रुपन्देही । रुपन्देहीको रोहिणीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग संचालनमा आएको छ । भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड रुपैयाँको लगानीमा रोहिणी गाउँपालिका–४ कोटहवामा ’ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।
प्रतिदिन २ सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उक्त उद्योगले हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ ।
उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्ने र स्वदेशी प्राङ्गारिक मलको बजारिकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।
उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना संक्रमणका कारण आफ्नै बुबालाई गुमाउनुपरेको र श्रीमानसमेत संक्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्बराशक्ति जोगाउन प्राङ्गारिक मल उद्योग खोल्ने निर्णय लिएको स्मरण गरिन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्योगको उद्घाटन गर्दैै मानव स्वास्थ्य र माटोको उर्बराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए ।
उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवद्र्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ–नयाँ रोग देखिने, लुम्बिनी प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै उनले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणको रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने संकल्प गरिएको बताए ।

‘सरकारले नीति तथा कार्यक्रममै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको छ । त्यसका लागि स्वदेशी प्राङ्गारिक मल उद्योगसँग सहकार्य गर्छौं,’ उनले भने, ‘शुरुमा पहाडका ६ जिल्ला र क्रमशः तराईका ६ जिल्लालाई प्राङ्गारिक जिल्ला बनाउँदै सिङ्गो प्रदेशलाई अर्गानिक सर्टिफाइड बनाउँछौं ।’
मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्राङ्गारिक पालिकाका रूपमा घोषणा भइसकेको जानकारी दिए । उनले प्रदेशका हरेक पालिकामा प्राङ्गारिक मल प्रवद्र्धनका लागि कृषि ज्ञान केन्द्रलाई निर्देशन दिने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा पूर्वसांसद घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादवलगायतले नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले अब मलको अभाव झेल्नु नपर्ने बताए ।

Leave a Reply