निजी विद्यालयका सञ्चालक भन्छन्,– सरकारले हामीलाई नियन्त्रण होइन नियमन गरोस्

चितवन । सरकारले निजी विद्यालयलाई नियन्त्रण नभइ नियमन गर्न चितवनका निजी विद्यालयका सञ्चालकहरुले सरकारसँग अनुरोध गरेका छन् ।

सरकारको पछिल्ला फेरिरहने नीतिका कारण निजी शैक्षिक संस्थाका लगानीकर्ता सँधै असुरक्षामा रहेका भन्दै उनीरुले सरकारसँग नियमन गर्न अनुरोध गरेका हुन् ।

चितवनमा १ सय ५३ निजी विद्यालय छन् । जसमा यस जिल्लामा अध्ययनरत ४८.६ प्रतिशत विद्यार्थी अध्ययन गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)चितवनका अध्यक्ष मदन पुरीले बताए ।

उनले जिल्लामा अध्ययनरत विद्यार्थीको करिब आधा विद्यार्थी पढाउने शैक्षिक संस्थालाई स्थानीय तह तथा केन्द्रीय सरकारले भने सँधै नियन्त्रण गरिरहने प्रवृत्तिका कारण निजी शैक्षिक क्षेत्र जोखिममा रहेको छ ।

हामी कम्पनीमा जान चाहँदैनथ्यौँ । सरकारको नियमले जानुपर्छ भन्योे गयौँ । अहिले पनि १० वर्षमा गुठीमा जानुपर्ने नियम आएको छ, अध्यक्ष पुरीले भने, – राज्यको नीति, नियम र परिधिभित्र रही पालिकादेखि केन्द्रसम्म तोकिएको सबै कर भुक्तानी गरेर विद्यालय सञ्चालनमा रहँदा पनि सरकारले हामीलाई नियन्त्रण गर्ने नीति लिएको छ ।

उनले एउटै पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीमा रहेर अध्ययन गरेका निजी विद्यलयका विद्यार्थीलाई समेत राज्यले छात्रवृत्तिमा विभेद, राज्यले गर्ने पुरस्कारमा समेत विभेद गरेको गुनासो गरे ।

चितवनबाट २०७९ सालको एसइइ परीक्षामा ६ जना विद्यार्थीले ४ जिपिए ल्याएकोमा ५ जना संस्थागत विद्यालयका विद्यार्थी रहेको उनले जानकारी दिए । त्यसैगरि २०८० सालको एसइइ परीक्षामा चितवनका २३ जना विद्यार्थीले ४ पिजिए ल्याएर उत्तीर्ण भएकोमा १९ जना विद्यार्थी संस्थागत विद्यालयको रहेका थिए ।

शैक्षिक नतिजामा पनि राम्रो गर्दै आएपनि सरकारले गर्ने विभेदका कारण समुदाय स्तरमा पनि निजी विद्यालय र यसका सञ्चालक प्रति नराम्रो टिप्पणी गर्ने उनले गुनासो गरे ।

प्याब्सन भरतपुर महानगर समितिका अध्यक्ष मीनराज बस्ताकोटीले निजी विद्यालय सञ्चालकको लगानीको संरक्षण नभएको, शुल्क निर्धारण पनि स्थानीय तहले मनोमानी ढंगले गरिदिने अवस्था रहेको बताउँदै थपे, – राजनीतिक दलहरु पनि हामीसँग एकथरी भाषा र जनतासँग निजी विद्यालयबारे अर्कोथरी भाषा बोल्ने गर्छन् ।

राजनीतिक दलका नेतृत्वले भोटको भाषा प्रयोग गरेर सार्वजनिक अभिव्यक्ति दिँदा निजी विद्यालयप्रति समुदाय स्तरबाट गरिने व्यवहार, टिप्पणी पनि राम्रो नभएको बस्ताकोटीले गुनासो गरे ।

देशभरका ८ हजार १ सय ४९ निजी विद्यालयमा दुई लाख जना हाराहारीमा शिक्षककर्मचारी कार्यरत रहेकोमा चितवनमा ५ हजार जना हाराहारीमा शिक्षक कर्मचारी कार्यरत रहेको पनि उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *