लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनः बुद्धको अवधारणा कार्यान्वयनसहित ७ बुँदे प्रतिबद्धता जारी

रुपन्देही । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन शनिबार सम्पन्न भएको छ । ‘समृद्ध प्रदेश, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालाहरु प्रतिबद्ध भएका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनमा सहभागी सरोकारवालाहरुबाट ७ बुँदे सामूहिक प्रतिबद्धता जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकार र विश्वविद्यालयको सहकार्यमा स्थानीय तथ्य र ज्ञानमा आधारित भई लुम्बिनीको गुणस्तरीय आर्थिक पर्यटन, पथप्रदर्शन सेवा, पर्यटक सेवा सुविधा, पुरातात्विक पर्यटन पर्यटन स्थलको वातावरण, सम्पदामैत्री पर्यटन प्रवर्द्धनको आधार, लघु व्यवसाय सीप तथा हस्तकलाको संरक्षण तथा सम्बर्द्धन, स्थानीय उत्पादनको प्रवर्द्धन र उपयोगलगायतका विषयमा मापदण्ड तथा सूचक तयार गरी प्रदेशस्तरीय एकीकृत पर्यटनसम्बन्धी कार्यविधि तर्जुमा गरिने प्रतिबद्धतामा उल्लेख छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै विश्वविद्यालयका योजना तथा मूल्यांकन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले लुम्बिनी क्षेत्रमा प्रदेशको प्रस्तावित लुम्बिनी क्षेत्र विकास प्राधिकरणसँग एकीकृत गरी बौद्ध आर्थिक ढाँचाको न्यूनतम अवस्था कार्यान्वयनको विषयगत खाका तयार गर्ने र बौद्ध दर्शनलाई दिगो विकासका लक्ष्यहरू हासिल गर्न प्रदेशअन्तर्गत सबै तह र निकायहरूसँग समन्वय र सहकार्य गर्ने उल्लेख गरे ।

विद्यालय शिक्षामा आधारभूत बौद्ध शिक्षाको पठनपाठनका लागि प्रदेश सरकार र विश्वविद्यालयको सहकार्यमा प्रदेशस्तरीय पाठ्यक्रम तर्जुमा गरी स्थानीय तहसँगको समन्वय र सहकार्यमा कार्यान्वयन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

‘लुम्बिनी क्षेत्रको आर्थिक पर्यटकीय विकाससँग सम्बन्धित समसामयिक मुद्दा र विषयमा प्रदेश सरकार र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा बौद्ध आध्यात्मिक क्रियाकलाप, सेमिनार, कार्याशाला, गोष्ठीहरू आयोजना गरी प्रदेश योजना आयोग र अन्य जिम्मेवार निकायलाई नीतिगत पृष्ठपोषण प्रदान गरिनेछ’, प्रतिबद्धतापत्रमा भनिएको छ ।

सम्मेलन समापन गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षालाई आर्थिक विकास र सामाजिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न मन्त्रालयले विभिन्न योजना अघि बढाएको जानकारी गराउँदै साथ र सहयोगका लागि सबैलाई आग्रह गरे ।

बौद्ध दर्शन, आर्थिक समृद्धि, दिगो पर्यटन, पूर्वाधार विकास र सहकार्यजस्ता विविध विषयमा भएको प्रस्तुतीकरण सत्रमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, मुख्यमन्त्रीका प्रमुख सल्लाहकार लक्ष्मण ज्ञवाली, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्य, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका प्रवक्ता गणेश घिमिरे, विश्वविद्यालयका अनुसन्धान केन्द्रका निर्देशक प्राडा गीतु गिरी, डा. फणिन्द्रकुमार न्यौपाने, डा. कुमार खड्का, कमल थापा, नीरा गौतमलगायतले विभिन्न विषयमा धारणा राखे ।

दुई दिने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरु डा. प्रकाशकुमार श्रेष्ठ, डा. हरिध्वज राई, डा. रीना तुलाधर, डा. रामराज उपाध्याय, डा. शारदा पौडेल, डा. श्रीप्रसाद भट्टराई, सञ्जय शाक्यलगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *