काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिकपछि सम्भवतः पहिलो पटक ‘पोष्ट बजेट छलफल’ मा शनिवार अर्थमन्त्री विष्णु पौडेल सहभागी भए । बजेटपछि नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको छलफलमा अर्थमन्त्री पौडेललाई निजी क्षेत्रले ‘मख्खै’ पारे ।
सबैजसो निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले आलोचना सुन्नु परेन । बरू छलफलमा सहभागी भएका उद्योगी तथा व्यवसायीले एकपछि अर्को गर्दै अर्थमन्त्रीको तारिफ गरे । उनीहरूले मन्त्री पौडेललाई ‘पुल्कित’ बनाए ।
उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमैत्री बजेट ल्याएकोमा धन्यवाद नै दिए । उनले निजी क्षेत्रलाई सहयोग पुग्ने गरि आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट आएको बताए ।
बजेटले नेपालीलाई विदेशमा लगानी गर्न दिने बिषय निकै महत्वपूर्ण र ऐतिहासिक भएको पनि उनले बताए । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ । उनले पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी समेत व्यक्त गरे ।बजेट मार्फत लगानी बोर्डलाई शक्तिशालि बनाएकोमा खुसी जनाए ।
नेम्बर अफ कर्मस कमलेश कुमार अग्रवालले आगामी आवको बजेट लगानी प्रवर्द्धधन गर्ने खालको आएको बताए । आइटी र प्रविधिलाई ध्यानमा राखिएकोमा उनले खुसी व्यक्त गरे । तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले विदेशीने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ । यस्तै, पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए ।
आगामी आवको बजेटबारे नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालले पनि तारिफ गरे । नयाँ बजेट स्वागतयोग्य रहेको उनले बताए । उनले निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएकाले स्वातगत योग्य रहेको बताए ।
लगानी आकर्षण गर्नका लागि यो बजेट निकै स्वागत योग्य रहेको उनको भनाइ छ । विदेशमा लगानी गर्ने कुराहरु पनि काम भइरहेको अवस्थामा निजी क्षेत्रमा उत्साह बढेको उनले सुनाए । औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको उनले बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक बर्ष २०८२/८२ को बजेट अपेक्षाकृत भएको बताए । विगतमा कुनै एउटा क्षेत्रलाई लाभ दिएको भन्ने कुरा आउने गरेको भए पनि यो पटकको बजेट त्यस्तो कुरा नरहेको बताए । निर्माण क्षेत्रका लागि केही राहतका कुराहरु पनि आएको उनले बताए ।
२ वर्ष भित्र गौरवका योजना सम्पन्न गर्ने लक्ष्य लिएको कुरा निकै राम्रो भएको उनको भनाइ छ । अहिले योजना आयोग र सरकारले सहकार्य गरेको अनुभूति भएको उनले बताए । ३ करोड भन्दा कमका आयोजना बनाउन नपाउने भनेको अवस्थामा यसले विकासमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले ल्याएको बजेटले अटो व्यवसायी उत्साहित भएको नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सुनाए । बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए । उनले बजेट सकारात्मक आएको बताए ।
यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको र अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको भन्दै उनले बजेटको स्वागत गरे । यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए । अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
सबैको तारिफ सुनेपछि अर्थमन्त्री पौडेलले यस पटकको बजेटमा ‘खोट’ लगाउने ठाउँ नरहेको बताए । अर्थविद्हरूले समेत बजेटको तारिफ गरेकोमा मन्त्री पौडेल हर्षित देखिए ।

Leave a Reply