शैलुङ-कालिञ्चोक, भीमेश्वर यात्रा : संसारभरले हेर्नुपर्छ यो सुन्दरता

दिनहरू अक्सर सामान्य नै हुन्छन् । त्यसलाई विशेष बनाउने काम मान्छेको हो । त्यसमा खुशी, सुख आनन्दले भर्न सकियो भने ती दिनहरू संसारको इतिहासमा ऐतिहासिक होस्-नहोस् आफ्नै इतिहासमा रोचक, रमाइलो र रसिलो दिन बन्दछ ।

दिनहरू राष्ट्रिय संवत्‌भन्दा पनि व्यक्तिगत चाडपर्वले विशेष बन्दछन् । जस्तो बिहेको दिन, जन्मदिन, सांस्कारिक पर्वहरू । अरू दिनहरूलाई पनि अरू विभिन्न कारणले विशेष बनाए भोलिका दिनमा आजको दिन सम्झँदा पनि ऊर्जा मिल्छ । आजकल त्यस्तै दिन खोजिरहेछु । बनाइरहेछु । यसैले नै हाइकिङ , ट्रेकिङ गरिरहेछु । यात्रा गरिरहेछु । कि किताबको यात्रा, कि अन्तर्मनको यात्रा कि दूर दराजको यात्रा ।

मानव जीवनमा उत्पत्तिकालदेखिकै विकास हेर्ने हो भने उसको बसाइसराइले महत्त्वपूर्ण भूमिका खेलेको छ । मान्छेभित्र अन्तर्निहित कुरा हो यात्रा । ऊ यात्रा गर्न खोज्दछ । आफ्नो लागि, आफ्नाको लागि । आफूभित्रको यात्रालाई बाहिर लैजान्छ र बाहिरको यात्रा आफूभित्र भित्र्याउँछ ।

२०८२ जेठ १० गते शनिबार यस्तै दिन बन्यो । भोलिको तयारीको आजै भन्ने जिन्दगीले सिकाएको छ । शैलुङ जानको लागि बेलुकी ९:०० बजे नै सुतेर बिहान ४ बजे उठियो । बिहान ५ बजे नै गाडी आउँछ भनेर । दुई दम्पती जाने भयौँ । दुवै दम्पतीको सम्पत्ति सम्झना बढाउने उद्देश्य थियो ।

सुरेन्द्र फुयाँल (एसपी) बाल्यकालको पदचाप भएको साथी थियो । ऊसँगका सम्झनाहरू एउटा किताब बन्ने किस्साहरू छन् उसका र मेरा । उसको श्रीमती निकिता अनि मेरो श्रीमती सिर्जना । दोलखाका लागि बाटो तताउने हामी चारजनाको एक साताअघिकै योजना थियो । सोही अनुरूप आजकल टिकटकमा पाउने यात्राको प्याकेज लिएका थियौँ । एकजनाको ४५ सय लाग्थ्यो ।

बिहानै गाडी घरमै आइपुग्यो । ५:२५ मा डिल्लीबजारबाट दुई जना टिपेछ । त्यसपछि हामी बुढाबुढीलाई । चाबहिल चोकमा भद्रबासका नगरकोटी र मगर बहिनीलाई लियो । पालो सुरेन्द्र-निकिताको थियो । उनीहरूलाई लामपोखरीबाट लिएर गाडीले रफ्तार लायो ।

बाटो विकासको पूर्वाधार हो भनेर सानैमा पञ्चवर्षीय योजनामा सुनेको अब हामी नै पैँतालिस प्लस हुँदा पनि त्यही सुनिरहेका छौँ । बाटो बन्दै गरेको बनेपा-धुलिखेल खण्ड हत्तेरी ! मान्छेलाई दण्ड दिनुपर्‍यो भने दशपल्ट धुलिखेल तीनपिप्ले यात्रा गर भने हुनेजस्तै लाग्यो । घल्च्याङ, घल्च्याङले मुन्टो नै दुख्ने भन्या ! हिँड्नेलाई केहीले रोक्दैन । पार गरिहालिन्छ जस्तो पनि । बल्ल खावा आइपुग्यो ।

आजकल यहाँ कफी हाउसहरू टन्नै छन् । खावामा खुवा, मही मस्तैले पाइन्छ । यहाँ कफी र बिहानको खाजा खाइयो । प्याकेजमा त्यो नपर्ने रहेछ । हामीले तिर्नै पर्‍यो । खाजा खाएर निक्लँदा ७:४३ भएछ । हामीले खाजा खाएको गौरीशंकर अर्ग्यानिक कफी एन्ड लस्सीमा एक फोटो लियौँ । २०५७ मा स्थापना भएको भनेर बोर्ड बोल्यो ।

३८ किलोमा ब्रेकफास्ट गरेपछि गाडी एकैपल्ट सुकुटे स्याण्डी बिच पुगेर रोकियो । त्यहाँ पुग्दा ८:१५ भएको थियो । हामीले हैन, इलेक्ट्रिक भेहिकल (ईभी) ले खाना खानैपर्ने भयो, ऊ निकै भोकाएको रहेछ । आधा घण्टा लाग्ने भएपछि बिच नभएको देशमा खोलाको किनारलाई बिच मानेर अरूले झैँ हामीले पनि फोटो खिच्यौँ । भिडिओ बनाइयो । सुकुटे लोकप्रिय भएको छ अहिले । मान्छेहरू एक रात नदी किनारमा सुस्ताउँदै भोटेकोसीमा बोटिङ गर्न यहाँ आउँछन् ।

सुकुटेको स्याण्डी बिचमा बालुवा र खोला हेर्दै एसपी र मैले कुरा गर्‍यौँ ‘ईभी त डीभीभन्दा खतरा रैछ है !’ डीभी परेर गएका नेपालीलाई डीभीको लत परेजस्तै हामीलाई ईभीको लत पर्नु पर्दछ भन्ने त्यसको सार थियो । पहाडी बाटोमा मज्जाले जाने यो गाडी दैनिक काठमाडौंबाट दोलखाका डाँडा सजिलै चढ्ने हाम्रो ड्राइभर राज खड्गीले बताइसकेका थिए ।

गाडीले चार्ज खाइरहँदा समयमा हामी पनि देशको विकासको मन्द गतिबारे कुरा गर्‍यौँ । एउटा पञ्चवर्षीय योजना नसक्दै बाटो बन्ने भनिएको हुन्छ । तीन वटा पञ्चवर्षीय सक्दा पनि नबन्ने दीर्घ रोगी भैसकेको छ हाम्रा योजनाहरू । यस्तो बाटोले गर्दा पेट्रोल, डिजेलको सत्यानाश त छँदै छ । टायर, धुलो, धुवाको धरपकड उस्तै छ ।

यस्तोमा यो देशमा ईभी गाडी प्रशस्त कर छुट गरेर दिनुपर्नेमा सरकारले कर बढाउँदै छ भन्ने त्रासले ईभी आएर थुप्रेको समाचारबारे कुरा गर्‍यौँ । एसपी र म निकैबेर यो विषयमा सरकार किन अभिभावकजस्तो नभएको होला भनेर चिन्तन-मनन गरियो । दुःखी भएर पनि सरकारलाई काम छैन त्यसैले दुःखी भइएन ।

केही समयअगाडि एक कार्टुन हेरेको थिएँ । जनता माछा मारेर टोकरीमा हाल्ने । सरकारले किसानले मारेको माछा उसको ठूलो टोकरीमा हाल्ने । सरकार मोटाउँदै जाने जनता दुब्लाउँदै जाने गज्जबको कार्टुन थियो त्यो ।

ईभी गाडी मज्जाले कर छुट दिए त एकातिर पैसाको बचत । अर्कोतिर तेलको बचत । टायर घोटिएर हुने हैरान पनि कम । वातावरण पनि राम्रो हुने । सुविधा बढी, सास्ती कमको कुराकानी नसक्दै गाडी हामीलाई लिन आइहाल्यो । खुशी लाग्यो, बेस्मारी धुवा फालेर दौडने बलेरो, स्कार्पियोलाई यस्ता ईभीले रिप्लेस गरेछ र गर्दै रहेछ । यो कुरा गम्भिररूपले सरकारले बुझेर टयाक्सी, ट्याम्पो र डिजेल बेस्कन फाल्ने धुवा गाडी हटाउँदै यस्तै गाडीलाई उच्च सुविधा दिँदा प्रदूषणरहित समाज बन्दै जानेमा हामी ढुक्क भयौँ । कुनै दिन यतैतिर सरकार नआई सुख्खै छैन भन्दै ढुक्कले यात्रा गर्‍यौँ ।

कुरा गर्दा गर्दै खाँडीचौर आइयो । त्यहाँको पुल क्रस गरेपछि दोलखा लागिहालियो । २५ किमी बाटोमा २२ घुम्ती पार गरेर गाडी मुडे पुग्यो । गाडीले मुडेको चिसोमा हामीलाई तताउने सुर गर्‍यो । भेज खाना प्याकेजमा रहेछ । हामी ननभेजवाला पर्‍यौ । निकिता माछा भेजवाला परिन् । चिकेन र माछाको पैसा तिरेर मज्जाले चिसोमा तातियो । मुडेमा मन मौसम जस्तै मज्जाको भयो ।

हुस्सुले एकैछिनमा छोप्ने मुडेमा याक, चौँरीको घिउ, आलु अनेक बेच्न राखिएको थियो । फर्केर आएर किन्ने भन्दै लागियो खाना खाएर शैलुङको यात्रा । बाटो केहीबेर गज्जब राम्रो थियो । नयाँ बस्तीहरू थपिएका । जस्ताहरू टल्किएका । मान्छेहरू चाइनिज ज्याकेट र सामानहरूले टिलिक्क टल्किएका । सरसफाइ पनि राम्रो देखिएको । आकाश खुलिरहेको । गफिँदै, बाहिर हेर्दै हामी अगाडि बढिरह्यौँ ।

देशभर डोजरे विकास हुँदैछ बाटोको । शैलुङमा जाने बाटो पनि बनिरहेको रहेछ । शैलुङकै साना पहाड जस्तै गरी एक साइडमा रोडा थुपारेर राखिएको रहेछ । अबको चार वर्षमा त बाटो मज्जाले बन्ला नि भन्ने लाग्यो । ठूला गाडी आउँदा साइड दिन अलिक गाह्रै हुने रहेछ । कहिलेकहीँ त जाम नै हुने रहेछ ।

लामो लामो बाटो ढलान रहेछ । पहाडमा पहिरोको जोखिम छ । त्यसैले पीचभन्दा ढलान नै राम्रो हो । लाङटाङमा देखेथेँ रसुवामा पनि बन्दै गरेको बाटोमा ढलान गरेको थियो । पहाडी र हिमाली बाटोमा ढलान उपयुक्त भन्ने लाग्यो । उकालो उक्लिएको उक्लियै हामी लगभग एक बजे शैलुङ पुगिहाल्यौँ ।

शैलुङमा सानो बजार रहेछ । यो त पुरै प्रख्यात भइसकेको ठाउँ । यहाँ मान्छे हज्जारौं आउने रहेछन् । चिया खाएर जाउँ, यता-यता भनेर कराएको देखियो । होटलहरू बनिरहेका । मान्छेहरूको लर्को देख्यौँ । पानी पर्ला भन्ने डर लागिरहेको थियो । बीच बाटोमा परेको पानीले बाटो हिलो भएर तल बुद्धको ठूलो मूर्तिनजिकै राज खड्गी भाइले गाडी रोक्यो । राज पनि दुई बहिनीहरूसँगै शैलुङ जाने भन्दै सँगै आए ।

हामी सँगै गएका एक दम्पती जो डिल्लीबजारका हुनुहुन्थ्यो । देख्दा पन्जाबी जस्तै उहाँहरूलाई ज्यानले साथ दिएन । ओर्लन साथ दिने ज्यानले उकालो नजा भनेपछि उहाँहरू त्यतै बस्नुभयो । हामी कुरा गर्दै फोटो भिडियो खिच्दै हाइक गर्दै उकालियौँ । दुवैतिर जंगलको बीचमा रहेछ दोलखाको मिनी ग्रेटवाल भनिने पर्खाल । ५ हजार मिटर लामो पर्खालको आकर्षणले थप आकर्षण थपेको छ । यहाँ भिडियो बनाउन पनि मान्छे धुरिने रहेछन् ।

संघ, प्रदेश र स्थानीय सहयोगमा बनेको त्यो पर्खालको बीचबाट हिँड्दा रमाइलो लाग्यो । स्थानीय निकायले त्यहाँ शुल्क लगाउने छाँटकाँट गर्दै रहेछ । अघिको माछा र किसानको कार्टुन यहाँ पनि सम्झे ।

हाम्रो देशमा सबैभन्दा ठूलो व्यापारी सरकार पो भयो कि झैँ अचम्म लाग्छ । सामाजिक सञ्जालले पर्यटक बढाउँछ । स्थानीय निकाय आफैँले बढाएको भनेर मान्छे बढेपछि औला भाँचेर क्यालकुलेटर थिचेर शुल्क लगाउन थाल्छ ।

जंगलको केहीबेरको बाटो हिँडेपछि सुन्दर शैलुङको परिदृष्य देखियो । वाउ शैलुङ ! आँखा शान्त भयो ! कान आनन्दित भयो ! मन खुशी बनाए कान र आँखाले ! शरीरका कोषिकाहरू अनायासै हाँस्न थाले ! मनमा खुशीको बतास चल्न थाल्यो । ओठहरू अनायासै मुस्कुराउन थाले । नबोलीकन संवाद हुन थाल्यो शैलुङसँग । हरियो डाँडाले हरियाली बनायो मन ।

कुन्ती मोक्तानले गाएको श्रवण मुकारुङले रचेको गीत सुनेको थिए । माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई ….. । त्यहाँ गएपछि थाहा पाए यो त साँच्चै निक्कै माथि नै रहेछ । ३ हजार ८ सय मिटरको उचाइमा चौँरी पनि देखेँ । चौँरी चराउने र हत्केलामा गुराँस फुलाउनेहरू भने देखिनँ । .

महाभारत पर्वतको सबैभन्दा अग्लो डाँडा हो शैलुङ । दोरम्बा (रामेछाप) र दोलखाको सिमानामा पर्ने यो रोमान्टिक ठाउँ रोचक छ । अग्लोमा झन् अग्लाई थप्ने टावर छ शैलुङको भ्यू प्वाइन्टमा । टावर छिर्न २० रूपैयाँ लाग्ने रहेछ । शैलुङ हाम्रो नेपालको सुखद खबर हो । यहाँ आउन पाउनु पनि सुखद संयोग । सहज ,सरल र सरस यहाँका मान्छेसँग कुरा गरेर बस्नु सुरमा सुर मिसिनु हो । यस्तै लाग्यो शैलुङ डाँडा चढेपछि ।

आँखामा सर्लप्पै हालौँ जस्तो शैलुङमा बसिरहँदा बसिरहूँ झैँ लाग्यो । चौरमा पल्टँदा पल्टिरहूँ झैँ लाग्यो । गफिँदा गफ गरिरहूँ झैँ लाग्यो । जे गर्‍यो त्यही गरिरहन मन लाग्ने नशालु ऊर्जा भएको डाँडो जस्तै लाग्यो ।

हरेक डाँडामा मान्छेहरू बसेर आआफ्नो तालमा झुमिरहेका थिए । मान्छे अपार भएपछि त्यहीँ चल्ने हो व्यापार । त्यहाँ पनि एक बोतल पानीको ५० रूपैयाँ र एक चाउचाउको ४० लिने रहेछन् । तामाङ ड्रेस लगाउने वा घोडामा एक चक्कर तपाईँलाई मनोरञ्जन दिएर पैसा लिन यहाँ हाजिर छन् व्यापारीहरू ।

शैलुङ अवर्णनीय छ । बौद्ध गुरुले मुठी चामल राखेकोले धानको रासजस्तो थुम्का भएको जनविश्वास छ । १०८ मध्ये जुन थुम्का चढेर हेरे पनि आनन्द आउँछ । ऋतुअनुसार रङ्ग फेरिरहने शैलुङमा बाह्र महिना पर्यटन चल्न सक्दछ । मंसिर , पुस , माघमा मस्तै हिउँ पर्दछ । चैत्र वैशाखमा गुराँस । असार साउनमा हरियाली । असोज कात्तिकमा मौसमको मादकता ।

