महावाणिज्य दूत नियुक्त हरिप्रसाद ओडारी पुगे दुबई

दुबई । सयुक्त अरब एमिरेट्स (यूएई)को दुबईमा महावाणिज्य दूतावास स्थापनापछि सरकारले पहिलो महावाणिज्य दूत नियुक्त्त गरेको छ । लामो समयदेखि परराष्ट्र सेवामा कार्यरत सहसचिव हरिप्रसाद ओडारीलाई महावाणिज्य दूत नियुक्त गरिएको हो ।

परराष्ट्रतर्फ सहसचिवमा बढुवा भएका ओडारीलाई सरकारले महावाणिज्य दूत नियुक्त गरेको हो । त्यस्तै उपमहावाणिज्य दूतमा कृष्णप्रसाद चापागाईं यसअघि नै दुबई आइपुगेका छन् ।

महावाणिज्य दूत ओडारी आफ्नो जिम्मेवारी सम्हाल्न्न बिहीबार यूएई आइपुगेका छन् । उनलाई आबुधावीस्थित नेपाली दूतावासमा आयोजित गणतन्त्र दिवस मनाउने कार्यक्रममा स्वागतसमेत गरिएको छ ।

ओडारीलाई नेपाली समुदायको उपस्थितिमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री तथा दूतावासका अन्य कूटनीतिक अधिकारीले स्वागत गरे ।

यूएईमा रहेका नेपालीले विगत लामो समयदेखि यहाँ कन्सुलेट स्थापना गर्न माग गर्दै आएका थिए । सरकारले गएको असोज तेस्रो साता दुबईसहित अमेरिकाको टेक्सस र क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय राख्ने निर्णय गरेको थियो ।

दुबई भारतको दिल्लीपछि धेरै नेपालीको जनघनत्व भएको शहर हो । दुबईमा कन्सुलेट स्थापना गरेपछि आबुधावीभन्दा टाढा सारजाह, अजमान, उम्मलक्विन, रसअल खेमा, फुजेरालगायतका राज्यमा कार्यरत नेपालीलाई सहज हुने अपेक्षा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *