काठमाडौं । पछिल्लो छिमलका कवि सञ्जीत फलानाको कविता संग्रह ‘पेरुङ्गे चेप र नागबेली सपना’ भर्खरै बजारमा आएको छ । संग्रहमा सञ्जीतका ४४ कविता समावेश छन् । सञ्जीतका कविताहरूले मूलतः किनारीकृतहरूको पहिचानसहितको आवाजलाई सम्बोधन गर्ने गरेका छन् ।
सीमान्तमा बाँचेका मानिसहरूको पक्षमा कलम चलाउन रुचाउने इलामका सञ्जीत समालोचना तथा आख्यानमा पनि उत्तिकै दख्खल राख्छन् । करिब एक दशक शिक्षण पेशामा बिताएका उनी लामो समयदेखि लेखनमा सक्रिय छन् । हाल उनी सम्भव समूहमा आवद्ध रहेर लेखनसँग सम्बन्धित विभिन्न गतिविधि र अभियानमा समेत सक्रिय छन् ।
उनै कवि सञ्जीत फलानालाई अर्का कवि उत्तम तुम्सा लिम्बूले पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ कविलाई कविकै प्रश्नअन्तर्गत गरिएको वार्ताको सम्पादित अंशः
– हालसालै ‘पेरुङ्गे चेप र नागबेली सपना’ बजारमा ल्याउनुभयो । यो नामको अर्थ खुलाइदिनुस् न !
खासमा यो कृतिको नाम सुरुमा अर्कै केही थियो, तर पछि अलि बढी सार्थक बनाउँ भनेर ‘पेरुङ्गे चेप र नागबेली सपनाहरू’ राखेँ । यो नामको त्यस्तो मूर्त अर्थ त छैन, तर यसले मेरा कविताहरूको आधारभूमिप्रति भौगोलिक नोस्टाल्जिया समेटेको छ ।
– तपाईंले अहिले शिक्षण पेशा अचानक छाड्नुभयो । यसरी अचानक जागिर छाड्नुका पछाडिको कारण कविता नै हो वा अरू केही ?
खासमा म २०७१ बाट २०८१ सालसम्म लगभग एक दशक शिक्षण पेसामा आवद्ध रहेँ, तर मैले शिक्षणमा उति इन्जोय गर्न सकिनँ । त्यही भएर यही वर्षबाट छँदाछँदैको राहतको जागिरबाट स्वेच्छिक राजीनामा दिएँ । जागिर छोड्नुको पछाडिको कारण कविता र कविता जस्तै अरू केही नै हो ।
– तपाईं किन कविता लेख्नुहुन्छ ? कस्तो अवस्थामा तपाईंलाई कविता फुर्छ ?
सुरुमा त रहरले लेखे हुँला । पछिपछि लेख्ने लत बस्यो । नलेखी बस्दा मन मान्न छाड्यो । लेख्न नसक्दा त झन् बिरामी भए झैँ हुन्थ्यो । आत्मसन्तुष्टि र स्वान्त सुखायको निम्ति लेख्दालेख्दै कविताप्रतिको जिम्मेवारीबोधले बाँध्यो । अहिले भने प्रगतिशील र समाजको लागि आवश्यक चेतना निर्माणमा केही इँटा थपौँ भनेर लेख्ने गर्छु ।
अर्को कुरा, कविता फुर्न अवस्थाले अर्थ राख्छ । मलाई कुनै घटनाले तत्काल क्लिक गर्यो भने वा कुनै विचारले लामो समयसम्म दिमागलाई तरंगित बनायो भने त्यो क्षण कविताको लागि ओथारो बस्ने समय बन्छ ।
– भनिन्छ, राम्रो कविले कवितामा आफ्नै सिग्नेचर भाषा, संरचनाको निर्माण गरेका हुन्छन् । अनि तपाईं चाहिँ सिग्नेचर बनाइसकेको कवि कि सिकारु ?
कवितामा आफ्नै सिग्नेचर भाषा बनाउन लर्तरो कुरा होइन । त्यसको लागि लामो समयसम्मको निरन्तर साधना र अथक मेहनेत साथै कविताप्रति नवीन दृष्टिकोण चाहिन्छ । जस्तो कि अग्रज कविहरू श्रवण मुकारुङ, स्वप्निल स्मृति र मनु मञ्जिललगायतले आफ्नै सिग्नेचर भाषा र संरचनाको डक्ट्रिन निर्माण गरेका छन् ।
मेरा कविताहरू विचारप्रधान भए पनि लेख्दाखेरि भरसक क्राफ्टमा खेल्न मन पराउँछु । नयाँ क्राफ्ट बनाउन पाउँदा मलाई साह्रै खुसी लाग्छ । यस आफ्नो सिग्नेचर भाषा र संरचनाको निर्माणमा सचेत भएर सकेसम्म मेहनत भने गरेको छु, तर अझै पनि त्यो कर्मले सार्थकता भने पाएको ठान्दिनँ ।
– तपाईं त अरुको कृतिमाथि पनि समीक्षा लेख्नुहुन्छ । अन्य कविको सवल र दुर्बल पक्ष छुट्याइरहँदा आफ्नै कविताहरू दुर्बल हुनबाट जोगाउन सक्नुभयो त ?
मैले पछिल्लो तीन वर्षमा कविताहरूमाथि लगभग आधा दर्जन समीक्षा लेखेँ । समीक्षक भएर सिर्जनाहरूमाथि बोल्नु जति सजिलो छ, कविता लेख्न उति नै गाह्रो छ । मेरा कविताहरू मेरो ज्ञान, अनुभूति, बुझाई र वैचारिकीले निर्मित भएका छन् । त्यसमा केही सबल पक्षहरू साथै केही दुर्बल पक्ष पनि होलान् । आशा छ, समीक्षाको कठघरामा म उभ्याइनेछु र उभिन पनि जरुरत छ ।

Leave a Reply