काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेर राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको हत्या गरेको आरोप लगाएका छन्।
प्रचण्ड सरकारले २०७४ तरबार चलाएर घाँटी रेट्न सुरु गरेको र अहिलेको ओली सरकार पूरै घाँटी छिनालेको टिप्पणी गरे।
त्यसबारे उनको भनाइ जस्ताको तस्तै-
अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ। २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट–वक्तव्य (बुँदा २२४) मार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै घाँटी छिनालेको छ।
यो देश र जनतामाथि अक्षम्य अपराध र धोका हो। देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु।
भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौँदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनका लागि पूर्ण सहयोग गर्दै आउनुभएका गोरखा र धादिङको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछु।
यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग हार्दिक अपिल गर्दछु।

Leave a Reply