३५ वर्षअघिको ‘तिमी तारे भीर’को रचना गर्भ: तीन सर्जकका आआफ्नै तर्क

काठमाडौं । ३५ वर्षअघि निर्मित गीत ‘तिमी तारे भीर’ यस्तो गीत हो, जुन गीतले संगीतकार, गीतकार र गायिकाकै करियरलाई माथि उठाउन सहयोग गर्‍यो । यो गीत पछिल्लो पुस्ताका स्रोता/दर्शकमाझ पनि उत्तिकै लोकप्रिय छ ।

संगीतकार शान्तिराम राईको डेव्यु संगीत रहेको यो गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द छ भने पवित्रा सुब्बाको स्वर । पछिल्लो समय गायक रेवत राईले यस गीतको मेल भर्सन गाएका छन् ।

एउटा सुन्दर गीत बन्नुमा कसको मुख्य भूमिका हुन्छ ? संगीतकारको, गीतकारको वा गायकगायिकाको ? सबैको आआफ्नै तर्क होलान् । धेरैले के विश्वास गर्छन् भने शब्दलाई जिउँदो बनाउने संगीतले हो । राम्रो संगीतविना जुनसुकै महान शब्द पनि मृत बनेर जान्छ । अर्काथरीको विश्वास हुन्छ, राम्रो शब्द नभइकन राम्रो संगीत निस्कन सक्दैन । राम्रो संगीत नभइकन राम्रो गायन सम्भव हुन्न ।

मूल कुरा के हो भने राम्रो गीत बन्नुमा संगीतकार, गीतकार र गायकगायिका तीनै चिजको महत्वपूर्ण भूमिका हुन्छ । यतिमात्रै होइन, गीत तयार हुँदा वाद्यवादनमा आफ्नो जादु भर्ने कलाकार, संगीत एरेन्ज गर्ने एरेन्जरलगायत धेरैको मेहनत र पसिनाको उपज हो एउटा सुन्दर गीत । धेरै दर्शक/स्रोताको के विश्वास छ भने ‘तिमी तारे भीर’ पनि सबै कुराको संयोजन भएको सुन्दर गीत हो, तर यो गीतको रचना गर्भमाथि शान्तिराम, श्रवण र पवित्रा तीनै जनाको आआफ्नै प्रसंग छन् । सँगै तीनै जनाको आआफ्नै नोस्टालजियासमेत छन् ।

तीनै जना सर्जकले नेपालप्रेसमा फरक-फरक समयमा यो गीतको रचना गर्भ सुनाएका छन् । नेपालप्रेसकर्मी नवीनकाजी राईलाई तीनै सर्जकले सुनाएको रचना गर्भको फरक-फरक सन्दर्भलाई यहाँ एकतित्र गरिएको छ ।

पवित्रा सुब्बाले फिलर गीतको रूपमा एल्बममा समेट्नुभएको थियो: शान्तिराम राई

गायक शान्तिरामले संगीतकारको अवतार लिएको पहिलो गीत यही नै हो । त्यसवेला शान्तिराम सिर्फ गायक थिए । गायक बन्न नै खोटाङको सोल्माबाट काठमाडौं हान्निएका थिए, २०४५ सालमा । २०४६ सालमा त रेडियो नेपालमा भ्वाइस टेस्ट नै पास गरेका थिए । गायक शम्भु राईको संगीतमा समेत गीत रेकर्ड गराउन भ्याइसकेका थिए ।

गायकको लय पक्रिएका शान्तिराम अन्ततः गीतहरूको लय निर्माणतिर लागे । त्यसवेला उनी लाजिम्पाटमा बस्थे । रेडियो नेपालको स्टेसनमा पुग्न सिंहदरबार धाउँथे । सिंहदरबारभित्र छिर्ने परिस्थिति निर्माण गर्नै समय लाग्यो उनलाई ।

विस्तारै कला क्षेत्रका मानिसहरूसँग शान्तिरामको संगत बढ्दै गयो । त्यही माहोलमा कवि श्रवण मुकारुङसँग उनको चिनजान भयो । शान्तिराम-श्रवणको मैतीदेवीमा बसाइ पनि नजिक नजिक नै थियो ।

एक दिन श्रवणले दुई गीत लिएर आए- ‘तिमी तारे भीर’ र ‘बाटो हेरे हुन्छ आमा’ । संगत बढ्दै गएपछि श्रवणले बेलाबेला भन्थे, ‘कहाँ गीत गाएर हुन्छ शान्तिरामजी ? अम्बर गुरुङ, गोपाल योञ्जन जस्तो पो हुनुपर्छ ।’

श्रवणले ल्याएकामध्ये पहिलो गीतको कम्पोज सुरु गरे शान्तिरामले ।

‘श्रवणजीसँग हर्लिक्सको बोतलमा ल्याएको सेतो रक्सी खाँदै, भटमास र अदुवाको सितन लिँदै रातको १ बजेसम्म गीतको कम्पोज गरियो । म हार्मोनियम बजाउथेँ, उहाँ गितार बजाउनुहुन्थ्यो । गीत गाउँदै टेप रेकर्डमा रेकर्ड गर्दै सुन्थ्यौं’, उनी भन्छन्, ‘आफैंले कम्पोज गरेको गीत सुनेपछि आहा ! खत्रा बनेछ भन्थ्यौं । गीतले खायो खायो भन्थ्यौं ।’

गीतको कम्पोज तयार भएपछि एक जना चर्चित गायिकालाई सुनाउन दुई जना कुपण्डोल पुगे । श्रवणले शान्तिरामलाई कन्भिन्स गरेका थिए- ‘मैले चिनेको छु उहाँलाई । एक सटमै मान्नुहुन्छ ।’

परिस्थिति श्रवणले भने जस्तो भएन । ती गायिकाले गीतलाई सीधै रिजेक्ट गरिन् । गीत यतिकै थन्कियो । अलि पछि निर्देशक नवीन सुब्बाले गायिका पवित्रा सुब्बालाई गीतबारे बताएछन् । पवित्रालाई गति सुनाउन दुवै जना गए । पवित्राले पनि गीत मन पराइन् ।

‘मन परेरै भन्दा पनि त्योवेला क्यासेटमा आठ वटा गीत राख्नुपर्ने थियो । उहाँ गीतको खोजीमा हुनुहुँदा हाम्रो गीत फेला परेको रहेछ’, शान्तिराम सुनाउँछन्, ‘गीत बनेपछि उहाँले क्यासेटको ‘बी’ साइडमा राख्नुभयो । ‘ए’ साइडतिर चाहिँ राम्रा र छानिएका गीत हुन्थे । ‘बी’ साइडमा फिलर गीत हुन्थे । त्यसवेला हाम्रो गीतलाई ‘ए’ साइडमै एक नम्बरमा राखेको भए के जान्थ्यो भन्ने भएको थियो ।’

निर्देशक नवीन सुब्बाले भन्नुभएपछि पवित्रा सुब्बालाई गीत दिएको हो: श्रवण मुकारुङ

त्यसवेला श्रवण २२-२३ वर्षका थिए, युवा गीतकार तथा कविको छवि बनाइसकेका थिए । त्यहीवेला शान्तिरामसँग उनको भेट भयो । किराँत राई यायोख्खाले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा श्रवणले आफ्नै गीत गाए, ‘जानु छ साथी मायाको देशमा, कुन फूल लिएर जाउँ ?’

मुकारुङलाई गायक शम्भु राई र स्वर्गीय प्रवीण गरुङले साथ दिए । सो कार्यक्रममै संगीतकार शान्तिरामले चाम्लिङ भाषामा लोकगीत गए ।

श्रवण सुनाउँछन्, ‘त्यही हाम्रो परिचय भयो । दोस्ती सुरु भयो । हामी दुवै मिलेर केही गीत बनायौं ।’

एक दिन निर्देशक नवीन सुब्बा श्रवण र शान्तिरामकहाँ आएर भने, ‘धरानकी एक जना बहिनी हुनुहुन्छ पवित्रा सुब्बा । आवाज राम्रो छ । उहाँलाई एउटा गीत दिनुस् न ।’

‘मैले पवित्राको नाम त सुनेको थिइनँ । तैपनि ‘तिमी तारे भीर’ गीत उहाँलाई नै दिएँ । उहाँले आफ्नो एल्बम ‘शैली’मा गीतलाई समावेश गर्नुभयो’, श्रवण सुनाउँछन्, ‘त्यो समय आधुनिक गीतले बजार खाइरहेको थियो । एउटा गीतमा पाँच-दश वटा त माया, धोका र आँसु शब्द हुन्थे । अनि मैले चाहिँ फरक ढंगले कसरी लेख्ने त ? त्यसका लागि लहरा, तारेभीर प्रतीक प्रयोग गरेँ ।’

पवित्राबारे मुकारुङ थप्छन्, ‘उहाँको आवाज बडो मिस्ट्रिरियस रहेछ । उहाँको आवाज आध्यात्मिक महसुस गराउने आवाज हो । कता हो कता पुर्‍याउने आवाज हो उहाँको । उहाँले त्यो आवाजलाई निरन्तर रूपमा चाहिँ अगाडि बढाउनुभएन, तर उहाँको आवाज एकदमै जादुमयी आवाज हो ।’

स्टुडियोमा गीत सुनेपछि गीतकार र संगीतकार बोल्नै सक्नुभएन : पवित्रा सुब्बा

‘२०४६/४७ सालतिर म सोलो एल्बमको तयारीमा थिएँ । मलाई केही राम्रा गीतहरू चाहिएको थियो’, पवित्रा सुनाउँछिन्, ‘गीतकै खोजी गर्ने क्रममा निर्देशक नवीन सुब्बाले सुझाउनुभयो, ‘दुई जना युवा संगीतकार र गीतकार हुनुहुन्छ । उहाँहरूसँग एक पटक छलफल गर्नू ।’

त्यो समय श्रवण र शान्तिराम शहरमा संघर्षरत थिए भने पवित्राले फाट्टफुट्ट गीत गाइसकेकी थिइन् । नवीन सुब्बाको सुझावअनुसार पवित्राले श्रवण र शान्तिरामसँग चिनापर्ची गरिन् । भेटकै क्रममा शान्तिरामले नयाँ गीत सुनाए- ‘तिमी तारे भीर’ ।

पवित्रा भन्छिन्, ‘मलाई त गीत सुन्नासाथ यति साह्रो मनपर्‍यो कि यो गीत चाहिँ म नै गाउँछु भनेर उहाँहरूलाई भनेँ । पछि गीत रेकर्ड हुँदा थाहा भयो, मन परेको गीत गाउन त एकदमै सजिलो हुँदोरहेछ । मैले सहज तरिकाले गाएँ ।’

त्यसवेला कुपण्डोलमा सङ स्टुडियो थियो । त्यो समयकै राम्रोमध्ये एक स्टुडियो थियो । उनले त्यही गीत रेकर्ड गराइन् र गीतकार-संगीतकारलाई गीत सुन्न निम्ता दिइन् । दुवै आए, गीत सुने ।

साढे तीन दशकअघिको त्यो पल सम्झिन्छिन् पवित्रा- ‘उहाँहरू गीत सुनेपछि बोल्नै सक्नुभएन । तारिफ गर्न पनि सक्नुभएन । शान्तिरामजीले ‘एकदमै राम्रो छ’ भन्नुभाथ्यो । श्रवणजी त कम बोल्नुहुन्थ्यो, उहाँले टाउकोमात्रै हल्लाउनुभयो ।’

‘शैली’ एल्बममा समावेश यो गीतसँगै अर्को हिट गीत पनि छ पवित्राको, ‘प्रीतिको फूल’ । यी दुई गीतले नै पवित्रालाई त्यसवेला सेलिब्रेटी बनायो । यी दुई गीतले नै पवित्रालाई स्टेज चढायो । यी दुई गीतले नै पवित्रालाई हजारौं स्रोतामाझ पुर्‍यायो ।

अहिले पनि पवित्रा भन्छिन्, ‘मैले उति धेरै गीत गाइनँ । जति गाएँ, तीमध्ये यी दुई गीत मेरो सांगीतिक करियरकै विशेष गीत रह्यो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *