काठमाडौं । खासगरी गसिपका समाचार कला क्षेत्रमा हुने गरेका छन्, तर फ्रान्समा भने पछिल्लो समयमा इम्यानुयल म्याक्रोँ र उनकी श्रीमतीको झगडा गसिप बन्यो । गसिपले विश्व बजार ततायो ।
अरु त अरु पत्रकारहरुले बोलक्कड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि श्रीमतीको झापडबारेमा सोध्न भ्याइहाले । ट्रम्प पनि मौन भएनन् । बोलेरै छोडे र भने, ‘कोठा चैँ थुन्नुपर्ने थियो । मैले म्याक्रोँसँग कुरा गरेँ । उनी सकुसल छन् ।’
के हो घटना ?
घटना गत मे २६ को हो । उक्त दिन म्याक्रोँ भियतनाम भ्रमणमा थिए । जहाजबाट ओर्लन लागेका थिए । ओर्लन लाग्दा जहाजको ढोका खोलियो । क्यामेरा अगाडिबाट राष्ट्रपति दम्पतीलाई ताकेर खिचिरहेको थियो । ठीक त्यसैबेला म्याक्रोँलाई एक रातो हातले झापड हान्छ । केही बेरपछि थाहा हुन्छ, त्यो झापड हान्ने अरु कोही नभएर म्याक्रोँ पत्नी ब्रिजिट हुन्छिन् ।
ब्रिजिटसँग जहाजबाट ओर्लंदा म्याक्रोँले हात मिलाउन खोज्छन् । उनी हात दिन्नन् । यसलाई लिएर अहिले विश्वभर समाचार बनेका छन् ।
म्याक्रोँले भने घटना अस्वीकार गरेका छन् । फ्रान्सेली अखबार ले मोन्देका अनुसार आफूलाई पत्नीले झापड हानेको नभएर दुई जना तर्कवितर्क गरेको र ठट्टा गरेको भन्दै म्याक्रोँले आफ्नो बचाउ गरेका छन् ।
म्याक्रोँले आफूभन्दा २५ वर्ष जेठी ब्रिजिटसँग विवाह गरेका हुन् । ब्रिजिटसँग म्याक्रोँको विवाह हुँदा उनी तीन सन्तानकी आमा थिइन् ।
यस अगाडि पनि झापड खाएका थिए म्याक्रोँले
आफ्नी जहानबाट झापड खाएका म्याक्रोँले जनताबाट पनि झापड खाइसकेका छन् । सन् २०२१ मा म्याक्रोँलाई दामिएन त्राएल नामका एक युवकले झापड हानेर १८ महिने कैद सजाय पाएका थिए । त्योभन्दा अरु झापडका घटनाहरु पनि भएको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् ।

Leave a Reply