काठमाडौं । प्रेस काउन्सिल नेपालले एक वर्षको अध्ययन, अनुसन्धानपछि ‘नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म’ नामक पुस्तक ल्याएको छ ।
नेपाली मिडियाको छापादेखि डिजिटल युगसम्मको इतिहासलाई समेटेको उक्त पुस्तक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पुस्तक संयुक्त रूपमा विमोचन गरेका छन् ।
पुस्तक विमोचन गर्दै शिक्षामन्त्री पन्तले दक्षिण एसियाका अन्य देशहरूभन्दा नेपालको प्रेस बढी स्वतन्त्र रहेको बताए ।
पत्रकारले लडेर ल्याएको प्रेस स्वतन्त्रतालाई संरक्षण गरी राख्नुपर्नेमा जोड दिँदै मन्त्री पन्तले पत्रकारका क्षेत्रका काम गर्ने निकायलाई सक्षम, प्रभावकारी बनाउँदै प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताए ।
उनले अहिलेको अवस्थामा पत्रकारिताको गरिमा जोगाउने चुनौती भएकाले सम्पादकहरू बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।
पत्रकारिताको सम्पत्ति भनेको विश्वसनीयता भएकाले त्यसलाई नबिर्सन उनले सम्पादकहरूसँग आग्रह गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले ज्ञान र बुद्धि बढाएर समाज रुपान्तरणमा पत्रकारिताले के गरेको छ भन्ने प्रश्नमा गम्भीर भएर लाग्न सबै सञ्चारजगतलाई आग्रह गरिन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकाशित पुस्तकले नेपाली पत्रकारिताको हिजोको कठिन अवस्था, विभिन्न कालखण्डका संघर्ष र यथार्थ बोकेको बताए ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यममा आएका आधारहीन र तथ्यहीन सामग्रीलाई कसरी परास्त गर्ने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक रहेको बताइने ।
पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारिताका नयाँ र पुराना पुस्ताबीच सार्थक संवादको आवश्यकता देखिएकोमा जोड दिए ।
छापा, टेलिभिजन, रेडियो र न्यूज पोर्टल न्यूमिडियाको भूमिका र जिम्मेवारी समयअनुसार फरक-फरक देखिए पनि मूल ध्येय पाठक तथा स्रोतालाई सुसूचित गराउने र जागरण ल्याउने रहेको उनले बताए ।
नेपाली मिडियामा अनुसन्धान गरिरहेका डा. कुन्दन अर्याल, डा. रघु मैनाली, डा. जगत नेपाल, तीर्थ कोइराला, शुभेच्छा विन्दू तुलाधर, उज्ज्वल आचार्य, भुवन केसी र रुद्र खड्काका अनुसन्धानमूलक आलेख पुस्तकमा छ ।

Leave a Reply