रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालभित्र नयाँ रक्त सञ्चार केन्द्रको शुरूवात भएको छ । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गरेका हुन् ।
सरकारी अस्पतालमा आफ्नो रक्तसञ्चार केन्द्र भएको पहिलो अस्पताल हो । मुख्यमन्त्री आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताउँदै निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने बताए ।
‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ’ उनले भने ।
समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गरे । दान र सेवाको माध्यमबाट सामाजिक कामलाई अघि बढाउन सकिने र सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेको उनले बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिए ।
अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उनको भनाइ थियो । ‘बिरामीहरूले अपरेशनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको छ । सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ,’ उनले भने ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा सहजताका लागि सरकारले विशेष योजना बनाएको बताए ।
रूपन्देही व्यापार संघले ४ वर्षअघि डेढ करोडभन्दा बढी लागतमा किनेर दिएको यो मेशिन अहिलेसम्म अलपत्र रहेको थियो । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालभित्र रगतको व्यवस्थापन गराउन साथ दिने व्यापार संघसहितका सबैलाई धन्यवाद दिएका छन् ।

Leave a Reply