यो ठाउँबाट हिमालहरू औला मुनि देखिन्छ । गौरीशंकर, अन्नपूर्ण , मनास्लु, गणेश हिमाल, लाङटाङ नुम्बुर र सगरमाथासम्म दर्जनौँ हिमाल देखिन्छ । प्रकृति , संस्कृति र अध्यात्मको त्रिवेणी यहाँबाट सूर्यास्त र सूर्योदय हेर्दा सुन्दरतम सुन्दर देखिन्छ । तामाङ भाषाले बनेको शैलुङ भनेको सय थुम्का भनेको हो । शैलुङ्गेश्वर महादेव र गोदावरी गुफाको अलावा डाँडामा गुरु पद्यसंभवको पाइला, माने र चैत्य छन् । जति मान्छे बढ्दै छन् । यसको महिमा झन् बढ्दै गएको छ ।

यहाँबाट फर्कँदा चौँरीको घिउ, छुर्पी, सुकुटी, आलु किवी च्याउ कोसेली ल्याउन सकिन्छ । शैलुङको बेस क्याम्प हो खोलाखर्क । त्यहाँसम्म मोटरबाइक, जीप वा बस जान्छ । आजकल त टिकटकमा ईभी बसका प्याकेज प्रशस्तै पाइन्छ ।

टुप्पोमा जान आउन गरेर दुई घण्टा यता-उता गरेर एक घण्टा अलमल गरेपछि हामी फर्कियौँ । गेटमा दूधको मीठो चिया र मकै खाएर हामी अर्को यात्रामा लाग्यौँ ।

०००

अबको हाम्रो जाने ठाउँ थियो कालिञ्चोक । दोलखाकै प्रसिद्ध ठाउँ कालिञ्चोक जान फेरि मुडे फर्केर चरिकोट हुँदै कुरी जानु पर्दथ्यो । बाटो यता पनि उस्तै । जति जति उकालो उति उति बिग्रेको । चार बजे हामी शैलुङबाट हिँडेको कुरीमा गाडीले कन्दै कन्दै आउँदा ८:३० बजायो । माथि डाँडाबाट तल देखिएको कुरी बजार हेर्दा त आहा ! लाग्यो ।

संसारको कुनै सुन्दर शहरमा आए झैँ लाग्यो । बत्ती झलमल्ल बलेको गज्जबै देखियो कुरी । कुरीको कुरीकुरी कौतुहल थियो । हामीसँगै आउने नगरकोटी नानीले भनिन् ‘यसको रातको ड्रोन सट लिएर हालेको भिडिओ हेर्दा कसैले पनि कुरी भनेनन् , यूरोपको कुन शहर भने, त्यस्तो व्युटिफूल देखिएकोले पनि म त आएको हेर्न ।’

मनमोहक त्यो ठाउँ जति तल आयो उति चिसो छायो । चरिकोटबाट १७ किमी उत्तर कालिञ्चोक गाविसमा ३८४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवती भोलि जानु थियो । कुरीमा जाडोले कुनै लुगा खोल्न मन लागेन । यस भन्दा अगाडि युलेन्स स्कुलले माघ महिनाको जाडोमा छोरी सिमललाई टूर ल्याएको थियो । छोरीले भनेकी थिइन् ‘कन्ट्री भिल्लामा बस है बाबा, बेड हिटिङ पनि छ ।’ काठमाडौंमा जेठको गर्मीले हपक्क भइसकेको हामी त कुरी ओर्लने बित्तिकै जाडोले थुरुरु भयौँ । क्याम्प फायर गर्ने व्यवस्था रहेछ । गाउँदै नाच्दै , खाना खाँदा १०:०० बज्न लागिगो ।

सुत्ने बेलामा पनि ओढ्ने ओछ्याएर ओढ्ने नै ओढेर सुतियो र अलिक तातो भयो । बिहान ६ बजे उठ्नु पर्दछ भनेर राजले भनेका थिए । बिहान उठ्नै नसक्ने आफ्नो बानी छ । यता उता गर्दा ७:०० बजे उठेँ । आहा कति सुन्दर सूर्यको लालिमा कुरी बजार । म त आल्हादित भएँ । माथि कालिञ्चोक मन्दिर पनि देखिएको थियो । पहाडहरू मज्जाका सैनिक परेड खेल्न उभिए झैँ उभिएको देखेँ ।

सेतो बादल नीलो आकाश । चिसो मौसम । घामको तातोले तात्दै गरेको बिहान बहुत सुन्दर लागिरहेको थियो । चिया र खाजा नखाई हामी केबुलकारतिर दौडियौँ । कारण थियो बादल लाग्यो भने हिमाल देखिँदैन । ६ वटा केबलकार दोलखाका मात्र हैन देशकै धनाढ्य बालकृष्ण शिवाकोटीले खोलेका रहेछन् । एकजनाको ६ सय लिने रहेछ । व्यापार गर्न जानिसकेका शिवाकोटीले त्यो पब्लिक लिमिटेड कम्पनी बनाइसकेको रहेछन् । अब केही समयमा त्यो डाँडोमा बाटो पनि पुग्दै रहेछ । कुरीबाट मान्छेहरू पैदल यात्रा गरेर पनि जाँदा रहेछन् । एक डेढ घण्टाको त्यो बाटो रहेछ ।

त्यो पहाड । त्यो चरा । त्यो चौँरी । त्यो चित्ताकर्षक चित्रहरू मनले खिचिरहेको छ कालिञ्चोकको । माथि गएँ । त्रिशूल र घन्टले कुरूप पार्दै लगेको कालिञ्चोक देखेँ । बली सानो पाठाको दिने कुराले मन विह्वल बन्यो । पुजारी सागर तामाङ स्याङ्तानसँग कुरा गरेँ । थाहा पाएँ । भेडाले गर्दा पत्तो लगाएको मन्दिर रहेछ ।

प्राचीन समयमा कुरीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोक भएरै ल्याउनु पर्दथ्यो । यहाँ एक किसानको सात वटा भेडा हराएछ । तल खर्क थियो । भेडाहरू यहाँ आएर दूध चढाएछन् । गोठालाहरू काम्दै आए । अबीर, केशरी, धूप, भेटी चढाएपछि भेडा हराउन छाडेको जनविश्वास रहेछ । त्यहाँदेखि उनका पूर्खाले यसलाई काली माताको मन्दिर भन्दा रहेछन् । माथि डाँडामा पुगेपछि चोक जस्तै सानो उच्च समस्थल छ । कालीको चोक भन्दै जाँदा कालान्तरमा कालिञ्चोके माई भनिन थालिएको पुजारी सागरले सगर्व सुनाए ।

यहाँ बेला बेलामा लाइन बसेकालाई पुजारीले आएर जल छर्कन्छन् । अचम्म यो लाग्यो त्यो जलरूपी कुण्डको सानो पँधेरो कहिल्यै नभरिने र कहिल्यै नसुक्ने रहेछ । हरेक भगवान्‌को एक एक अलौकिक कुराहरू हुन्छन् । कालिञ्चोकको अलौकिक कुरा त्यहि रहेछ । किंवदन्तीअनुसार जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ ।

मन्दिर परिसरमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान रहेको मानिन्छ । त्यही कुण्ड नै साक्षात् मानेर कालिञ्चोक भगवतीको पूजा गरिन्छ । अहिले बाहिर राखेको मूर्ति त केही वर्ष अगाडिमात्रै ल्याइएको रहेछ ।

स्कन्द पुराणमा कामचाल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक हो भन्ने पनि छ । तीन हजार वर्षसम्म पार्वती (काली) ले तपस्या गरेर राक्षस मारेको ठाउँ पनि कालिञ्चोक नै हो भनिन्छ ।

आजकल कालिञ्चोकमा हप्ताको ८/१० हजार मान्छे आउने रहेछन् । शनिबार त कुरी बजारमा भिड हुँदो रहेछ । कालिञ्चोकबाट कुरी बजार वरपरका डाँडा, हिमाल, बादल, खर्क, जंगल, परका गाउँहरू त्यहीँ बसेर हेरिरहूँ झैँ लाग्ने यति सुन्दर देखिन्छन् । अचानक हिउँ र असिना पर्ने भएकोले सुरक्षित हुनु, लालीगुराँस र चिमालको फूल नटिप्नु , केही परे मन्दिर व्यवस्थापन समितिलाई भेट्नु भनेर सूचना टाँसिएको छ ।

कालिञ्चोक भगवतीका सात भगवती दिदीबहिनी भन्ने चलन रहेछ । काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवतीलगायत रहेछन् । यहाँबाट देखिने रोल्वालिङ हिमश्रृंखला मनोरम छन् । प्राकृतिक, धार्मिक, आध्यात्मिक दृष्टिले कालिञ्चोकको महिमा बढ्दै बढ्दै जाँदैछ । यहाँ, जनै पूर्णिमा, दशैँ, चैते दशैँमा मारामार भिड हुन्छ । चरिकोटबाट पैदल यात्रामा छ घण्टामा आउने यो ठाउँको आकाश , हिमाल , हावा , फूल , चरा चमत्कारिक छन् । चिसो च्वाँस्स हुने चम्किलो यो ठाउँमा बसिरहँदा शरीरमा ताजापन आउँछ ।

सात बजेर १० मिनेटमा पुगेका हामी पौने नौ बजेसम्म बस्यौँ ।

०००

अबको हाम्रो यात्रा थियो, दोलखा भीमसेन । सानैमा सुन्थेँ- दोलखा भीमसेनलाई पसिना आयो रे अब के हुने हो ? त्रास वा वास्तविकता केही थाहा नभए पनि हाम्रै घरको बुढी आमा यसै भन्नुहुन्थ्यो । त्यो किंवदन्ती अझै छँदैछ ।

मलाई लाग्यो यसको मन्दिर परिसर , भीमसेनलाई मज्जाले दर्शन गर्दछु र बुझ्दछु । सिर्जना लाइनमै थिइनन्, निकिता पनि लाइन लागिन् । मलाई सजिलो भैहाल्यो । सुरेन्द्र सत्रपल्ट आइसकेकोले ऊ छिरेन ।

बडेमानको आँखीझ्यालमाथि दुई नागले गजुरलाई पहरा दिएका छन् । भित्र छिरेर पूजारीलाई सोधेँ ‘कुन थरीको पुजारी हुनुहुन्छ नि !’

उहाँले भन्नुभयो ‘हामी श्रेष्ठ हौँ यहाँको पुजारीहरू ।’ फूलले ढपक्कै ढाकिएको थियो भीमसेनको मूर्ति । मलाई नहेरी नजाऊँ झैँ लाग्यो र भनेँ ‘खै त मूर्ति कहाँ छ त ?’

मलाई मूर्तिहरू हेर्दा कलाकारलाई सम्मान गरे झैँ गर्व लाग्दछ । अनि अनायासै मेरा हात अलिअलि धर्मको कारणले पनि होला र अर्को चेतनामा कलाकारको कारणले जोडिन्छन् र नमस्कार गर्दछु ।

मैले त सोचेथेँ । पशुपतिमा भैरवको मूर्ति देखेको त्यस्तै भयंकर भैरवको मूर्ति होला । त्यहाँ सानो तीन चोसे ढुंगाजस्तै रहेछ ।

अनि सोधेँ ‘पसिना कहाँ र कसरी आउँछ त ?’

उहाँले भन्नुभयो ‘पसिना आउँदा त्यो चढाइरहेको पानीहरू सुकेर तातो हुन्छ , कहिले देब्रेतिर र कहिले दाहिनेतिर आउँदछ ।’

दोलखा भीमसेनको यो कुरा रोचक लाग्यो । कुनै धातुको खानी पो रहेछ कि के ले पानी सुकाउने होला ? भन्ने लाग्यो । यसको वैज्ञानिक अनुसन्धान हुन अति नै जरुरी छ भन्ने लाग्यो ।

त्यहाँ पनि पुस्तौँदेखि चढाइएको त्रिशूलले विरूप पारेको कुरूप ठाउँ देखेँ । मन खिन्न भयो । एक त्रिशूल बराबरको दान गरेको भए पनि मान्छेले पाउँथे भन्ने लाग्यो । आस्था हो किन के भन्नु भने झैँ पनि लाग्यो । त्यही चढाएर मन प्रफुल्ल पार्नेहरू हुनुहोला । यो विचित्रको दुनियाँमा आफ्नो सचित्रको मात्रै कुरा गर्नु हुन्नँ भन्ने मनमनै संवाद गरे ।

यसको इतिहास र संस्कृति जान्न मन लाग्यो । पौराणिक कालमा दोलखा शहरमा पाण्डवहरू गुप्तवास बसेको र त्यो बेला प्रयोग भएको सांकेतिक भाषा नै आजको दोलखाली नेवारको भाषा हो भन्ने किंवदन्ती रहेछ । यहाँको त्रिभूज आकारको कालो शिला नै भीमेश्वर वा भीमसेन वा भैरव मानिन्छ ।

यसको इतिहास किरात राजादेखि लिच्छवी , मल्ल र शाह सबै राजाको नाम आउँछ । यहाँ युधिष्ठिर र अर्जुन बाहेक कुन्ती, द्रौपदी, नहकुल र सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ । पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा मन्दिरको पूर्वको चामपूजा डाँडामा बसी गौरीशंकर भगवानको प्रार्थना गरेको मानिन्छ ।

किंवदन्तीअनुसार त्रिभूज शिलामा भरियाले दुई ढुंगा अरु ल्याएर भात पकाए ओदान जस्तै बनाउँदा त्रिभूज शिलाको भात काँचै भयो । भोकाएका भरियाले त्यो शिलालाई हिर्काउँदा दूध र रगत आएपछि उनीहरू डराएर माफ मागी पूजा गरेको किंवदन्ती रहेछ । सुनखानीका १२ भरियाका सन्तानले प्रत्येक बडा दसैँमा अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन नै चलेछ ।

ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यो मन्दिरलाई भविष्यको सूचक मानिन्छ । १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५८, २०६३, २०७२ र कोभिडअघि पनि यो मन्दिरमा भीमसेनलाई पसिना आएको इतिहास रहेछ । कपासले पसिना पुछेर पहिले दरबार पठाउने र अहिले राष्ट्रपतिलाई बुझाइन्छ ।

अचम्मको कुरा मान्ने कि नमान्ने ? यहाँ पसिना आएको छ महिनामा कि राजनैतिक कि प्राकृतिक संकट हुने रहेछ । व्यापारीका इष्ट देवता भीमसेनस्थान पुग्न चरिकोटबाट जम्मा चार किलोमिटर मात्रै हो । भयमुक्त भैरवलाई सम्झनासाथ भयबाट मुक्त हुने बुढापाकाले बताउँछन् ।

दोलखाका तीन पवित्र ठाउँ घुमेर दोलखाली चेली निकितासँगै कुरा गर्दै फर्कँदा दोलखाबारे बुझ्न मन लाग्यो । एक जोगीले दुई लाख पल्ट एकै ठाउँमा परिक्रमा गरेको । भारत र तिब्बतको व्यापारको लागि वनगढमा बसेको नेवारको बस्ती र त्यहाँबाट प्राप्त २ लाख, दुई लखा हुँदै भएको दोलखा होस् वा तिब्बती भाषमा दो अर्थात् ढुङ्गा, ल अर्थात् मन्दिर र खा को अर्थात् घर ढुङ्गाबाट बनाइएको मन्दिर र घरहरू भएको भनेर बनेको दोलखा होस् ।

हामी दोलखाका तीन तीर्थ गएर फर्कियौँ । तिब्बतसँग सिमाना जोडिएको चिसो जिल्लाका तीन तीर्थ धार्मिक, प्राकृतिक आध्यात्मिक ऐतिहासिक ठाउँ लाग्यो । कत्ति मान्छे गएर आए होलान् । कत्ति जाँदै होलान् । तर, यी पाइलाहरू त्यही छाडेर हामी दुई दम्पती सम्झनाका सम्पत्ति पोको पार्दै ११ जेठ रातको आठ बजे घर आइपुग्यौँ ।

Comments

2 responses to “शैलुङ-कालिञ्चोक, भीमेश्वर यात्रा : संसारभरले हेर्नुपर्छ यो सुन्दरता”

  1. Raju Prasad Avatar
    Raju Prasad

    लौ यो यात्रा पनि पढियो । अब अर्को यात्राको प्रतिक्षामा । 🙏♥️🙏

  2. पूर्ण ओली Avatar

    मलाई पनि किताबको यात्रा, अन्तर्मनको यात्रा र दूर दराजको यात्रा नै सबसे मनपर्छन् । कमल सरको लेखनीको पछि लाग्ने हो भने त झन् छोड्नै मन लाग्दैन । कता पुर्‍याउनुहुन्छ कता । अत्यन्तै मनोरञ्जक । सीमाभञ्जक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *