पलायो ओखरमा टप वर्किङ्ग, कृषक उत्साहित

डोटी। डोटीको सायल गाउँपालिका–५ का किसान लालबहादुर देउवाले चार वर्ष पहिले दुई सय २५ बोट ओखर लगाए । दाँते ओखरको व्यावसायिक खेती गर्ने उद्देश्यका साथ किसानीमा लागेका लालबहादुर ओखरको पहिलो फसलमै निराश भए । दाँते ओखर भनी लगाएका बोटमा हाडे ओखर फल्न सुरु भएपछि उनी आत्तिए ।

लालबहादुरले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेका थिए । ‘बिउको चुच्चो घोटेर लाउनु भन्नु भएको थियो कृषि प्राविधिकले, तर के पो बिग्रियो’ लालबहादुर भन्छन् ‘केही बोटहरू बाहेक अधिकांश हाडे निस्किए ।’

गत वर्ष उनले आफ्नो समस्या कृषि ज्ञान केन्द्रमा राखे । ज्ञान केन्द्रले उनलाई टप वर्किङ्गको विषयमा जानकारी दियो । परीक्षणको रूपमा गत वर्ष केही बोटहरूमा टप वर्किङ्ग गरियो पनि, तर ढिलो भएका कारण त्यति सफल हुन सकेन ।

‘यस वर्ष ज्ञान केन्द्रले समयमै टप वर्किङ्ग गर्‍यो, सबै हाँगाहरू पलाएका छन्’ उत्साहित हुँदै लालबहादुर भन्छन् ‘अब मेरो ओखर खेती गर्ने सपना पूरा हुन्छ ।’ उनको बारीका करिब ५० बोटमा यस पटक टप वर्किङ्ग गरेको थियो । लालबहादुर आफू मात्रै नभएर अन्य किसानहरूको बारीमा गरिएको टप वर्किङ्ग पनि सफल भएको बताउँछन् ।

हाडे ओखरलाई दाँते ओखर बनाउने उद्देश्यका साथ ज्ञान केन्द्रले ओखरका बोटहरूमा टप वर्किङ्ग (कलमी) गर्ने प्रविधि प्रयोग गरेको थियो । ‘हामीले गत वर्षनै टप वर्किङ्ग प्रविधि सुरु गरेका थियौँ, तर अलि ढिलो भएको हुँदा त्यति सफलता प्राप्त हुन सकेन’ ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भने ‘यस वर्ष बेलैमा टप वर्किङ्गको कार्य गर्दा सफलता प्राप्त भएको छ ।’

गत फागुन ४ गतेदेखि १५ गते सम्म डोटीमा ओखरका एक सय १७ बोटमा टप वर्किङ्ग गरिएको र तीमध्ये अधिकांश बोटहरूमा सफल भएको अवस्थीले जानकारी दिए ।

उनका अनुसार सायल गाउँपालिकामा ५०, आदर्श गाउँपालिकामा ३५, पूर्वीचौकी गाउँपालिकामा १५, जोरायल गाउँपालिकामा १० जोरायल र के आई सिंह गाउँपालिकामा ७ बोटमा टप वर्किङ्ग गरिएको थियो ।

‘टप वर्किङ्ग गरिएका हाँगाहरू पलाउनु भनेको प्रविधि सफल हुनु हो’ ज्ञान केन्द्रका प्रमुख अवस्थी भन्छन् ‘यसले फल लाग्ने ग्यारेन्टी भयो ।’ गत वर्ष परीक्षणको रूपमा ३२ बोटमा  टप वर्किङ्ग गरिएकोमा २०–२५ प्रतिशत मात्र सफल भएको उनले जानकारी दिए । उनले थपे ‘यस वर्ष ७०–८० प्रतिशत सफल भएको पाइएको छ ।’

के हो टप वर्किङ्ग प्रविधि 

टप वर्किङ्ग अर्थात् कलमी प्रविधि फल्न लागेका रुखमा गरिने प्रविधि हो । रुखको टुप्पो काटेर त्यसमा त्यसमा अर्को जातको फलको हाङ्गाँ रोप्ने गरिन्छ ।

ज्ञान केन्द्र प्रमुख अवस्थीका अनुसार हाडे ओखरको रुखको टुप्पो काटेर दाँते ओखर लगाइएको हो । दक्ष तालिम प्राप्त प्राविधिकहरूद्वारा टप वर्किङ्ग गरिने अवस्थीले बताए । उनले थपे ‘रुखमा नयाँ पालुवा आउनु भन्दा १÷२ हप्ताअघि टप वर्किङ्ग गर्दा सफल हुने सम्भावना अधिक रहन्छ ।’

उनले यसअघि डोटीमा मेलको रुखमा टप वर्किङ्ग गरि नासपाती रोपिएको जानकारी दिए । मेलमा नासपाती फलाउने प्रविधि सफल भएपछि ओखरमा परीक्षण गरिएको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *