काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको पनि उनले बताए । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ ।
राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैँ सरकारको साथमा रहेको उनले बताए। अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेटमा आएका कुराहरूलाई कार्यान्वयनमा ध्यान दिनु पर्ने आवश्यकता रहेको पनि उनले बताए ।
उनले खनिज जन्य र नदीजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए। केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ छ।
यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टिडिएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।
बजेट मार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरूलाई एकद्धार भन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए । यस्तै, उनले मौद्रिक नीति र बजेट बीच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए ।

Leave a Reply