रूपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले गत स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरेपनि जनताले अस्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको बताएका छन् ।
आज बुटवलमा बुटवल उपमहानगरले गरेको कार्यक्रममा उनले त्यसको उदाहरण बुटवल नै भएको बताए ।’गत स्थानीय निर्वाचनमा हामीले माओवादीसँग गठबन्धन गरेका हौं, तर जनताले स्वीकारेन, बुटवलमा मेयर कांग्रेस,उपमेयर एमालेबाट आउनुभयो,बुटवलका जनताले कांग्रेस एमाले गठबन्धन बनाइदिए, त्यसैलाई आधार मानेर केन्द्रमा गठबन्धन बनेको छ’ खाणले भने ।
उनले गठबन्धन गरेर अब सोचेजस्तो परिणाम ल्याउन गाह्रो भएकाले अहिलेको गठबन्धनबाट परिणाम ल्याउन शुभकामना दिए ।
उनले एमालेलाई फकाउँदै र सरकारको प्रशंसा गर्दै सहमति सहकार्यबाट अघि बढ्नुको विकल्प नभएको बताए ।
नेता खाणले अहिलेको बजेट सन्तुलित र वस्तुपरक भएको बताउँदै अर्थमन्त्रीलाई धन्यवाद दिए । ‘लुम्बिनीलाई प्रधानमन्त्रीले ध्यान दिनुभएको छ, प्रदेशसभामा केही विषय बोल्नुभएको छ, पाणिनिमा नि बोल्नुभयो, अब पर्यटनको आधारबाट केही नयाँ काम गर्न सकिने आधार देखिएका छन्’ उनले भने ।
नेता खाणले भारतीय पर्यटकलाई सुरक्षा जाँचका नाममा धेरै सास्ती दिएको भन्दै ठाउँ ठाउँका चेकिङ हटाउनुपर्ने बताए ।

Leave a Reply