर्धी इन्टर मिलनलाई पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिवार राती फ्रेन्च लिग वान विजेता समेत रहेको पीएसजीले इन्टरलाई ५-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको उपाधिमा कब्जा जमाएको हो ।

पीएसजीलाई जित दिलाउन डिजेर डुबेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १-१ गोल गरे।
हाकिमीले १२ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो अग्रता दिलाए भने डुबेले २० औँ मिनेटमा गोल गरेपछि पीएसजीले खेलको पहिलो हाफसम्म आफूलाई २-० को अग्रतामा राख्न सक्यो ।

डुवेले नै खेलको ६३ औँ मिनेटमा अर्को गोल गरेपछि पीएसजीको अग्रता थप फराकिलो बन्यो । फ्रेन्च क्लब माथि हरेक हिसाबमा निरीह देखिएको मिलानले ७३ औँ मिनेटमा अर्को गोल बेहोर्‍यो ।

पीएसजिका क्वारात्स्खेलियाले काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई‌ ४-० बनाए । मायुलुले ८६ औँ मिनेटमा टोलीका लागि पाँचौँ गोल गरेपछि पीएसजीले विशाल जित निकाल्दै पहिलो पटक च्याम्पियन्स लिगको ट्रफी घर लग्यो ।

घरेलु लिगमा वर्चस्व कायम गरेको पीएसजीको लागि च्याम्पियन्स लिगको ट्रफी एउटा सपनाजस्तो थियो । सन् २०२० मा फाइनल खेलेको पीएसजी बायर्नसँग पराजित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *